बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सद्दामले किन मारेका थिए आफ्नै ज्वाइँलाई ? छोरीले गरिन् यस्तो खुलासा

मङ्गलबार, ११ फागुन २०७७, १२ : १३
मङ्गलबार, ११ फागुन २०७७

इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेनकी छोरी रगद सद्दाम हुसेनको स्कुल पढ्दै गर्दा नै विवाह भयो । यतिबेला उनको उमेर केवल १५ वर्ष थियो । विवाहको समय इराक र इरानबीच युद्ध चलिरहेको थियो फेब्रुअरी १९९६ मा २५ वर्षको उमेरमा रगदले आफ्ना माइती पक्षको सल्लाहमा सम्बन्ध–विच्छेद गरिन्, यसको दुुई दिनपछि उनका पतिको हत्या गरियो । 

रगदको विवाह सद्दाम हुसेनका काकाका छोरा हुसेन कमेल अल माजिदसँग भएको थियो । यतिबेला हुसेन कमेल सद्दामको सुरक्षामा खटिएका थिए । सद्दामकी अर्की छोरी राना सद्दामको विवाह पनि हुसेन कमेलका भाइ सद्दाम कमेल अज माजिदसँग भएको थियो । 

दुबै छोरीहरुको विवाह, सम्बन्धविच्छेद र उनीहरुका पतीहरुको हत्याको कथा निकै दर्दनाक छ । २०१८ मा रगद सद्दाम हुसेनको नाम तत्कालीन इराक सरकारले मोस्ट वान्डेटको सुचीमा राखेको थियो । 
रगद सद्दाम हुसेनले अल अरेबियालाई एक साताअघि दिएको अन्तवार्तामा आफ्नो निजी जीवनको धेरै महत्वपूर्ण विषयहरूबारे बोलेकी छिन् । 
१५ वर्षमै विवाह गर्नका लागि बाबु सद्दाम हुसेनले दबाब दिएका थिए वा यो निर्णय रगदले स्वइच्छाले गरेकी थिइन् ?

विवाह स्वइच्छाले 
जवाफमा रगदले भनिन्,‘मेरो पिताले आफ्ना पाँचमध्ये कुनै पनि बच्चालाई विवाहका लागि दबाब दिइनन् । छोरीको विवाहका लागि कसैले प्रस्ताव ग¥यो भनेपनि उनले हामीसँग नै यसबारे के गर्ने भनेर सोध्ने गरेका थिए । उनले पुरै स्वतन्त्रता दिएका थिए ।  म त्यतिबेला किशोरी थिएँ, गर्मीको दिउँसोको समय थियो । मेरा बाबु ढोका ढक्कढक्याएर आए । उनले म सामु आएर मेरो हालचाल बुझे । त्यसपछि उनले सोधे – तिम्रो एक प्रेमी छ ? उनले नाम पनि बताए ।’

रगदका अनुसार परिवारभित्रकै विषय भएकाले खासै असहज अवस्था थिएन । ‘मेरा बाबुले भनेका थिए कि तिमी सम्बन्धलाई स्विकार्न वा अस्विकार गर्नका लागि स्वतन्त्र छौं । उनले यसो भनिरहँदा म लजाइरहेको थिएँ । त्यसपछि उनले मेरो निर्णय आमालाई सुनाइदिन भने । हुसेन कमेल अल–माजिद मेरा बाबुको रक्षा दलमा थिए, त्यसकारण बाबुसँग उनको भेटघाट दैनिक हुन्थ्यों । मेरा बाबुले अंगरक्षक हरुलाई लन्चमा बोलाउथे, जसमा यी व्यक्ति पनि थिए ।’
रगदले भनिन्, ‘हामी दुबैले एक अर्कालाई प्रेम गर्न थालेका थियौं । मेरी आमालाई थाहा थियो । तब म सानै थिए, तर चाडैं यो प्रेम विवाहमा परिणत भयो । त्यतिबेला म स्कुलमा पढ्दै थिएँ । विवाहपछि पनि मैले पढाई जारी राखेँ र स्नातकसम्मको पढाई पूरा गरें । मेरा पति मेरो पढाइको पक्षमा थिएनन् । सायद उनले इर्श्याका कारण यस्तो गरेका होलान् । इराकमा त्यतिबेला सुरक्षालाई लिएर कुनै चिन्ता थिएन । त्यसकारण स्कुल नजान जिद्दी गर्नुको कारण सुरक्षा सवाल होइन । यद्यपी, मेरा पतिले मलाई प्रेम र सम्मान दुबै गर्थे । उनी मेरा माता–पितालाई पनि आदर गर्थे । 

‘पिताको प्रेमसँग तुलना हुँदैन’
‘मेरा बाबुले मलाई निकै प्रेम गर्दथे । यसको तुलना अन्य कसैसँग गर्न सकिदैँन । उनले जति प्रेम गरे, त्यसको तुलना न पतिसँग न त मेरा आफ्नै बच्चासँग गर्न सकिन्छ ।’
रगदका अनुसार ईराक–इरान युद्धका दौरान उनी स्कुल पढ्थिन् । त्यस लडाइँसँग जोडिएको स्मरणबारे उनले भनिन्, ‘त्यतिबेला हाम्रो अर्को एक घर थियो । त्यहाँ पनि हामी आउने–जाने गर्न सक्थ्यौँ । एक दिन म स्कुल गइँन किनकी भारी बमबारी भएको थियो ।

मेरा पिता सेनाको ड्रेसमा आएका थिए र उनले स्कुल किन नगएको भनेर सोधे । मैले युद्धको खतराका विषयमा बोले, त्यसपछि उनको जवाफ थियो –ईराकका बाँकी बच्चाहरु स्कुल जाउँदैछन्, तिमी पनि जानुपर्छ । यदी तिमी स्कुल गयौं भने स्कुलमा पढ्ने बाँकी बच्चाहरुको साहस बढ्नेछ । तिमीले उनीहरुको पनि ख्याल गर्नुपर्छ । सद्दाम हुसेनको सन्तान भएकाले कुनै विशेषाधिकार नमिलोस् भन्ने मेरा पिताको चाहना थियो । मेरा दाजुहरूले त इराककै रक्षामा आफ्नो ज्यान गुमाएका थिए ।’

रगदका अनुसार उनी राजनीतिक फैसलामा सहभागी हुँदैन थिइँन, तर मानवतावादी फैसलाहरुको हिस्सा रहिन् । रगदका अनुसार केही विषयहरुमा पतिसँग पनि उनको बहस हुन्थ्यों ।  

पति र पिताबीच टकराव 
रगदले आफ्ना पति हुसेन कमेल र पिता सद्दाम हुसेनको सम्बन्धमा आएको दरारबारे पनि बोलेकी छिन् । रगदले भनिन्, ‘म एक्लो थिइँन । जसको पति मारिएको होस् । त्यतिबेला इराकमा ठूलो संख्यामा महिलाहरुले आफ्ना नजिकका व्यक्ति गुमाएका थिए । त्यसमा उनीहरुका पति,पिता र बच्चाहरु समावेश थिए । मेरा पति १९९५ को अगस्ट महिनामा जोर्डन गए । उनले त्यहाँ जाँदा मलाई सम्पर्क गरेका थिए । मलाई लाग्यो कि यदी उनी इराकमै बसे भने रक्तपात हुनेछ । परिवारभित्रै हुनेछ ।  त्यसैले इराक छाड्ने उनको फैसलालाई मैले समर्थन गरें । सद्दाम हुसेनको छोरी भएकाले मलाई दोस्रो मुलुकमा जान सहज थिएन । यद्यपी, जोर्डनमा हाम्रो स्वागत निकै राम्रोसँग भयो । मलाई कहिल्यै म बाहिरको व्यक्ति हुँ भन्ने लागेन । तर पत्रकार सम्मेलन गरेर हामीलाई सार्वजनिक गरिनेछ भन्ने मलाई अनुमान थिएन ।’

रगदले अन्तर्वार्तामा भनिन्, ‘जोर्डन गएपछि पत्रकार सम्मेलनमा के भनिनेछ भन्ने मलाई केही अनुमान थिएन । यस पत्रकार सम्मेलनमा हुसेन कैमलले सद्दा हुसेनविरुद्ध बोले । आफु जोर्डन आएपनि सद्दामको शासन हल्लिएको हुसेनको दाबी थियो । उनले इराककी सैनिकहरूलाई सत्ता परिवर्तनका लागि तयार रहन भने ।’

जोर्डनमा शरण 
१९९५ को अगस्ट महिनाको दोस्रो हप्तामा हुसेन कमेल अल माजिद र उनका भाइ सद्दाम कमेल इराकबाट जोर्डन आएका थिए । हुसेन पत्नी रगद र सद्दाम कमेलकी पत्नी राना पनि यस उनीहरुसँगै थिए । 
जोर्डन आउनु अघिसम्म दुबै भाई सद्दाम हुसेनका ठूला विश्वासपात्र थिए, उनीहरुले नै सेनाको पुरै काम हेथ्र्यें । इराकको हतियार कार्यक्रम योजना बनाउने काम उनीहरुकै थियो पनि भनिन्छ । जोर्डन आउँदा पनि उनीहरुसँग इराकी सेनाका १५ अधिकारी थिए । तर, जोर्डनका राजा हुसेनले आफ्नो देशमा यी दुईलाई शरण दिएपछि सद्दाम  निकै रिसाए । तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले राजा हुसेनको फैसलाको स्वागत गरे । 

खास त्यस्तो कारण के थियो, जसले रगदका बाबु सद्दाम र पति हुसेन कमेलबीच दरार सिर्जना ग¥यो ? रगद भन्छिन्, ‘मेरा पतिको शक्ति बलियो हुँदै थियो । मेरा बाबुपछि ईराकमा उनी दोस्रो नम्बरको हैसियतमा पुगिसकेका थिए । परिवारको सदस्य भएकाले उनको भूमिका ठूलो थियो, उनीसँग निर्णय लिने क्षमता पनि थिए । उनीसँग हरेक भूमिकालाई ठीकसँग निभाउने साहस थियो । मसँग विवाह हुनभन्दा पहिलेदेखि नै उनी यस मामिलामा अघि बढिसकेका थिए । हाम्रो विवाहपछि हुसेन कमेल स्पेशल सेक्युरेटीका प्रभावी थिए ।’

पतिको हत्याको फैसला मेरै माइतीको थियो 
हुसेन कमेलसँग सम्बन्धविच्छेदबारे रगद भन्छिन् । ‘हुसेनले इराक छाडेपछिको अवस्थालाई झेल्न सकेनन् । एक महिनामात्रै यसको अनुमान भइसकेको थियो । सम्बन्ध विच्छेदको फैसला फेब्रअरी १९९६ मा इराक फर्किएको एक दिनपछि नै लिइएको थियो । मैले आफ्ना बाबुसँग कुराकानी गरेर निर्णय लिएँ । मेरा बाबु निकै दुखी थिए । उनीसँग लामो कुराकानी भयो । उनी यति दुखी थिए कि कुराकानी गर्ने अवस्था समेत थिएन । यतिबेला मेरा दाजु पनि बाबुसँग थिए र कुराकानीपछि तलाक दिने निर्णय भयो ।’

जोर्डबाट फर्किएको तीन दिनपछि हुसेन कमेल र उनका भाइ सद्दाम कमेलको हत्या गरियो । सद्दाम कमेलको विवाह सद्दाम हुसेनकी दोस्री छोरी राना सद्दामसँग भएको थियो । 
रगद हुसेनले अन्तर्वातामा भनेकी छिन् कि उनका पतिको हत्याको निर्णय उनकै परिवारको थियो । रगदले आफ्ना पतिका हत्यामा आफ्नै भाइ उदय सद्दाम हुसेनको पनि संलग्नता रहेको स्विकारेकी छिन् । रगद भन्छिन्,‘जब मेरा पतिको हत्या भयो, तब म २५ वर्षकी थिएँ । कति दुख लागेको थियो भन्ने बताउन सक्दिनँ । मेरा पितालाई पनि मेरो दुख महसुस भएको थियो र उनले मलाई साहारा दिने प्रयास पनि गरेका थिए ।’
२००३ मा इराक र अमेरिका हमलापछि रगद जोर्डनमा गइन् र अहिले त्यही बसिरहेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप