शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चको फैसलाप्रति के भन्छन् निजी व्यवसायीहरु ?

मङ्गलबार, ११ फागुन २०७७, १९ : १२
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गत पुस ५ गते विघटित प्रतिनिधिसभा पुनःस्थापना भएको छ । प्रधानमन्त्रीको कदम बदर गर्दै सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापनाको फैसला गरेको हो । योसँगै जन प्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको छ । 

संसद पुनःस्थापनासँगै विभिन्न क्षेत्र, निकाय तथा व्यक्तित्वहरुले विभिन्न कोणबाट आफ्ना धारणाहरु व्यक्त गरिरहेका छन् । यस्तो अवस्थामा गत पुस ५ गते प्रधानमन्त्रीद्वारा संसद विघटन भएसँगै सशंकित भएको निजी क्षेत्रहरुले संसद पुनःस्थापनालाई कसरी हेरेका छन् त ? संसद पुनःस्थापना सम्बन्धि के छ निजी व्यवसायिक क्षेत्रको प्रतिक्रिया ?


यस्तो छ, संसद पुनःस्थापनापछि निजी व्यवसायीहरुले रातोपाटीलाई दिएको संक्षिप्त प्रतिक्रियाः

​राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष चेम्बर

संसद पुनःस्थापनाको सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ । हामी यसैको पक्षमा थियौं । जसले अनावश्यक अर्बौको खर्चमा हुने निर्वाचनलाई रोकेको छ । अहिलेको समयमा अर्बौ अर्बको खर्चमा चुनाव गर्ने अवस्था थिएन । जुन मुलुकको अर्थतन्त्रले धान्ने अवस्था पनि थिएन । कोभिड–१९ का कारण शिथिल भएको अर्थतन्त्रले धान्नेवाला थिएन । 

अर्को तर्फ भनेको हामीले ५ वर्षकै स्थायी सरकार चाहेका थियौं र सार्वभौम संसद पनि । यसले पुनः हामीमा आसा पलाएको छ । अब मुलुकमा हुलदंगा, आन्दोलन रोकिनेमा हामी विश्वस्त छौं । यसले लगानीको वातावरण बन्नेछ र विदेशी लगानीलाई पनि स्वागत गर्ने छ भन्ने मलाई लागेको छ ।    

सतिषकुमार मोर, अध्यक्ष सिएनआई 

संसद पुनःस्थापना ठिक की वेठिक भन्ने यो राजनीतिक मुद्दा होला । तर हामी निजी व्यवसायिक क्षेत्रहरुको सधै एउटै कन्सनको विषय भनेको ‘लन अफ अर्डर’ हो । हामी उद्योग,व्यवसायीहरुले सहज व्यवसायिक वातावरण पाउँछौ कि पाउन्नौं भन्ने हो । हामीले व्यवसायिक सुरक्षा पाउनुपर्यो, लगानीको वातावरण बन्नुपर्यो र आपूर्ति व्यवस्था सहज हुनुपर्यो त्यहीँ हो ।

उमेशप्रसाद सिंह, कार्यवहाक अध्यक्ष एफएनसिएसआई
विघटित संसद त पुनःस्थापना भयो तर संसद पुनःस्थापना भएर पनि सहज वातावरण बन्छ, फेरि राजनीतिक स्थायित्व हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । यसलाई अब बन्ने सरकार र नयाँ संयन्त्रलाई जोडेर हेर्नुपर्ने हुन्छ । हामी निजी व्यवसायीहरुले सधै चाहने विषय भनेको औद्योगिक वातावरण हो, लगानीको वातावरण हो र सहज आपूर्तिको व्यवस्था हो । सरकारमा जो आएपनि हामीलाई चाहिने यहीँ हो । कामना गरौं अब यस्तै वातावरण बनोस् । देशमा राजनीतिक स्थायित्व कायम होस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप