बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पेरिसडाँडा बैठकः सत्ता साझेदारी गर्न प्रचण्ड–माधव समूहसँग जसपाले राख्यो शर्त

बिहीबार, १३ फागुन २०७७, ११ : ४५
बिहीबार, १३ फागुन २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले सरकार निर्माणका बारेमा जनता समाजवादी पार्टी नेपालसँग छलफल गरेको छ । आज विहान नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वयले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठसँग छलफल गरेको स्रोतले जनाएको छ । छलफल सकारात्मक भएको र छलफललाई निरन्तरता दिने सहमति भएको छ ।

छलफलमा जसपा नेपालका नेताहरुले सरकारमा सहभागी हुनका लागि केही सर्त अगाडि सारेका छन् । जसपाका नेताहरुले संविधान संशोधन, रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाइ भएपछि मात्र सरकारमा सहभागी हुनका लागि छलफल गर्न सकिने धारणा राखेको स्रोतले जनाएको छ । विगतमा पनि सहकार्यको नाममा उधारो सहमति गरेर सरकारमा सहभागी गराइएको तर ती सम्झौताहरु कुनै कार्यान्वयन नभएको गुनासो उनीहरुको रहेको स्रोत जनाएको छ ।

जसपा नेपालले साझा एजेण्डाको माग पनि गरेको छ । अब बन्ने सरकारले संविधान संशोधन, आन्दोलनका क्रममा थुनामा रहेका नेतालाई रिहाइ लगायतका विषयलाई साझा एजेण्डा बनाए मात्र सत्ता सहकार्यका लागि छलफल गर्ने कुरा राखेको छलफलमा सहभागी एक नेताले बताए । 

त्यस विषयमा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले मधेशको माग पुरा गर्न आफूहरु शुरुदेखि सकारात्मक रहेको त्यसका लागि प्रयास पनि गरेको आउने दिनमा पनि त्यसको बारेमा छलफल गरेर अगाडि बढ्न सकिने बताएका थिए ।

छलफलमा आगामी दिनमा सहकार्य गरेर जानको निम्ति नेकपा प्रचण्ड माधव पक्षले प्रस्ताव गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताए । छलफलमा जसपा नेताहरुले प्रचण्ड–माधव पक्षको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेको पनि उनले बताए । आफूहरुले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको पनि वरिष्ठ नेता महतोले बताए । उनले भने, ‘कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ की भनेर कुराहरु राख्नुभयो । हामीले के जिज्ञासा राख्यौँ भने तपाईंको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो । त्यो के हो ? अलमल छ, त्यो प्रष्ट हुनुस् र तपाईहरुले राखेका सबै कुराहरु हाम्रो पार्टीको बैठकमा हामी राख्छौँ ।’

वरिष्ठ नेता महतोले भने ‘हाम्रा आन्दोलनकारी साथीहरु, निर्वाचित सांसद रेशम चौधरी लगायतले अहिले पनि बन्दी जीवन बिताइरहेका छन् । यी सवालहरू छन्, यी समस्याहरु छन् । त्यसैले आगामी दिनमा हामी यी सवालहरू हाम्रो प्राथमिकताका साथ उठाएका छौँ र आगामी दिनमा पनि उठ्ने छौं र यसको लागि संघर्ष गर्छौं । संविधानमा रहेका त्रुटीहरु, कमिकमजोरीहरु र बन्दी रिहाइका सवालहरु समेत जुनसुकै सरकार बनेपनि त्यसको अगाडि संघर्ष गर्ने हो । विगतमा पनि संघर्ष गरेको हो । आगामी दिनमा पनि संघर्ष गर्ने हो । यही कुरा भन्यौँ ।’

सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुनःस्थापनाको फैसला सुनाएसँगै आगामी दिनमा सत्ता समीकरणको लागि नेकपा प्रचण्ड–माधव पक्षका नेताहरुले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप