
प्रम ओलीको पक्षमा लागेका नेता–कार्यकर्तालाई मूल पार्टीमा फर्कन नेपालको आग्रह
‘कतै सूर्य अस्तायो होला’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले सरकारले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई बदर गर्ने सर्वोच्च अदालतको निर्णयलाई ऐतिहासिक फैसला भएको जिकिर गर्दै संवैधानिक इजलासमा रहेका प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
सर्वोच्च अदालतको फैसलापछि खुसियाली मनाउन आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अदालतको फैसलासँगै अब ओली युगको अन्त्य भएको घोषणा समेत गरे । ‘सत्यको जीत भयो, न्यायको जीत भयो । नेपाली जनताको जीत भएकोमा हामी खुसी छौँ,’ उनले भने ।
‘कतै उज्यालो फैलिएको छ, कतै अन्धकार पनि होला । कतै साँझमा सूर्य उदाइ पनि रहेको छ, कतै अस्ताइ रहेको पनि होला । कतै खुसियाली छाएको छ, कतै मातम छाएको पनि होला,’ उनको भनाइ छ ।
नेपालले प्रधानमन्त्री केपी ओलीको पक्षमा भएका नेता–कार्यकर्ताहरुलाई आँखा खोलेर अब भ्रमबाट मुक्त हुन पनि आग्रह गरे । उनीहरुलाई आफ्नो पार्टीमा फर्कन आग्रह गर्दै नेता नेपालले भने, ‘ओली कम्युनिस्ट भन्न लायक थिएनन् अब लोकतन्त्रवादी लायक छैनन् । अब ओलीको पक्षमा भएका केही साथीहरुलाई मूल कम्युनिस्ट पार्टीमा फर्कन आग्रह गर्दछौँ । हामी स्वागत गर्नेछौँ । ढिला नगर्नुहोला ।’
संविधानको सर्वोच्चताको पक्षमा उभिने पूर्व प्रधानन्यायाधीश, निर्वाचन आयुक्तहरु, न्यायाधीश, नागरिक समाज, राजनीतिक दलका नेता–कार्यकर्ता तथा नेपाली जनतालाई धन्यवाद दिए । उनले भोलिको जुलुस बिरोध जुलुस नभएर विजय जुलुस हुने घोषणा गरे ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ