शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘युवतीहरु फिल्म खेल्न पाइन्छ भनेर हुरुक्कै हुन्थे’

शनिबार, ०८ फागुन २०७७, ११ : १२
शनिबार, ०८ फागुन २०७७

मदन घिमिरे नेपाली फिल्म क्षेत्रका सफल निर्देशक हुन् । फिल्म निर्मातासमेत रहेका घिमिरे नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य पनि रहेका छन् । करिब ३ दशकभन्दा बढी समय फिल्म क्षेत्रमा बिताएका घिमिरेले ‘आमाको माया’, ‘घर संसार’, ‘दोस्ती’, ‘दादागिरी’, ‘फैसला’ लगायत अहिलेसम्म ३० वटा फिल्म निर्देशन गरिसकेका छन् । उनको निर्देशन यात्रा अहिले पनि रोकिएको छैन । अहिले पनि केही फिल्म निर्देशनको तयारीमा छन् ।
२०५० मा निर्मित फिल्म ‘आमाको माया’बाट निर्देशनमा डेब्यु गरेका घिमिरे गीतकार, सहायक निर्देशक, मुख्य सहायक निर्देशक हुँदै निर्देशनमा होमिएका हुन् । यस क्षेत्रमा उनी रङ्गपत्रकारितामार्फत जोडिएका थिए । २०३९ मा उनी कामना मासिकका लागि पत्रकारिता गर्दथे ।घिमिरे नेपाली फिल्ममा ट्रेन्ड मेकर निर्देशकको रूपमा पनि चिनिन्छन् । सामाजिक विषयमा फिल्म बन्ने समयमा एक्सन र एक्सन चलेको समय प्रेमकथाको फिल्म बनाएर बेलाबेलामा फिल्म क्षेत्रको ट्रेन्डसमेत चेन्ज गर्न सफल घिमिरे इन्जिनियरिङ पेसा छोडेर फिल्ममा होमिएका थिए । फिल्म क्षेत्रबाट दामभन्दा पनि नाम र इज्जत कमाउन सफल भएको बताउने उनमा अहिले अस्कर जित्ने नेपाली फिल्म बनाउने सपना छ । यिनै निर्देशक घिमिरेका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

मेरो खाना
नेपाली खाना दाल, भात, तरकारी र अचार नै मनपर्छ । माछामासु मीठो लाग्छ । डुनुको साग र सुँपको साग मनपर्दैन, कहिल्यै खान्न ।
रेस्टुरेन्ट साथीभाइ, परिवार र कलाकारहरुसँग पनि जान्छु । पहिले रेस्टुरेन्टको मम, चाउमिन लगायत सबै प्रकारको परिकार मनपथ्र्याे । पछिल्लो समय कफीको अलवा चिल्लो र पिरो कम भएको खान्छु ।
पकाउन रुचि छ । दाल, भात, तरकारी, मासु सबै प्रकारका परिकार पकाउन सक्छु । भाँडा माज्न गाह्रो लाग्छ । कहिलेकाहीँ बाध्यताले माज्नुपर्ने हुन्छ ।

मेरो फिट्नेस
पहिले बोरामा बालुवा भरेर झुन्ड्याएर विभिन्न तरिकाले हात, खुट्टा बलियो पार्ने एक्सरसाइज गरिन्थ्यो । अहिले पुसअप, हल्का उफ्रने मात्र गर्छु । अहिले दैनिक ३ देखि ५ किलोमिटर नियमित मर्निङवाक गर्छु ।
पहिले एक्सरसाइजका लागि घरमा डम्बेलहरु पनि थिए । अहिले भने छैनन् ।
मेरो पोसाक
म रफटप भएर हिँड्न रुचाउँछु । क्याजुअल पहिरन नै बढी प्रयोग गर्छु । त्यसमा पनि जिन्सको पाइन्ट धेरै प्रयोग गर्छु । पछिल्लो समय सामाजिक काममा व्यस्त हुन थालेपछि कटनका पाइन्ट, सुटसमेत प्रयोग गर्न थालेको छु ।
विशेष कार्यक्रम, विवाह, सभा समारोहमा जानुपर्दा सुटपाइन्ट प्रयोग गर्छु । अन्य समय क्याजुअल ड्रेस पनि प्रयोग गर्छु ।

कालो, सेतो र ड्रिम कलरको पहिरन मनपर्दैन । उज्यालो कलरका सबै मनपर्छ । पहिरनमा ब्रान्ड हेर्दिनँ । मनपरेको किन्छु । पहिले धेरै रेडिमेट किन्थेँ । अहिले सिलाएर पनि लगाउने गरेको छु । पहिरन खर्च यति भन्ने भएन । आम्दानी र आवश्यकताले खर्च निर्धारण गर्छ ।

मेरो अध्ययन 
पहिले पुस्तक धेरै अध्ययन गर्थें । पछिल्लो समय भने भ्याएको छैन । पढ्न नभ्याए पनि पुस्तक किनेर दराजमा राख्ने गर्छु । अहिले पुस्तक पढ्न नभ्याएपछि मोबाइलमा विभिन्न अध्ययन भने गर्दछु ।

मेरो फुर्सद
पहिले फिल्ममा व्यस्त हुँदा फुर्सद कम भयो । बीचमा फिल्मको काम कम हुँदा केही फुर्सद भयो । पहिले फिल्मको काम धेरै र सामाजिक काम कम गर्थें ।
२०७२ को भूकम्पपछि भने सामाजिक, धार्मिक लगायतको काम बढाएको छु । त्यसैले फुर्सद कमै हुन्छ । अहिलेकेहीँ फिल्मको काम गरिरहेको छु ।  

मेरो खेलकुद
पहिले म भलिबल खेलको भक्तपुर जिल्लाकै राम्रो खेलाडी थिएँ । त्योबेला सुनगाभा युवा क्लब भन्ने थियो । त्यो क्लबका धेरै खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका थिए । त्यो क्लबबाट ७ नम्बर जर्सी लगाएर खेल्थे । अहिले हल्लाफुल्का भलिबल,  ब्याडमिन्टन खेल्थेँ ।
अहिले गेम हेर्न मानपर्छ । टिभीमा धेरै हेर्ने भनेको फुटबल हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल तथा फुटबल खेल भयो भने रातभर नसुतेर पनि हेर्छु ।

मेरो मोबाइल
अहिले मसँग सामसुम र आइफोन ब्रान्डका दुईवटा मोबाइल छन् । कहिलेकाहीँ कुनै स्थानमा कुनै मोबाइल टिप्दैन । त्यसैले दुईवटा चलाएको हो ।
मोबाइलमा फोन गर्ने, युट्युब हेर्न, सामाजिक सञ्जाल, भाइबर, म्यासेन्जर, ह्वाट्सएप लगायत चलाउँछु । युट्युब हेर्छु । सकेसम्म मोबाइल फेर्न चाहान्नँ । 

मेरो टिभी
टिभी पहिले धेरै हेर्थें । टिभीमा चलचित्र, मनोरञ्जन कार्यक्रम, समाचार, कमेडी र गीत सङ्गीतका कार्यक्रम हेर्थें । कहिलेकेही कमी भएको छ ।

मेरो चलचित्र
चलचित्र मेरो पेसा हो । मेरो अहिले जति नाम छ चलचित्र क्षेत्रको कारणले हो । यो क्षेत्रमा म चलचित्र पत्रकारिताबाट जोडिएको हो ।

२०३९ मा म कामना मासिकमा पत्रकारिता गर्थें । पहिले भोलिन्टियर, त्यसपछि केही पारिश्रमिकमा काम गर्ने क्रममा ५, ६ वर्षमा मेरो धेरै कलाकर्मीसँग भेट र चिनजान भयो ।
म गीत पनि लेख्थेँ । २०३९ मा रेडियोमा मेरो गीत पनि रेकर्ड भएको थियो । ‘भाग्य रेखा’ भन्ने फिल्ममा दुईवटा गीतसमेत लेखेको थिएँ ।

कामनामा काम गर्ने सिलसिलामा निर्देशक दीपक रायमाझीसँग भेट भयो । ‘भाग्य रेखा’ फिल्म अशेष मल्ललगायतले लेखेका थिए । सोही क्रममा म पत्रकार भएको र लेखनमा पनि राम्रो भएकाले फिल्मको लेखनमा सघाउन रायमाझीले आग्रह गरे । मैले हुन्छ भनेर त्यसमा जोडिए । 

त्यसरी काम गर्दै जाँदा २०४६ सालमा फिल्मको सहायक निर्देशक भए । त्यसपछि मुख्य सहायक हुँदै २०५० सालमा निर्माण भएको ‘आमाको माया’ फिल्मबाट निर्देशनमा डेब्यु गरेँ ।
२०४९ सालमा मैले नेपाल टेलिभिजनका लागि ‘पूजा’ भन्ने टेलिचलचित्रसमेत निर्देशन गरेको थिएँ ।

यो फिल्म सुपरहिट भयो । त्यसपछि ‘घर संसार’ गरेँ । यो पनि हिट भयो । त्यसपछि अहिलेसम्म पछि फर्किएर हेर्नुपरेको छैन ।
अहिले नेपाली फिल्ममा जुन ट्रेन्ड चलेको छ त्यो मैले २०५८, ०५९ मा निर्देशन गरेको ‘माया नमार’ फिल्मबाट भित्र्याएको हो ।

मैले एक्सन, प्रेम, सामाजिक सबै विषयका फिल्म बनाएको छु । ‘आमाको माया’, ‘घर संसार’, ‘दोस्ती’, ‘दादागिरी’, ‘फैसला’ लगायत अहिलेसम्म ३० चलचित्र निर्देशन गरेको छु । ‘स्वाभिमान’ र ‘माया गर ल’ भन्ने दुईवटा फिल्म निर्माण गरेको छु । अहिले पनि दुईवटा फिल्म प्रदर्शनमा आउन बाँकी छ ।

हाम्रो समयमा फिल्म निर्देशक भनेपछि युवतीहरु फिल्म खेल्न पाइन्छ भनेर हुरुक्कै हुन्थे । पछि लाग्थे । फिल्म खेलाउने बहानामा त्यो समय केही निर्माता, निर्देशकले युवतीहरु धेरै घुमाउँथे । म भने काम र कर्ममा विश्वास गर्ने भएकाले त्यतातिर लागिनँ । कामको सिलसिलामा भेट्ने बाहेकको डेटिङ र मिटिङ गरिएन । अहिलेसम्म पनि फिल्मको बहानामा केटीसँग बार्गेनिङ गरेको छैन । तर पछि लाग्ने युवती कति थिए कति । 

मेरो प्रेम 
२०४६ सालमा मैले परिवारले खोजिदिएको केटीसँग परम्परागत विवाह गरेको हो । जोसँग विवाह भयो विवाहपछि उनीसँग नै प्रेम बस्यो । त्यो प्रेम अहिले पनि चल्दैछ । बाहिर प्रेम गर्ने, डेटिङ जाने, रोमान्स गर्ने कहिलै गरिएन ।

मेरो राजनीति
विद्यार्थी जीवनमा राजनीतिमा धेरै रुचि थियो । २०४१ सालमा म वडाको सदस्य जितेर जिल्लाको क्षेत्रीय सदस्यमा उठेको थिए ।
त्यसमा आफ्नै मानिसले भोट बेचेर मप्रति गद्दार गर्यो । त्यो देखेर राजनीतिमा इमानभन्दा पनि किनबेचको हुँदो रहेछ भन्ने लाग्यो । राजनीतिप्रति वितृष्णा पैदा भयो । त्यसपछि राजनीतिबाट आफूलाई बाहिर राखेँ । देश र समाजको सेवा गर्ने राजनीतिक व्यक्तित्वलाई भने अहिले सहयोग गर्दै आएको छु ।

मेरो सपना
धेरै ठूलो सपना केही छैन । उन्नत समाज निर्माणका लागि आफ्नो पनि थोरै भए पनि योगदान रहोस् । विश्वको चलचित्र क्षेत्रको सर्वोच पुरस्कार अस्कर जित्ने एउटा नेपाली फिल्म बनाउन भन्ने सपना छ ।
त्यसका लागि एक लेखकसँग पत्रकारको विषयमा स्क्रिप्ट लेखन कार्यसमेत भइरहेको छ । त्यो पहिले पुस्तकमा आउँछ अनि चलचित्र बन्छ ।

मेरो गीतसङ्गीत
गीतसङ्गीत सुन्छु । धेरै मनपर्छ । आफ्नो माटो बोल्ने गीतहरु बढी सुन्छु । कर्णप्रिय अर्थात् जसले मन छोओस् त्यस्तो गीतहरु सुन्छु । कहिलेकाहीँ डान्सिङ गीतहरु पनि सुन्छु ।

मेरो भूल     
भूल नगर्ने मानिस जीवनमा सायदै होलान् । जीवनमा जानीनजानी भूल पनि धेरै भए होलान् । सधैँ सम्झने, पछुताउनुपर्ने भूल मबाट जानेर भएको छैन । 

चलचित्रभन्दा पहिले म सिभिल इन्जिनियरिङको विद्यार्थी थिए । त्यो समय तीन वर्ष भवन विभागका ओभरसेयरको जागिरसमेत गरेको थिएँ ।
जब चलचित्र क्षेत्रमा म हामफालेँ । त्यसपछि धेरै सङ्घर्षको बाटाहरु हिँड्नुपर्यो । सो क्रममा धेरै दुःख र पैसाको अभावसमेत झेलेँ ।

मसँग पढेका साथीभाइ विभिन्न सरकारी निकायको उच्च ओहोदा पुग्न सफल भएका छन् । त्यो देखेर पहिले पहिले चलचित्र रोजेर गल्ती गरेँछु भन्ने लाग्छ । यसमा नलागेको भए मसँग पैसा, गाडी, केही ठाउँमा घर सबै हुन्थ्यो कि भन्ने पनि लाग्थ्यो ।

तर अहिले केही साथीहरुले हामीसँग पैसा छ नाम छैन । तेरो र हाम्रो नाम साटाँै भनेर कुरा गर्दा उनीहरु नाम नभएकाले छटपटटिएको देख्दा आफूले रोजेको कामप्रति गर्व लाग्न थालेको छ ।

मेरो रोग
भगवान्को कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । 

मेरो मापसे
मेरो मापसेमा धेरै आदत छैन । घरमा बुबा हुँदा धोती नफेरी भान्सामा छिर्न पाइँदैन थियो । मापसे गर्ने त कुरै भएन । 
पछिल्लो समय कहिल्यै काहीँ कुनै कार्यक्रममा थोरै लिनुपर्ने बाध्यता पर्छ । त्यो समय म हल्का बियर पिउँछु ।

मेरो राशि
मेरो राशि ‘सिंह’ हो । ग्रहदशामा विश्वास लाग्छ । देखाउने, हेराउने, जुराउने सबै गर्छु । दानधर्म, पूजापाठ पनि गर्छु । हिन्दु धर्ममा आस्था राख्नेले यसमा विश्वास गर्नुपर्छ ।  

मेरो मृत्यु 
मृत्यु एउटा नियमित प्रक्रिया, अन्तिम सत्य पनि हो । ध्रुव सत्य हो । कोही अमर छैन । कहिले र कसरी भन्ने मात्र हो, कसैले टार्न नसक्ने कुरो हो । त्यसलाई सजिलै स्वीकार्छु म पनि । 
मर्ने पनि भौतिक शरीर हो । समयमा आउँछ । समय पुगेपछि जान्छ । यसलाई कसैले रोकेर रोक्न सक्दैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप