शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ग्राउन्ड जिरो : साढे चार महिनाअघि जनकपुर आइपुगेका रेल अझै त्रिपालभित्र

गुड्नुपर्ने रेललाई सशस्त्र प्रहरीको पहरा
शनिबार, १७ माघ २०७७, १३ : ५९
शनिबार, १७ माघ २०७७

जनकपुर । गत असोज २ गते जनकपुरमा नयाँ रेल आइपुगेको विषयले देशमा एकखालको चर्चा बटुल्यो । नेपाली मिडियामा रेलका तस्बिर छापिए, कयौं स्थानीयवासीले रेलका सामु सेल्फी लिए । साढे चार महिनाअघि जनकपुर हुँदै कुर्थासम्म पुगेको रेलको ‘ग्राउन्ड जिरो’ रिपोर्टका लागि रातोपाटीकर्मी सीमावर्ती क्षेत्र इनर्वासम्म पुग्दा ती दुवै रेललाई पहेँलो रङको त्रिपाल ओढाएर राखेको पाइयो । भारतको जयनगरबाट प्रदेश २ को अस्थायी राजधानी जनकपुर हुँदै कुर्थासम्म सञ्चालनका लागि ल्याइएका दुईवटा रेल साढे चार महिनादेखि त्रिपालभित्र सीमित भएका हुन् । ती रेलको घुम्टो कहिले खुल्ने हो र कहिलेदेखि नियमित सेवामा सञ्चालन हुने हो भन्नेबारे कसैले प्रस्ट जानकारी दिन सकेको छैन ।

बहुप्रतीक्षित रेल सञ्चालन सुरु गर्ने विभिन्न मिति अड्कलवाजी भइरहेको छ । तर रेल सञ्चालन हुनका लागि देखिनुपर्ने सकारात्मक संकेत अझै देखा परेको छैन ।

नेपाल–भारत सीमा क्षेत्र इनर्वास्थित रेल्वे स्टेशनमा दुईवटै रेललाई एकअर्कासँग जोडेर साढे चार महिनादेखि त्रिपालले छोपेर राखिएको छ– मानौं, ती रेल पुराना भएर थन्क्याएका हुन् । विल्कुलै नयाँ रेल भएकाले यतिबेला पूर्ण क्षमताका साथ सेवा दिनुपर्ने अवस्थामा पनि सरकारी लापरवाहीका कारण ती रेल थन्किएर बसेका हुन् ।

सो रेलको सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोलीले पहरा दिइरहे पनि ठाउँठाउँमा रेलको लिक कस्नका लागि प्रयोग भएको ‘नटबोल्ट’ समेत चोरी हुन थालेको छ ।

सुनसान रहेको रेल्वे स्टेशनमा सशस्त्र, भारतीय ठेकेदार पक्षका कर्मचारी र केही स्थानीयवासीको सामान्य चहलपहल देखिन्छ । नेपाल रेल्वे विभागले माघमा रेल चलाउने भन्दै आए पनि इनर्वामा खासै कुनै किसिमको तयारी वा सुरसार देखिँदैन । 

भारतबाट गत असोज २ गते नेपाल भित्र्याइएका ती रेललाई संघीय सरकारले जनकपुरसम्म ल्याएर प्रचारवाजी गराए पनि यो साढे चारमहिनाको अवधिमा ती रेल सञ्चालनका लागि पटक्कै पहल नगरेको स्थानीयवासीको गुनासो छ । 

लामो समय एकै स्थानमा यसरी रेल थन्क्याएर राख्दा मुसाले तार तथा सिट काट्ने जोखिम बढ्ने रेलको रेखदेखमा खटिएका भारतीय पक्षका कर्मचारीले बताए । ‘रेललाई त्रिपाल ओढाएर राखिएको छ,’ एक कर्मचारीले भने, ‘सधैँभरी त्रिपाल हटाउने र ओढाउने गर्न सम्भव छैन ।’

रेल राख्नका लागि इनर्वाको तुलनामा जनकपुर सुविधासम्पन्न र सुरक्षित स्थान भए पनि भारतले नेपाललाई हस्तान्तरण गरि नसकेका कारण भारतीय पक्षले ती रेललाई आफ्नै स्वामित्वमा राख्न सहज हुने स्थान सीमावर्ती क्षेत्र इनर्वामा लगेर थन्क्याएको हो ।

सो रेलको सुरक्षाका लागि इनर्वामा अस्थायी बेस क्याम्प खडा गरी सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ । त्यसका लागि ३० जना सशस्त्र प्रहरी तैनाथ छन् ।

सशस्त्र प्रहरी नायव निरीक्षक दिपेन्द्र खड्काले रेल सुरक्षासहित सीमा क्षेत्रको सुरक्षा दिनु पनि आफूहरुको जिम्मेवारी रहेको बताए । उनले सो क्षेत्रमा सीमा सुरक्षाका लागिसमेत निरन्तर खटिन स्थायी पोष्ट निर्माणको तयारी भइरहेको र त्यसका लागि जग्गासमेत खोजी भइरहेको बताए ।

सरकारी अधिकारीहरुले रेल यही माघ मसान्तभित्र सञ्चालनमा ल्याईछाड्ने दावी गरेका छन् । तर इनर्वामा त्यसको कुनै संकेत र प्रभाव देखिँदैन ।

भारतीय रेल विभागका ठेकेदार कर्मचारीहरुले दिनहुँजसो रेलको हेरचाह गरिरहेका हुन्छन् । ठेकेदार कम्पनीका कर्मचारी प्रणव कुमारका अनुसार रेल सञ्चालनपूर्व भारतले ती रेललाई नेपाल सरकारसमक्ष हस्तान्तरण गर्नुपर्ने हुन्छ । नेपाललाई रेल हस्तान्तरण नगरुन्जेलसम्म आफूहरुले रेखदेख गरिरहनुपर्ने उनको भनाइ छ ।

नेपाल सरकारले कहिले रेल सञ्चालन गर्छ भन्नेबारे आफूहरुलाई कुनैै जानकारी नभएको उनले बताए । उनले भने, ‘हामीले सुरुदेखि रेलको सम्पूर्ण जिम्मेवारी लिएर बसेका छौँ, नेपाल सरकारलाई भारत सरकारले रेल हस्तान्तरण गरेपछि हाम्रो दायित्व पूरा हुनेछ ।’

नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने जनकनन्दनी गाउँपालिका वडा नम्बर २ स्थित इनर्वाको चौरमा रहेको रेल्वे स्टेशनमा महिनौँदेखि पहेँलो त्रिपालले छोपेर राखिएको रेल हेर्न यदाकदा नेपाल रेल विभागका कर्मचारीहरु पुग्ने गरेको बताइन्छ । ‘नेपाल रेलवेका कर्मचारीहरु कहिलेकाहीँ आउनुहुन्छ, एकछिन बसेर फर्कनुहुन्छ,’ रेल नजिकै रहेका भारतीय ठेकेदारका एक कर्मचारीले भने ।

यसअघि नेपाल रेलवे कम्पनीले माघ मसान्तसम्ममा रेल सेवा सञ्चालनमा ल्याउने जनाएको थियो । तर लामो समय बितिसक्दा समेत न त कर्मचारी भर्ना गरिएको छ, न नियमावली नै ल्याउन सकेको छ ।

रेल चलाउनका लागि पूर्वाधार, ट्रेन सेट, कर्मचारी, स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युर र कानुन समेतको आवश्यक हुने जानकारहरु बताउँछन् । तर रेल र स्टेशनबाहेक केही नभएकाले रेल सञ्चालनमा समस्या भएको हो ।

भारतको सहयोगमा जयनगर–जनकपुर–कुर्था (करिब ३५ किमी) रेलमार्गको पूर्वाधार तयार छ । ब्रोडगेज रेल्वे ट्रयाक गत वर्ष नै तयार पारेर विभिन्न पटक परीक्षणको कामसमेत भइसकेको छ । गत साउन महिनामा आएको बाढीले क्षति पुगेका केही स्थानमा समेत मर्मतसम्भारको काम सम्पन्न भइसकेको छ ।

नेपालले जनकपुर–जयनगरका लागि दुई रेल सेट सहित खरिद गर्न भारतको कोंकर्ण रेल्वे कर्पोरेसनलाई करिब १ अर्ब रूपैयाँ खर्चेको छ । नेपालको माग अनुसार कर्पोरेसनले करिब १० महिना पहिले नै रेल सेट तयार पारिदिएको हो । 

इनर्वामा थन्क्याइएका दुवै रेल बुझ्नका लागि भारतीय पक्षले निरन्तर दबाब दिँदै आए पनि आवश्यक तयारीको अभावमा नेपालले ती रेल बुझ्न ढिलाइ गर्दै आएको स्रोत बताउँछ ।
टिकट, जनशक्ति व्यवस्थापन, समय तालिका आदिका लागि रेल चलाउन चाहिने स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युर पनि नेपालको अनुरोधमा भारतीय रेल्वेले तयार पारिदिएको भारतीय पक्षका एक कर्मचारीले जानकारी दिए ।

सुरुमा अस्थायी नियुक्ति गरी कर्मचारी व्यवस्था गरेर रेल चलाउने कम्पनीको योजना थियो । सोही अनुसार नेपाल रेल्वे विभागले आफु अनुकुल विज्ञापनसमेत निकालेको थियो । 

विज्ञापनअनुसार करिब ३५ हजारले आवेदन दिएका थिए तर, सरकारी कम्पनीमा अस्थायी नियुक्तिबाट भर्ना गर्दा पछि व्यवस्थापनमा समस्या उत्पन्न हुने भएपछि सो भर्ना प्रक्रिया नै अन्योलमा परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप