शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्वोच्च अदालतको ऐतिहासिक फैसलाः कसले के भने ?

मङ्गलबार, ११ फागुन २०७७, १९ : ३२
मङ्गलबार, ११ फागुन २०७७

प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ । प्रधानमन्त्री केपी ओलीले  प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेको हो । त्यस्तै, १३ दिनभित्र संसद्को बैठक बोलाउन अदालतले आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतको निर्णयसँग विभिन्न कोणबाट प्रतिक्रियाहरु आएका छन् । त्यसलाई यहाँ समावेश गरिएको छ :

सभामुख अग्नि सापकोटाले अदालतप्रति जनताको विश्वास बढेको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको पक्षमा फैसला गरेपछि सभामुख सापकोटाले पहिलो प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् ।

सापकोटाले भने, अदालतमाथि सबैको विश्वास भरोसा थियो । अदालतले जनताको मन भावनाअनुसार फैसला गर्ने गथ्र्यो । अदालतप्रति जनताको विश्वास बढ्यो ।’ आजै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला सुनाएको थियो । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । रातोपाटीलाई प्रतिक्रिया दिँदै प्रचण्डले अदालतको फैसलाले नेपाली जनताको जित भएका बताए । ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, प्रचण्डले रातोपाटीसँग भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई !’

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्ने निर्णयप्रति खुसी व्यक्त गरेका छन् । हाल भारतमा उपचारका लागि रहेका भट्टराईले अस्पतालबाट ट्वीट गर्दै  सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं बताएका हुन् ।

उनले लेखेका छन्, ‘कस्तो सुखद संयोग, अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो  हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !’

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाले नेपालको राजनीति सहि ट्रयाकमा हिँड्ने बताएका छन् । ‘सर्वोच्च अदालतको फैसला नेपाली जनताको भावना, संविधानको मर्म अनुसार छ’ गौतमले भने, ‘यो फैसला स्वागतयोग्य छ । खुसी छु । अदालतलाई बधाई छ ।’ उनले अब नेपालको राजनीतिमा नेकपालाई एकीकृत गरेर सहि दिशा दिनुपर्छ । म त्यसमा प्रयत्न गर्दछु । पार्टी मिलाउँछु ।’

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले देशलाई ठूलो दुर्घटना हुनबाट बचाएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि अध्यक्ष यादवले रातोपाटीसँग प्रतिक्रिया दिँदै सर्वोच्च अदालतप्रति जनताको विश्वास झनै बढेर गएको बताए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कदम चालेको कुरा सर्वोच्च अदालतले ठहर गरेको छ । यो निर्णयले लोकतन्त्र, संघीयता र गणतन्त्र बलियो छ,’ उनले भने ।

नेपाली काँग्रेसले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै अधिनायक आकाङ्क्षासमेत बदर भएको बताएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले यसलाई जनताको जीत बताउँदै न्यायाधीशहरूलाई ‘सलाम’ भनेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘न्याय मूर्तिहरूलाई लाख लाख सलाम, संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसँगै अधिनायक आकाङ्क्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जीत भएको छ ।’

नेकपाका नेता तथा प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले गरेको बदर सकारात्मक भएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै रिट निवेदक समेत रहेका नेता गुरुङले अदालतले गरेको फैसला सकारात्मक भन्दै अधिवेशन समेत बोलाउन आदेश दिएकाले सही भएको बताएका हुन् । ‘फैसला सहि र सकारात्मक छ । यसको म समर्थन र स्वागत गर्छु’ गुरुङको भनाई छ ।

जे हुनु पर्थ्यो, त्यो भयो। सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्व राख्नेछ। लोकतन्त्र र संविधानवादको चीरहरण गरेर...

Posted by Rabindra Mishra on Tuesday, February 23, 2021

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप