शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घोषणापत्र जारी गर्दै बृहत नागरिक आन्दोलनले भन्यो- ‘नेपाली सेना टुँडिखेल छोड’

शुक्रबार, ०७ फागुन २०७७, १९ : १०
शुक्रबार, ०७ फागुन २०७७

काठमाडौं । बृहत नागरिक आन्दोलनले शुक्रबार काठमाडौंमा टुँडिखेल मार्च पास गर्दै घोषणापत्र जारी गरेको छ । प्रधानमन्त्री केपी शर्माओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सो प्रकरणविरुद्ध संघर्षका कार्यक्रम गर्दै आएको नागरिक आन्दोलनले जनताका अधिकार रक्षाबाटै लोकतन्त्र सुरक्षित रहने अवधारणा सहितको घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा आदिवासी, जनजाती, महिला, दलित, उत्पीडित समूहको अधिकार स्थापनाबाटै लोकतन्त्र बलियो बन्ने उल्लेख गरिएको छ । 

नागरिक आन्दोलनका तर्फबाट जेवी विश्वकर्माले बाचन गरेर सुनाएको नागरिक आन्दोलनको घोषणापत्रमा संघीय गणतन्त्रको पहिलो निर्वाचनबाट उदाएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हावी भएको र ओली नेतृत्वको सरकारले जनताको मौलिक हकमा, संघीयताको आधारभूत सिद्धान्तमा, समानुपातिक समावेशीको अभ्यासमा, धार्मिक अधिकारको मर्ममा, राज्य संयन्त्रका अवयवहरुमा, संवैधानिक निकायहरुमा, सर्वसाधारणको स्वास्थ्य र शिक्षामा, किसान र श्रमिकका जीविकोपार्जनमा,हुँदाहुँदै जनताको ठूलो बलिदानी, संघर्ष र आन्दोलनहरुबाट प्राप्त व्यवस्थामा नै सर्वसत्तावादी प्रहार गरेको उल्लेख छ । 

जसका कारण मुलुकलाई अन्यौल, मुठभेडतर्फ धकेलेको र नेपाली समाज र राज्यलाई लोकतान्त्रिक बनाउने तथा सामाजिक न्याय स्थापित गर्ने संघर्षमा नागरिक आन्दोलनलाई बृहत्, सशक्त र सफल बनाउन सम्पूर्ण नागरिकहरुले हातेमालो गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिइएको छ । 

घोषणापत्रमा शासकीय पद्दतिमा आमूल परिवर्तन भएपनि संघीयताले आदिवासी–जनजाति आन्दोलन मधेसी, मुस्लिम र थारुका संघर्षलाई कर्णालीसहित भौगोलिक असमानतालाई अपेक्षाकृत सम्बोधन नगरेको उल्लेख छ । संघीयताका नाममा हावी भएको एकात्मक चिन्तन र केन्द्रीकृत शासकीय सोचलाई चिर्न सँगै लडाई लड्न घोषणापत्रमा भनिएको छ । 

नागरिक आन्दोलनको विज्ञप्तिमा भनिएको छ–‘कोरोना विश्वव्याधीको विषम परिस्थितिमा समेत जनताका आधारभूत सरोकारबाट राजनीतिक क्रियाकलापहरु विमुख रहे । दलहरु आन्तरिक कलह र शक्ति मोहमा फसे । संसदीय व्यवस्था, संवैधानिक अभ्यास र लोकतान्त्रिक मूल्य मान्यता संकटमा पारिए । यस्तो गतिरोधले नागरिक स्वतन्त्रता र सामाजिक न्यायको विपक्षमा निरंकुशतालाई बलियो बनाउने पक्का छ ।

त्यसैले आजको संकटग्रस्त राजनीतिलाई अग्रगामी दिशा दिने ऐतिहासिक कार्यभार अहिले नागरिकहरुको काँधमा आएको छ । यो कार्यभार पूरा गर्न आम जनताले समग्र राजनीतिक प्रक्रियामा नागरिक स्वामित्व स्थापित गर्नु अनिवार्य छ । नेपाली समाज र राज्यलाई लोकतान्त्रिक बनाउने तथा सामाजिक न्याय स्थापित गर्ने संघर्षमा नागरिक आन्दोलनलाई बृहत्, सशक्त र सफल बनाउन सम्पूर्ण नागरिकहरुले हातेमालो गरौँ ।’

नेपाली सेनालाई टुँडिखेलबाट हटाउन माग

शुक्रबार दिउँसो काठमाडौंको टुँडिखेल छेउ सैनिक अस्पतालको ठीक अगाडिको डबलीमा भएको बृहत नागरिक आन्दोलनको कार्यक्रममा सहभागी प्रतिनिधिहरुले टुँडिखेलबाट नेपाली सेनालाई हटाउन माग गरेका छन् । टुँडिखेल नागरिकको भएकोले त्यसलाई बगैँचाको रुपमा विकास गराउनुपर्ने उनीहरुको माग थियो । 

कार्यक्रमको प्रमुख वक्ता रहेका पत्रकार नारायण वाग्लेले लिच्छिवीकालमा टुँडिखेल क्षेत्रदेखिको ठूलो भागमा उखु खेती हुने गरेको बताउँदै सेनाले कब्जा गरेको टुँडिखेल खुला गराउन माग गरे । उनले माइतीघरदेखि लैनचौरसम्मको विशाल उखुचौर, नागरिकको सम्पत्ति कब्जा गरेर शासकले नारायणहिटी, बागदरबार, लाललदरबार, सेतो दरबारका साथै छाउनीमा रहेको सेनाको मुख्यालय समेत टुँडिखेलमा सारिएको बताए ।

 उपत्यका बाहिरबाट आएका यात्रु बस्ने चौतारो मासेर त्यसलाई रत्नपार्क बनाएर त्यहाँ जान पनि पैसा तिर्नुपर्ने बनाइएको, पञ्चायतकालमा सेनाले टुँडिखेल कब्जा गरेपछि लिच्छिवीकालदेखी फागुको चीर टुँडिखेलमा सेलाउने परम्परा हटेको, विकासको नाममा ढुङ्गेधारा मासिएको, सडक बिस्तारका नाममा प्राचीन सम्पदा मास्ने काम भएको उल्लेख गरे । उनले भने– ‘म आज हाम्रा शासकहरुलाई सोध्न चाहन्छु, तिमीले भट्टयाउने गरेको विकास के हो ? दुई हजार वर्ष लगाएर समुदायले बनाएको यो नेपाल मण्डल आज के भयो ? पानी सञ्चय र प्रशोधन गर्ने त्यो विशाल उखुबारी र नर्कटघारीलाई कबाज मैदान बनाएपछि काठमाडौं काकाकुल बनेको थाहा छ कि छैन ?’

उनले काठमाडौं आफै समृद्ध थियो भन्दै राज्यले भन्ने गरेको समृद्धिको नारा षडयन्त्र हो कि हैन भन्दै प्रश्न गरे ।  कार्यक्रमका अर्का वक्ता खगेन्द्र संग्रौलाले टुँडिखेलबाट नेपाली सेना हटाउन आग्रह गरे । उनले कुनै पनि देशको सभ्य शहरमा व्यवस्थित बँगैचा, पुस्तकालय हुने बताउँदै बाक्लो बस्ती र शहरमा सेनाको मुख्यालय नहुने बताए । त्यसैले टुँडिखेलबाट सेना हटाउनुपर्ने उनको भनाई थियो । नेपालको सेना राजाले पालित पोषित रुपमा हुर्केको नोकरको रुपमा रहेको टिप्पणी गर्दै उनले सेना बस्तीभन्दा टाढा बस्नुपर्ने उल्लेख गरे । 

शासकहरुले डराएर सेनालाई शहरको मुख्य भागमा राखेको बताउँदै टुँडिखेलमा कुकुरले पनि प्रवेश पाउने तर जनताले नपाउने गरेको बताए । संग्रौलाले टँुडिखेल नागरिकको भएको उल्लेख गर्दै त्यसलाई पार्क बनाउनुपर्ने र त्यसका लागि जनताले एकदिन ढोका फोडेर प्रवेश गर्ने दावी गरे । 

नागरिक आन्दोलनमा खोकनामा विकासका नाममा साँस्कृृतिक सम्पदा मास्ने काम भएको, चितवनमा सेनाले गरिब चेपाङ समुदायमाथि अन्याय गरेको बताइएको थियो । कार्यक्रममा महिला, आदिवासी जनजाती, मधेसीको अधिकारका बारेमा विचार तथा कविताहरु प्रस्तुत गरेका थिए । बृहत नागरिक आन्दोलनलाई ध्यानमा राखेर रत्नपार्क टँुडिखेल आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप