शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हारेका ओलीले भनेर अरुले मान्दैनन् अब प्रचण्डले एकीकरणको लागि भूमिका खेल्नुपर्छ : वामदेव गौतम (भिडियोसहित)

बुधबार, १२ फागुन २०७७, १४ : ३०
बुधबार, १२ फागुन २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मालोचना गर्दै राजीनामा दिन सुझाव दिएका छन् । प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्ट्याएपछि नैतिकताको आधारमा राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने उनको भनाइ छ । नेता गौतमले पार्टी एकता र राष्ट्रिय राजनीतिमा देखिएको गाँठो फुकाउने पहल पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले लिनुपर्ने पनि बताए । प्रस्तुत छ, गौतमसँग न्यूज एजेन्सी नेपालले गरेको कुराकानीको सारः

प्रतिनिधि सभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई कसरी लिनुभएको छ ?
सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको यो निर्णयले नेपालको संविधानको संरक्षण गरेको छ । यो निर्णयले नेपाली जनताको सार्वभौम अधिकारलाई पुनःस्थापित गरेको छ । यसले स्वेच्छाचारी तरिकाले मनपरी जे मन लाग्यो त्यही गर्दै हिँड्न पाइँदैन भनेर अनुशासन बोध पनि गराएको छ । त्यसैले यो निर्णय नेपालको संविधान बमोजिम, नेपालको संविधानको मर्म र भावना बमोजिम र हामीले निर्माण गरेको संविधानको अक्षरसँग पनि सम्बन्धित बनाएर निर्णय भएको छ । प्रतिनिधि सभा भङ्ग गर्ने काम असंवैधानिक हो र यससित सम्बन्धित भएर सरकारले जतिपनि काम गरेको छ।  त्यो सबै असंवैधानिक हुन् भनेका हुनाले प्रतिनिधि सभा मात्रै पुनःस्थापित होइन, अरु धेरै कामहरु पनि असंवैधानिक भएको हुनाले खारेज हुन्छन् । ज्यादै ठूलो ऐतिहासिक महत्व राख्ने निर्णय भएको छ । मैले यसलाई ऐतिहासिक निर्णय भनेर भनेको छु । 

मन्त्रिपरिषद्ले गरेको एउटा निर्णयले राष्ट्रिय राजनीति र पार्टी भित्रको राजनीति पनि सबै खलबलिएको थियो । अब कोर्स कताबाट शुरु गर्नुपर्छ र कसले पहलकदमी लिनुपर्छ, कसको के भूमिका हुनुपर्छ ? 

पार्टी एकताको निम्ति शुरु गर्नुपर्ने दुईवटा अध्यक्षले हो । दुवै अध्यक्षले पार्टी एकीकरण गर्ने विषय उठाउनु भएन । पार्टी त विभाजन भइसक्यो अब मिल्न सक्दैन भन्ने प्रचण्डको भनाइ आयो र पार्टी फुटाएको हामीले होइन फुटाएको केपी ओलीले हो भनेर भन्नुभएको छ । पार्टी फुटाउने काम प्रचण्ड माधवहरूले हो भनेर यतातिर भनेको छ, अनि साइडबाई साइड पार्टी फुटाउने वामदेव हो भनेर दुवैले आ–आफ्नो तरिकाले भन्नुभएको छ । जसले जे काम गर्नुभएको छ, त्यसको जिम्मा नलिने चलन छ । राम्रो भएमात्रै आफूले जिम्मा लिने नराम्रो भयो भने त्यसको अरुलाई लगाउने, आफै गरेका काममा पक्षपोषण गर्न सकिएन भने उहाँको कामलाई सहयोग गर्नेहरुलाई अगाडि सार्ने र उनीहरुले गर्दा नै यो सबै भएको भनेर भन्ने चलन छ । 

एउटा हुँदा खाँदाको पार्टी नेपाली जनताले विश्वास गरेको त्यस्तो पार्टीलाई फुटाएर उहाँहरु हिँड्नु भएको छ । यो पुनःस्थापनाले यो बीचमा भएका क्रियाकलापलाई पनि पुनःस्थापित गर्नुपर्छ । यद्धपी सर्वोच्च अदालतले गरेको निर्णय हाम्रो पार्टीभित्र लागू हुँदैन । पार्टीभित्र पार्टीको विधान लागू हुन्छ । त्यसैले पार्टीका नेताहरुले त्यो गर्नुभएन भने हामी पार्टी एकता राष्ट्रिय अभियानमा सामेल भएकाहरुले एकता गर्नको निम्ति पहलकदमी गर्छौं र यो निरन्तर अगाडि बढ्छ । 

हिजो जसले निर्णय गरेको थियो त्यो निर्णय असंवैधानिक भइसकेको अवस्थामा अब एकताका लागि कसले पहल गर्नुपर्छ ? 
जसले मैले जितेको छु भनेर भन्नुभएको छ उहाँबाट शुरु हुनुपर्ने हो । हिजो प्रचण्डले विभिन्न मिडियामा बोल्नुभएको प्रतिक्रिया मैले सुने । उहाँले चाल्नुभएको कदम सही सावित भएको छ केपी ओलीले चाल्नुभएको कदम गलत सावित भएको छ र त्यो असंवैधानिक छ भनेर भन्ने छ । यस्तो अवस्थामा फेरी पुनः पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो । उहाँले भन्नुपर्ने हो । पराजित भएको (ओली)ले भनेर त अरुले मान्दैनन् । त्यसैले जसले आफूलाई म विजयी भए भनेर भन्छ उसले भन्ने हो । तर प्रचण्डले त्यस्तो भन्नुभएको मैले पाइन । पार्टी एकता हुन्छ पार्टी एकता गर्नुपर्छ अब सबै साथीहरु एकजुट हुनुहुन्छ म उहाँहरुलाई आव्हान गर्छु एकता हुनको निम्ति भनेर भन्नु भन्दा अब सबै मैले बनाएको पार्टीमा आउनुहोस् भनेर भन्नुहुन्छ । त्यो भएर जिम्मेवारी कसैले पनि लिनुभएन । लिनुपर्ने जिम्मेवारी यसपटक प्रचण्डले हो । माधव नेपालले हो  । पार्टी फुटिसक्यो त्यो फुटेको पार्टी गइसक्यो अब हामीसँग भएको पार्टीमा आउनुपर्छ भन्ने उहाँहरुको अभिव्यक्ति पाइयो । त्यो अभिव्यक्ति उहाँहरुको निम्ति त सही होला तर मलाई राम्रो लागेन । 

अब तपाईं के गर्नुहुन्छ ?
मैले औपचारिक र अनौपचारिक रुपमा एकताको निम्ति प्रयत्न गर्ने हो । पहिला म दुईवटा अध्यक्षलाई नै गएर भन्छु महासचिवलाई भन्छु पार्टी एकताको निम्ति पहल गर्नुहोस् भनेर । केपी ओलीले असंवैधानिक काम गर्नुभयो तर असंवैधानिक काम गरेपछि सर्वोच्च अदालतले त्यसलाई सुधार गरिसक्यो । उहाँको कदम असंवैधानिक छ भनिसकेपछि उहाँले पार्टीमा फर्केर आएर आत्मालोचना गर्नुपर्छ । मैले यस्तो गरें त्यसको सजाय सर्वोच्च अदालतको संवैधानिक इजलासले दिइसकेको छ अव म आत्मालोचना गर्दै एकीकृत पार्टीमा आउँछु र अरुहरुपनि हामी एकीकृत पार्टीलाई अगाडि बढाउनको निम्ति लागौं भनेर उहाँले भन्नुपर्ने हो । उहाँले त्यो भनेको अहिले सम्म मैले सुनेको छैन । त्यसो भएर हामीहरुले नै सबै काम गर्नुपर्ने भयो । अरु एकताको पक्षमा रहेका साथीहरु जति हुनुहुन्छ अब हामी एकतावद्ध हुन्छौं र नेतृत्वलाई हामीले एकतामा आउनको निम्ति एकतावद्ध हुनको निम्ति एउटा ठूलो दबाब सिर्जना गर्ने हो त्यो गर्छौं । 

सर्वोच्च अदालतको हिजोको निर्णयबाट सरकार प्रमुख र राष्ट्रपति माथि नैतिकताको प्रश्न उठ्छ की उठ्दैन ? 
नैतिकताको प्रश्न नीति मान्नेहरूलाई उठ्दो रहेछ । जसले नैतिकता मान्दै मान्दैन उसको निम्ति नैतिकताको प्रश्न पनि उठ्दो रहेनछ । तर म के ठान्छु भने लामो समय कम्युनिष्ट आन्दोलनमा लागेकाहरूले यो नैतिकता बुझ्नुहुन्छ । त्यो भएर प्रधानमन्त्री ओलीले चाल्नु भएको कदम असंवैधानिक भइसकेपछि उहाँले गर्नुभएको काम गलत भइसकेपछि आफूलाई सच्याउनुको निम्ति राजीनामा तुरुन्तै गर्नुपर्छ । हिजै राजीनामा गर्नुपथ्र्यो । सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तीकै राजीनामा गर्नुपथ्र्यो अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन । म फेरीपनि यही सूचना केन्द्रबाट भन्न चाहन्छु उहाँले तुरुन्तै राजीनामा गर्नुहोस् । राजीनामा गरेर पार्टी एकताको आव्हान गर्नुहोस् । मैले गल्ती गरेको थिए म आफूलाई सच्याउन चाहन्छु त्यसबापत मैले राजीनामा गरिसकेको छु र अब नयाँ किसिमले एकतावद्ध भएर अगाडि बढौं भनेर उहाँले भन्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप