शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जिरुको ‘ओभरहेड’ किकमा चेल्सी विजयी, बायर्नको गोल वर्षा

बुधबार, १२ फागुन २०७७, ०७ : ५१
बुधबार, १२ फागुन २०७७

ओलिभियर जिरुको उत्कृष्ट ओभरहेड किक गोलको मद्दतले चेल्सीले एथ्लेटिको म्याड्रिडलाई च्याम्पिन्यस लिगको अन्तिम १६ को पहिलो लेगमा पराजित गरेको छ । खेलको ६८ औँ मिनेटमा जिरुले गरेको एक्रोब्याटिक गोलले चेल्सीलाई अवे गोलको फाइदा पनि दिएको छ ।

जीतसँगै नयाँ म्यानेजर थोमास टुचेलको अपराजित यात्रा कायम रहेको छ भने टोली क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । चेल्सी सन् २०१३–१४ सिजनपछि पहिलोपटक क्वार्टरफाइनल पुग्ने आशामा रहेको छ ।

कोभिड–१९ का कारण खेल स्पेनको साटो रोमानियामा आयोजना गरिएको थियो । खेलमा एथ्लेटिकोले चेल्सीको पोष्टमा एक पनि प्रहार गर्न असफल रह्यो ।

उता, साबिक विजेता बायर्न म्युनिखले इटालियन क्लब लाजियोविरुद्ध गोलवर्षा गरेको छ । बायर्नले लाजियोलाई उसैको घरमा ४–१ गोलले पराजित गरेको हो ।

रोबर्ट लेवान्डोस्कीले खेलको सुरुवातमा नै बायर्नलाई अग्रता दिलाए । उनको यो प्रतियोगितामा ७२ औँ गोल थियो । उनले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीको तेस्रो स्थानमा रियल म्याड्रिडका लिजेन्ड राउललाई उछिनेका छन् ।

जमाल मुसाइलाले बायर्नको अग्रता दोब्बर बनाए भने लेरोय सानेले अग्रता फराकिलो बनाए । दोस्रो हाफमा  वाकिन कोरेयाले एक गोल फर्काए पनि लाजियोले आत्मघाती गोल गरेपछि बायर्नले सजिलै खेल आफ्नो पक्षमा पार्यो ।

अब दोस्रो लेग १७ मार्चमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप