शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजनीतिक सङ्कट समाधानमा काँग्रेसको भूमिका

सोमबार, २६ माघ २०७७, १४ : २७
सोमबार, २६ माघ २०७७

अहिले देश नेकपाको आपसी द्वन्द्व र सत्ता स्वार्थका कारण गम्भीर राजनीतिक र संवैधानिक सङ्कटमा फसेको छ । लामो द्वन्द्व र राजनीतिक अस्थिरतापछि ऐतिहासिक संविधान सभाको निर्वाचन भएको थियो । पहिलो संविधान सभा विघटन भएपछि दोस्रो संविधान सभाले यो संविधान भोषणा गरेको थियो । त्यसको नेतृत्व नेपाली काँग्रेसले गरेको थियो । यो संविधानलाई  कार्यान्वयन गर्दै नेपाली काँग्रेसकै नेतृत्वले तीनै तहको निर्वाचन पनि सम्पन्न गरेको थियो । त्यसपछि नेपाल कम्युनिस्ट पार्टीलाई सहजै सरकार हस्तान्तरण गर्ने काम नेपाली काँग्रेसले गरेको थियो ।

चुनाव सम्पन्न भएपछि नेपालमा शान्ति, राजनीतिक  स्थिरता र आर्थिक समृद्धि हुनेमा नेपाली जनता आशावादी थिए । तर नेकपा सरकारको रबैया र कार्यशैली कुशासन, भ्रष्टाचारलाई बढावा दिने ढङ्गले अगाडि बढ्यो । 
सरकार नै अर्बांैको भ्रष्टाचार काण्डमा मुछिएको छ । निर्मला पन्तको बलात्कार र हत्याका अपराधी आजसम्म पत्ता लगाउन सकेन । केही दिन अगाडि बैतडीमा एक बालिकाको बलात्कारपछि पासबिक हत्या भएको छ । तर सरकार मुक दर्शक भएर बसेको छ । 

यी यावत् घटनाका बाबजुद नेकपा सरकारले अहिले मुलुकलाई गम्भीर राजनीतिक दुर्घटनाको डिलमा पु-याएको छ । 

पुस ५ गतेको घटनापछि मुलुक एउटा ठूलो सङ्कटमा फसेको छ । प्रधानमन्त्रीको अधिनायकवादी शैली र कसैको चाहनाले मुलुक ‘नियन्त्रित राजनीतिक  अस्थिरता’ भन्दा बाहिर जाने खतराको सँघारमा पुगेको छ । यसका लागि सिङ्गो नेपाल कम्युनिस्ट पार्टी जिम्मेवार छ । जो आज एउटा समूह बालुवाटारबाट र अर्को समूह खुमलटारबाट मुलुक र जनतालाई तर्साउने र धम्क्याउने काम गरिरहेका छन् । यो कार्य नेपाल र नेपाली जनताको लागि ठूलो दुर्भाग्यको कुरा हो । विभाजनको प्रक्रियामा पुगेको नेकपा कानुनी र औपचारिक रूपमा निर्वाचन आयोगबाट विभाजन भइसकेको छैन । प्रतिनिधि सभा पुनस्र्थापना भयो भने नेकपा विभाजन नहुन पनि सक्छ । 

आज प्रतिनिधि सभा पुनस्र्थापना हुने कि नहुने ? मध्यावधि निर्वाचन हुने कि नहुने ? मुलुक कुन राजनीतिक दुर्घटना पर्ने हो ? भन्ने अन्योल छ । मुलुकलाई अस्थिरतातर्फ लैजाने काम नेकपा सरकारका प्रधानमन्त्री केपी ओलीले गरिरहेका छन् । हिजो नेकपालाई मत दिने मतदाता अहिले निरास र अन्योलमा परेका छन् । जनतालाई अपमान गर्ने र धोका दिने काम नेकपा सरकारबाट हुन गयो । 

यी परिस्थितिको गम्भीर अध्यन र विश्लेषण गर्दै नेपाली काँग्रेस संविधान र परिवर्तन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संवर्धन गर्न विगत दुई महिनादेखि प्रतिनिधि सभा विघटनविरुद्ध देशव्यापी आन्दोलनमा उत्रिएको छ । अदालतको निर्णयको सम्मान गर्दै नेपाली काँग्रेस आफ्नो भावी नीति तथा कार्यक्रम संवैधानिक र लोकतान्त्रिक विधिमा विश्वास गर्दै अगाडि बढाउने छ । नेपाल कम्युनिस्ट पार्टीका दुवै समूह मुलुक र जनताका लागि दुर्भाग्यपूर्ण हुन पुगेका छन् । जस्तै कठिन परिस्थितिमा पनि देशलाई राजनीतिक  स्थिरता, दिगो शान्ति र समृद्धिको बाटोमा नेपाली काँग्रेसले अगाडि बढाउने सम्पूर्ण प्रयास गर्नुपर्ने देखिन्छ ।

पुस १३ गतेदेखि फागुन ३ गतेसम्म पार्टीका विभिन्न तहमा विरोधका कार्यक्रमलाई निरन्तर आन्दोलनको रूपमा अगाडि बढाइरहेको नेपाली काँग्रेसले संविधान र लोकतन्त्र बचाउनका लागि अब सशक्त र प्रभावकारी निर्णय र रणनीति अवलम्बन गर्नु जरुरी देखिन्छ ।

कम्युनिस्टहरुबाट संविधान र लोकतन्त्रको रक्षा नहुने कुरा स्पष्ट भएको नेकपाको वर्तमान सरकारले आफै पुष्टि गरिसकेको छ । यो सरकारले नेपालको अन्तर्राष्ट्रिय छवि र विश्वासनीयतालाई समेत गुमाउँदै छ । 
प्रतिनिधि सभा पुनस्र्थापना भए पनि, मध्यावधि निर्वाचन भए पनि वा दुवै नभएर नेपाल वैशाखपछि संवैधानिक र राजनीतिक सङ्कटको भुमरीमा पर्न सक्ने खतरालाई टार्न र सामना गर्न नेपाली काँग्रेस ले पार्टी संगठन लाई सैद्धान्तिक र साङ्गठनिक रूपमा सशक्त बनाउनुपर्दछ । 

आज सिंहदरबारमा नेकपा ओली, सडकमा नेकपा प्रचण्ड –माधव र जङ्गलमा नेकपा विप्लवसमेत सिङ्गो नेपाल कम्युनिस्ट पार्टीको  कब्जामा छ । यो अवस्थामा नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र बचाउन नेपाल र नेपाली जनताले ठूलै मूल्य चुकाउनुपर्ने हुन सक्छ ।

सर्वोच्च अदालतले निर्वाचन सदर गर्ने निर्णय ग¥यो र वैशाख २७ गतेसम्ममा निर्वाचन हुन सकेन भने देश राजनीतिक सङ्कटमा जाने छ । विघटन भएको छ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार पुस ५ गतेको ६ महिना असार ४ गते पुग्नेछ ।

असार ४ गतेसम्म पनि निर्वाचन भएन भने देश संवैधानिक सङ्कटमा जानेछ । यसरी प्रतिनिधि सभा पुनस्र्थापना पनि भएन र निर्वाचन पनि भएन भने नेपाल असार ५ गतेबाट संवैधानिक र राजनीतिक सङ्कटमा पर्ने छ । त्यसपछिका दिनहरु हामीले सोचेका र कल्पना गरेका भन्दा धेरै फरक हुन सक्छन् । यसर्थ पनि नेपाल कम्युनिस्टहरुको  कब्जामा धेरै दिन रहने छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पनि धेरै दिन कायम रहन सक्दैन । 

मुलुककै जिम्मेवार, विश्वासिलो र सबैखाले आन्दोलन र परिवर्तनको नेतृत्व गरेको लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको काँधमा यतिबेला ठूलो जिम्मेवारी आएको छ । सबैखाले प्रतिगमन र अधिनायकवादलाई समाप्त पार्दै आएको नेपाली काँग्रेसले फेरि एकपटक साहसिक र दूरगामी निर्णय लिनुपर्ने हुनसक्छ । त्यसका लागि नेपाली काँग्रेसका हामी सबै नेता कार्यकर्ता तयारी अवस्थामा रहनुपर्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण गिरी
किरण गिरी

लेखक नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन् ।

लेखकबाट थप