बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना परीक्षण गर्ने पिसिआर मेसिन कवाडीमा परिणत हुने खतरा

शनिबार, ०८ फागुन २०७७, ११ : ५२
शनिबार, ०८ फागुन २०७७

कोरोना संक्रमण बढ्दै जाँदा पिसिआर मेसिन खरिद गर्न सर्वत्र दबाब बढ्यो । तर अहिले संक्रमण घट्दै गएको अवस्थामा लाखौं रकम खर्चिएर ल्याइएका ती मेसिन उपयोगविहीन बन्ने खतरा बढ्दै गएको छ । केन्द्रीय अस्पताल तथा प्रयोगशाला, प्रादेशिक अस्पताल र कतिपय स्थानीय तहलेसमेत कोरोना परीक्षणका लागि कम्तीमा एउटा पिसिआर मेसिन खरिद गरेका छन् । पछिल्लो समय निजी क्षेत्रले पनि पिसिआर मेसिन खरिद गरेका थिए ।

कोरोना महामारीका समयमा देशमा कति पिसिआर मेसिन खरिद भए भन्ने प्रस्ट तथ्यांकसमेत सरकारसँग छैन । एउटा पिसिआर मेसिन खरिदका लागि २४÷२५ लाख रुपैयाँ खर्च भएको छ ।
सरकारले कोरोना महामारी फैलिएको एक वर्षको अवधिमा ४८ वटा अस्पताल तथा प्रयोगशालाबाट कोरोना परीक्षण गर्दै आएको थियो । तर, संक्रमितको संख्या कम हुँदै गएपछि सरकारी २९ वटा प्रयोगशालाबाट कोरोना परीक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । 

हाल देशभरबाट दैनिक २५÷३० सयको हाराहारीमा मात्रै परीक्षण हुँदै आएको छ । देशभर विभिन्न अस्पताल तथा स्थानीय तहसँग रहेका पिसिआर मेसिन थन्किने अवस्थामा पुगेको संकेत हो यो ।
पिसिआर मेसिन सदुपयोगका लागि ठोस रणनीति नबने करोडौं रकम बराबरको सम्पत्ति प्रयोगविहीन हुन सक्ने भएकाले राज्य सचेत हुन जरुरी भएको जनस्वास्थ्य विज्ञहरूको सुझाव छ ।

कोरोना महामारी तीव्र गतिमा फैलिदा स्थानीय, प्रादेशिक र संघीय सरकार तथा निजी अस्पतालहरूले पिसिआर मेसिन धमाधम खरिद गरे । संक्रमण दर घटेपछि ती मेसिन कसरी व्यवस्थापन गर्ने र कसरी बहुउपयोगी बनाउने भन्नेमा कसैले पनि ध्यान नदिएको जनस्वास्थ्य विज्ञ बताउँछन् । यसले गर्दा ती मेसिन कवाडीमा परिणत हुने खतरा देखिएको उनीहरुको भनाइ छ ।

कोरोना महामारीकालमा ४८ वटा सरकारी प्रयोगशालामा सञ्चालन भएका पिसिआर मेसिनलाई कसरी सदुपयोग गर्ने भनेर सरकारले समेत ठोस योजना बनाइसकेको छैन । यस्तो अवस्थामा केही स्थानीय तहहरूले खरिद गरेका पिसिआर मेसिन पूर्ण रुपमा प्रयोग हुनेमा शंका उब्जिनु स्वाभाविक देखिन्छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डाक्टर रुना झा कोरोना परीक्षण गर्ने उद्देश्यले खरिद भएका सबै पिसिआर मेसिनले भविष्यमा प्रतिफल दिइरहन्छन् भन्ने अवस्था नदेखिएको बताउँछिन् ।
‘पिसिआर मेसिनबाट अन्य रोगहरुको समेत परीक्षण गर्न सकिने भए पनि स्थानीय तहमा त्यस्ता मेसिनबाट अन्य कुनै रोगको परीक्षण गर्न सकिदैँन,’ उनी भन्छिन्, ‘त्यहाँ अन्य कुनै रोग लागेको आशंकामा परीक्षण गर्न तथा उपचार गर्ने जनशक्तिको पहुँच नहुन सक्छ, त्यसैले त्यहाँ कोरोनाबाहेक अन्य रोगको परीक्षण हुने सम्भावना कम हुन्छ ।’

पिसिआर मेसिनबाट विभिन्न रोगहरू जस्तै, क्षय रोग, हेपाटाइटिस, एचआइभी, स्वाइनफ्लू लगायतका रोगको परीक्षण गर्न सकिने जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित बताउँछन् । तर यी रोगहरु कोरोनाको तुलनामा न्यूनमात्रामा हुने भएकाले पनि पिसिआर मेसिन पुनः प्रयोग नहुन सक्ने उनी बताउँछन् । फरकफरक रोग परीक्षण गर्नका लागि विभिन्न प्रकारका किट खरिद गर्नुपर्ने र सोही अनुसार प्राविधिक जनशक्ति आवश्यक हुने भएकाले आर्थिक रुपमा त्यो सहज नहुन सक्ने उनले बताए ।

अब स्थानीय तह, प्रादेशिक तह र संघीय अस्पतालमा रहेका पिसिआर मेसिनमा खिया लाग्न र धुलोले पुरिन नदिनका लागि सरकारले नै ठोस योजना बनाउनुपर्ने उनको भनाइ छ ।
महामारी तीव्र गतिमा फैलिदा कतिपय निजी प्रयोगशालालाई सरकारले किट, पिसिआर मेसिन खरिद, प्रयोगशालामा खटिने जनशक्ति आदिमा सहयोग गरेको थियो । सरकारले आपतकालीन अवस्थामा खरिद गरिएका पिसिआर मेसिनलाई अन्य रोगको परीक्षणका लागि प्रयोग गर्ने रणनीति बनाएर अगाडि बढ्नुपर्ने उनी बताउँछन् । 

नेपालमा कोरोनाभाइरसमात्र नभएर विभिन्न प्रकारका किटाणुजन्य रोग भएकाले पिसिआर मेसिनबाटै तिनको परीक्षण गर्ने व्यवस्था मिलाउन मेसिन खरिदकर्ताहरू र सरकारबीच समन्वय हुनुपर्ने उनको भनाइ छ । ‘नेपाल किटाणुहरूको परीक्षण र पहिचान कमजोर थियो,’ उनले भने, ‘महामारीले स्वास्थ्य क्षेत्रमा फड्को मार्नुका साथै ठूलो अवसरका ढोकाहरू पनि खुला ग¥यो । अब पिसिआर मेसिनलाई बहुउपयोगी बनाउनतिर विशेष योजना तर्जुमा गर्न आवश्यक छ ।’

उता जनस्वास्थ्य प्रयोगशालाका प्रवक्ता डाक्टर राजेश गुप्ताले महामारीका कारण नेपालका स्वास्थ्य प्रयोगशालामा क्रान्ति नै भएको ठान्छन् । अहिले राज्यसँग उपकरण र जनशक्ति पनि भएकाले अन्य रोगहरूको परीक्षण र पहिचानका लागि प्रदेश, केन्द्र र स्थानीय तहले कार्ययोजनासहित पिसिआर मेसिनको सदुपयोग गर्नुपर्ने उनको भनाइ छ ।

‘सबै रोगको पिसिआर गर्ने तरिका उस्तैउस्तै हुन्छ,’ उनले भने, ‘रोग अनुसारको रिएजेन्ट फरक हुन्छ, हजारौंको संख्या रहेका प्रयोगशालाकर्मीले अन्य रोग पनि परीक्षण गर्न सक्छन् ।’
हाल स्थापना भएका सबै प्रयोगशालामा सबै रोगको परीक्षण गर्ने वातावरण सिर्जना नभए पनि के–के रोगको परीक्षण कुन–कुन प्रयोगशालामा गर्ने भन्नेबारे सम्बन्धित निकायले कार्ययोजना बनाएर अघि बढ्न आवश्यक भएको उनी बताउँछन् ।

पिसिआर मेसिन भित्र्याउन सरकारी तथा निजी क्षेत्रमा जति तत्परता थियो, त्यस्तै तत्परता ती मेसिनबाट कोरोनाबाहेक अन्य रोगको परीक्षण कसरी गर्ने, कस्ता जनशक्ति राख्ने, कुन क्षेत्रका जनताको पहुँचसम्म कुन कुन प्रयोगशालालाई तोक्ने आदि बारेमा कार्ययोजना बनाएर लागू गरेर जनतालाई सुविधा दिनुपर्ने उनी बताउँछन् ।

कोरोना संक्रमण उच्च रहँदा खरिद गरिएका पिसिआर मेसिनबाट कोरोनासँगै अन्य रोगको परीक्षण तथा पहिचान गर्न प्रयोगशाला नै स्थापना गर्ने हो भने एउटा प्रयोगशालाका लागि झण्डै एक करोड रुपैयाँ लाग्न सक्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. झाको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना परीक्षणका लागि निजी र सरकारी तवरबाट खरिद गरिएका पिसिआर मेसिनले अन्य रोगको समेत परीक्षण गर्नेगरी सदुपयोग गरिने बताए । यद्यपि, स्थानीय तथा जिल्ला तहमा रहेका पिसिआर मेसिनलाई कसरी सदुपयोग गर्ने भन्ने बारेमा संघीय, प्रादेशिक र स्थानीय तहहरूले योजना बनाएका छैनन् । त्यसैले कयौं पिसिआर मेसिन नेपालमा कोरोना संक्रमण दर घटेसँगै कवाडीमा परिणत हुने खतरा बढेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप