ad
केन्द्रीय संस्करण
निठल्ला चिन्तन

गङ्गाको सहायक नदीमा आएको जल प्रलय

person explore access_timeमाघ २७, २०७७ chat_bubble_outline0

 

 

सूर्य, वृहस्पति, शुक्र, शनि र प्लुटो ज्योतिष शास्त्र वर्णित ५ ग्रह मकर राशिमा थिए । बिहीबार ४ फेब्रुअरीका दिन बुध ग्रहले पनि यसै राशिमा प्रवेश गरेर एकै राशिमा ग्रह सङ्ख्या ६ हुन पुग्यो । ज्योतिषशास्त्रले ५ भन्दा बढी ग्रह एउटै राशिमा आउने घटनालाई विनाशकारी रूपमा चित्रित गर्छ ।

अझ आउने ९ फेब्रुअरी मङ्गलबारका दिन चन्द्रमा पनि यसै राशिमा प्रवेश गर्न गइरहेको छ । नौ ग्रहमध्ये सातवटा ग्रह एउटै राशिमा लामो अन्तराल पछि आउन गइरहेका छन् । ज्योतिषले यसलाई अति नराम्रो प्रभाव पार्ने घटनाका रूपमा लिइरहेको छ ।

चन्द्रमा मकर राशिमा आई नपुग्दै (२ दिन पहिला नै) फेब्रुअरी ७ आइतबारका दिन भारतको उत्तराखण्ड राज्यमा प्रकृतिको ताण्डव घटित भएको छ । गङ्गा नदीको सहायक नदीमा भीषण जल प्रकोप भएको छ ।

वास्तवमा गङ्गा नदी कैयौँ नदीको सामूहिक समागमले अस्तित्वमा आउँछ । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा पर्ने गौमुख ग्लेसियरबाट उत्पत्ति हुने नदी भागीरथी हुन् । भागीरथीले गङ्गा हुनलाई धेरै लामो यात्रा एवं तप गर्नुपर्छ । हिमालबाट पहाड हुँदै झण्डै ३०० किमिको लामो यात्रापछि देवप्रयागमा अलकनन्दा नदीसँग मिसिएपछि भागीरथी र अलकनन्दा दुवैको स्वररुप विलीन भई गङ्गाको प्राकट्य हुन्छ।

अलकनन्दाको पनि लामो यात्रापथ छ । हिन्दुहरुको पवित्र धार्मिक स्थल बद्रीनाथभन्दा माथिको सतोपन्थ ग्लेसियरबाट उत्पत्ति भएर भगवान् नारायणको बद्रिकास्वरूपलाई नमन गर्दै अलकनन्दा यात्रापथमा अघि बढछिन् । हिन्दूहरुले बद्रीनाथ पुगी गर्ने श्राद्ध तर्पणादिको कार्य अलकनन्दाकै पावन किनार र पावन जलमा गरिन्छ ।

भगवान् बद्रीनाथको चरण पखाली अलकनन्दा २५-३० किमिको यात्रा उपरान्त विष्णुप्रयागमा आई धौली गङ्गासँग समाहित हुन्छिन् । धौली गङ्गाले आफ्नो स्वरूप विसर्जित गरी अलकनन्दामा समाहित भई यात्रापथमा अगाडि बढ्ने काम हुन्छ । नन्दप्रयागमा आएर नन्दाकिनी नदलाई आफूमा समाहित गरी अघि बढछिन् अलकन्दा । यसपछि कर्णप्रयागमा पिण्डारी ग्लेसियरबाट आएको पिण्डर नदी अलकनन्दामा समाहित हुन्छ । अन्य नदीलाई आफूमा समाहित गर्ने क्रममा अलकनन्दा रुद्रप्रयागमा आएर केदारनाथबाट आएको मन्दाकिनीलाई आफूमा लीन गरी अन्ततः आफै विलीन हुन देवप्रयाग आइपुग्छिन् । देवप्रयागमा नै गौमुखबाट आएको भागीरथी र अलकनन्दाको सङ्गम हुन्छ र यस सङ्गमबाटै गङ्गाको उत्पत्ति भई गङ्गा ऋषिकेश- हरिद्वार- प्रयागराज- काशी- पटना हुँदै पश्चिम बङ्गालमा प्रवेश गरी सागरमा लीन हुन पुग्छिन् ।
अहिले भएको जल ताण्डव गङ्गाको सहायक नदी धौली गङ्गामा भएको हो । धौली गङ्गासँग मेरो पहिलो परिचय सन् २००४ को जुलाई महिनामा भएको थियो ।

२००४ मा बद्रीनाथबाट फर्किने क्रममा साथी गजानन गिरीले एक रात जोशीमठमा बिताउने प्रस्ताव गरे । उनको यस प्रस्तावबारे मलाई भोलिपल्ट मात्रै थाहा भयो । उनी हिमाली गाँजाको खोजीमा उत्तराखण्डको प्रसिद्ध गाँजा तीर्थ मलारी गाउँ जाने योजनामा रहेछन् । उनले भोलिपल्ट जाऊँ अहिलेका बद्रीनाथको दर्शन त गरियो, भविष्यका बद्रीनाथको पनि दर्शन गर्नुपर्छ भने । यस क्रममा हाम्रो नयाँ वासस्थल बन्यो तपोवन, जुन धौली गङ्गाकै किनारमा अवस्थित थियो । यहाँ तातो पानीको कुण्ड पनि थियो र खाने बस्ने नि:शुल्क सुविधा पनि । जोगीलाई यति भए अरू के चाहियो ? तातो पानीको कुण्ड छेउमा रहेका जोगीको पाहुना बनी हामीले ७-८ दिनको धूममय प्रवास सानन्दका साथ बितायौँ ।
हिजो ७ फेब्रुअरीका दिन धौली गङ्गामा एउटा ग्लेसियर नुहेर खस्नाले भएको दुर्घटनाले कता कता नरमाइलो लागिरहेको छ ।

तपोवनमा रहेको हाइड्रोपावर प्रोजेक्टमा जनधनको ठूलो क्षति भएको छ । त्यस भेगमा थुप्रै नेपाली पनि कामको खोजीमा पुगेका हुन्छन् ।

मेरो २००३ देखि २०१५ सम्मको अधिकांश घुम्मकडी जीवनको केन्द्रस्थल उत्तराखण्ड नै रह्यो । यो राज्य र यहाँका बासिन्दा गरिब भए पनि हिन्दू धर्म र धर्मका मजस्ता आवारागणलाई जीवनभरि पाल्छ यस राज्य र यहाँको धर्म प्रेमी समुदायले । मैले पनि यहाँका हजार जनाको नुन खाएको छु । हरिद्वारदेखि गङ्गोत्रीसम्म र हरिद्वारबाट बद्रीनाथसम्मको मार्गमा बीसौँ पटक निर्वाध यात्रा गरेको छु । कुमायुँ र गढवाल दुई भागमा विभाजित यस राज्यका दुवै भेगमा अवस्थित सयौँ स्थानमा, झण्डै प्रत्येक ठूला राजमार्गमा पुगेको छु ।

२००७ ताका पुणे बसाइका क्रममा गर्मी खप्न नसकेर भागी बद्रीनाथ आइपुगेको हिजोको घटनाझैँ लाग्छ । पुणेको ४५ डिग्रीबाट सोझै शून्यदेखि ५-७ डिग्रीमा । मन रहेसम्म पीडाको अन्त्य कहाँ ? स्वामी प्रकाश र सन्यासी राम गिरीले जति सुविधा उपलब्ध गराए पनि जाडोले जिउ काम्न छाडेन । कस्तो विचित्र समस्या, तराईमा गर्मी खप्न नसक्ने, हिमालको चिसोले हाडसम्मै कमाउने । ७ दिनमै बद्रीनाथबाट भागेर म र स्वामी अवधेशानन्द (अहिलेका मित्र प्रेमजित सिरोही) जोशीमठको अग्लो डाँडा औलीको सिरानमा अवस्थित बडगाउँ भन्ने स्थानमा आइपुग्यौँ । यहाँ रहेको स्वामी गणेश भारतीको आश्रम बन्यो हाम्रो ऐसगाह । हामी बसेको बडगाउँबाट १०-१२ किमि पर रहेको तपोवनमै ७ फेब्रुअरीमा प्रकृतिको ताण्डव घटित भएको हो ।

indianexpress

उत्तराखण्डको तिब्बती सीमाना 'नीति पास' को ५५०० मिटर अग्लो स्थानबाट उत्पत्ति भई बग्ने धौली गङ्गाको यात्रा पथ धेरै लामो छैन । झण्डै सय किमिपछि विष्णुप्रयागमा बद्रीनाथबाट आएको अलकनन्दामा समाहित भएपछि धौली गङ्गाको अस्तित्व विलीन हुन्छ ।

एउटा ग्लेसियर खण्डित भएर धौली गङ्गामा विगलित हुन आएकाले उत्तराखण्डको यस भेगमा यो आपत् आइलागेको हो । तपोवनमा रहेका एकजना फेसबुक मित्रले गरेको 'फेसबुक लाइभ'मा प्रकृतिको यो ताण्डव दृश्यावली हेर्दा सोच्न बाध्य भए, के मानवीय चेष्टाले प्रकृतिलाई किंचित पनि नियन्त्रित गर्न सकिन्छ ?

घटना तपोवनभन्दा ५-७-९ किमि माथि धौली गङ्गामा घटित भएको हो । तर यसको सबैभन्दा बढी प्रभाव तपोवनस्थित हाइड्रोपावर प्रोजेक्टमा परेको हो । कारण तपोवनभन्दा माथि नदी किनारमा बसोवास एवं कङ्क्रिटका संरचना छैनन् । यो जल प्रपात हाइड्रोपावरलाई धराशायी पार्दै अघि बढ्यो । उत्तराखण्ड सरकारले जलप्रपात बढ्ने मार्गमा रहेका ड्याम खाली गरेर क्षति नियन्त्रण गर्ने दिशामा द्रूत गतिले काम गरेको समाचार हिजो नै आएको थियो । धौली गङ्गामै तपोवनका अतिरिक्त अन्य दुई हाइड्रोपावर प्रोजेक्ट छन्, त्यसपछि अलकनन्दाका छातीमा पनि अनेको यस्ता प्रोजेक्ट सञ्चालित छन् । अघि बढेको जल प्रपातले नदी किनारमा अवस्थित यस्ता संरचनामा क्षति पुर्‍याउने अनुमान गर्न सकिन्छ । यस क्षेत्रसँग आफ्नो परिचयका आधारमा म भन्न सक्छु, ऋषिकेशसम्म आइपुग्दा जलप्रपातको तीव्रता एवं असर ९० प्रतिशत कम भइसकेको हुन्छ । श्रीनगर (उत्तराखण्डको श्रीनगर) को ड्यामले नै प्रकृतिको यस ताण्डवलाई धेरै हदसम्म नियन्त्रित गर्छ । र, टिहरी ड्यामबाट देवप्रयागमा आउने भागीरथीको प्रवाहलाई कम गरी अलकनन्दामा ग्लेसियर फुटेर आएको बाढीलाई नियन्त्रणमा ल्याउन सकिन्छ।

ग्लेसियर फुट्नुका अनेको कारण हुन सक्छन्, कतिपय प्राकृतिक र कति मामलामा मानवीय पनि ।

सामान्यतया ग्लेसियरको निर्माण वर्षौंसम्म कुनै एक स्थानमा जम्मा भएको हिउँका कारण हुन्छ । ग्लेसियर २ प्रकारका हुन्छन् 'अल्पाइन ग्लेसियर' र 'आइस सिल्ड्स ग्लेसियर' । पहाड र हिमालयमा हुने ग्लेसियर अल्पाइन वर्गमा आउँछन । पहाडी ग्लेसियर टुट्नुका अनेक कारण हुन्छन् । जस्तो कि पृथ्वीको तापमानमा वृद्धि अथवा गुरुत्वाकर्षण अथवा ग्लेसियर किनारमा बढेको 'सरफेस टेन्सन' पनि ग्लेसियर टुट्ने कारण बन्न सक्छ । ग्लेसियरबाट हिउँका विशाल टुक्रा टुटेर बेग्लै भई उछिट्टिनुलाई 'काल्विङ' भनिन्छ ।

 यसरी टुक्रेर अघि बढेको हिमखण्डले मार्गमा आउने नदीको जलस्तर अति तीव्र गतिले बढाइदिई नदी किनारमा पर्ने स्थानमा भीषण प्रलय ल्याउँछ । हुन त विश्वका अधिकांश नदीको उद्गमस्थल ग्लेसियर नै रहेका छन् । माथिबाट हेर्दा ग्लेसियर जमेको हिउँको थुप्रो देखिए पनि भित्रभित्र यसबाट पानीमा परिणत भई नदी बनी बग्छ । झण्डै ४० किमि लामो गौमुख ग्लेसियरको ७-८ किमि परिभ्रमण गर्दा मैले पानीका यस्ता च्यानल नजर गरेको थिए । इन्साइक्‍लोपिडिया ब्रिटानिकाका अनुसार ग्लेसियरको भित्री भागमा रहेका यस्ता थुप्रै पानीका च्यानलमा ठाउँठाउँमा ड्रेनेज ब्लाक भइदिन्छ । यसले गर्दा त्यस ठाउँमा रहेको हिउँ पग्लिने अनुपातमा वृद्धि हुन्छ । पानीले हिउँ पग्लिँदै रिक्त स्थान निर्मित हुँदै जान्छ । र, यसै प्रक्रियाले विस्तारै भित्री रूपमा रिक्त स्थान बढ्दै जाँदा 'सरफेस टेन्सन'मा वृद्धि भई हिमखण्ड टुक्रिने परिस्थिति बन्न पुग्छ । यसलाई 'आउटबर्स्ट फ्लड' पनि भनिन्छ । यो पृथ्वीको प्राकृतिक चक्र नै हो ।

तर मन हो कहाँ मान्छ ? सम्झना आउँछ कृष्ण जीवनको एउटा प्रसङ्ग । कृष्ण वृन्दावन छाडी संसार डुलेँ तर फर्की वृन्दावन गएनन् । उनका बालसखा गोपिनीले सधैँ प्रेमवश उनको प्रतीक्षा गरिरहे । उनीहरु कृष्णकै प्रतीक्षामा जीवन उत्सर्ग गर्न कटिबद्ध भएको थाहा पाएर कृष्णले आफ्ना परम मित्र एवं परमज्ञानी उद्धवजीलाई आफ्नो दूत बनाई वृन्दावन पठाए । उद्धवले गोपी गोपिनीहरुलाई वैराग्य- वेदान्त र प्रभुशरण र भक्तिको मार्ग अवलम्बन गर्ने परामर्श दिँदा गोपिनी भन्छन्- 'उधौ मन न भए दस बीस, एक थियो सो गयो श्याम संग को अराधे ईश' । भक्तिकालका काव्य शिरोमणि सूरदासले गोपीका माध्यमबाट यी पङ्क्तिमा प्रेम, समर्पण र भक्तिभावको जुन गरिमा /महिमा स्थापित गरे त्यसका सामु सबै योग, ध्यान, जप, तप, यज्ञ, नियम, अराधन, ज्ञान फिक्का सावित हुन्छन् । परम ज्ञानी उद्धवजी निरुत्तर भई वृन्दावनबाट फर्किए ।

मन त एउटै हुन्छ । यसका प्रक्षेपण अनेको भए पनि सबै धीरजनलाई विदित छ एक समयमा मनले दुई गति गर्न सक्दैन । प्रक्षेपण समयान्तरालमा त्रिगुणमयी मायाका कारण हुन्छ । निठल्ला चिन्तनको यस निठल्ला प्रवर्तकसँग पनि मन त एउटै छ । जति ज्ञान भए पनि, जति विज्ञान पढे पनि, प्रकृति सञ्चालनका जतिसुकै 'म्याट्रिक्स' सँग सामीप्यता राखे पनि, जीवन -मृत्युलाई ज्ञानका दृष्टिकोणले एक समान बुझे पनि यो निठल्ला पनि आपतले, प्राकृतिक विपतले, विनाशले, पार्थिव अवसानले विचलित हुन्छ, सन्तापित हुन्छ, मर्माहित हुन्छ । संवेदनाले भरीपूर्ण हुन्छ । उत्तराखण्डको यस प्राकृतिक विपदमा परी प्राण गुमाउनेहरुप्रति हार्दिक संवेदना ।

Title Photo: zeenews

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.