शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संगठित रुपमै अर्गानिक चिया उत्पादनमा होमिदै इलामेली, समस्या बजारको

जिल्लामै रिसर्च सेन्टर खुल्दै
बिहीबार, १३ फागुन २०७७, १२ : ०८
बिहीबार, १३ फागुन २०७७

काठमाडौं । चिया उत्पादनको हब इलाममा रेन फरेन्ट एलाइन्समा चिया उत्पादन शुरु भएको छ । रासायनिक पदार्थलाई पूर्णतः विस्थापित गर्दै जिल्लामा अर्गानिक अर्थात् रेन फरेन्ट चिया उत्पादनको थालनी भएको हो । पछिल्लो समय विश्व बजारमा अर्गानिक चियाको माग बढ्दै जान थालेपछि इलामेली कृषकहरु रेन फरेन्ट खेती तर्फ आकर्षित भएका हुन् । त्यसो त विश्व बजारमा दिन प्रतिदिन अर्गानिक चियाको माग बढेसँगै चियाको उचित मूल्य समेत पाउने भएपछि कृषकहरु तीन वर्षे कार्यलक्ष्य नै बनाएर रेन फरेन्टमा जान तयार भएका हुन् ।

गत वर्षदेखि अर्गानिक खेती शुरु गरेका कृषकहरुले चालु आर्थिक वर्षमा रासायनिक प्रणालीयुक्त खेतिलाई अधिकतम ३० प्रतिशतमा झार्ने र आउँदो वर्ष यस्तो परिणाम पूर्णतः शून्यमै झारी उत्पादनलाई शतप्रतिशत अर्गानिकतामा लैजाने योजनामा आफुहरु लागेको कृषकहरुले बताएका छन् । ‘कम्तिमा तीन वर्षमा पूर्णतः अर्गानिकतामा जाने हाम्रो लक्ष्य हो । गत वर्षदेखि शुरु भएको यो अभियानमा अहिले हामी दोस्रो वर्षमा छौं । यस वर्ष अधिकतम ७० प्रतिशत उत्पादनलाई अर्गानिकतामा लैजाने र अर्को वर्ष सतप्रतिशत नै अर्गानिक बनाउने हाम्रो योजना छ ।’

इलाम कन्यामका एक चिया उत्पादक कृषक तुलसीराम भट्टराईले भने, ‘तर, यो त्यति सजिलो भने छैन । अर्गानिकतामा जाँदा उत्पादन कम हुने हुँदा कृषकहरूमा व्यवसायीकताको चुनौती छ । तर मूल्य र खपतका हिसाबले भविष्य राम्रो छ । त्यसैले हामी यो अभियानमा लागेका हौँ ।’ 

त्यसो त अहिले इलाम सूर्योदय नगरपालिका कन्यामका १६५ जना कृषकहरु संगठित रुपमै अर्गानिक चिया उत्पादनमा लागेका छन् । यसको नेतृत्व गरेको छ कृषकहरुबाटै सञ्चालित ‘कन्याम चिया उत्पादक सहकारी संस्था’ले । संस्थाले कृषकहरुलाई संगठित मात्र गरेको छैन अहिले नगरपालिकामै उद्योग स्थापना गरि उत्पादित चियालाई प्रशोधन गरेर बजारमा समेत पठाउने गरेको छ । सिजनको बेला संस्थाद्वारा सञ्चालित उद्योगबाट दैनिक अधिकतम ६ हजार किलो अर्थात् ६ टन सम्मको तयारी चिया उत्पादन हुने गर्छ । यद्यपि उद्योगको उत्पादन क्षमता भने दैनिक ४ हजार किलो मात्र हो ।

अर्गानिक उत्पादनका लागि सहकारी बैंकबाट २ करोड ऋण

रेन फरेन्ट अर्थात् अर्गानिक चिया उत्पादनकै लागि कन्याम सहकारीले राष्ट्रिय सहकारी बैंकबाट २ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा ल्याएको छ । गरिबी निवारण कर्जा शीर्षकमा ७.५ प्रतिशत ब्याजदरमा १ करोड ७५ लाख रुपैयाँ र लघु कर्जा शीर्षकमा १० प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँ बैङ्कबाट कर्जा लिएको हो ।

संस्थाले लघु कर्जा घटाएर गरिबी निवारण कर्जा लिन चाहेको र त्यस्तो कर्जाका लागि बैंकले अफर गरे थप कर्जा लिने र उत्पादनमा वृद्धि गर्ने आफुहरुको योजनामा रहेको सहकारीका व्यवस्थापक सूर्यबहादुर खड्काले बताए ।

उनका अनुसार हाल संस्थामा आबद्ध १ सय ६५ जना कृषक सदस्यहरुबाट एक सय २० हेक्टर क्षेत्रफलमा चिया उत्पादन भइरहेको छ । जहाँबाट वार्षिक ९ लाख केजी तयारी चिया उत्पादन हुने गरेको छ । जसमध्य ४ लाख अन्य फ्याक्ट्रीमा गएपनि ५ लाख केजी भने संस्थाकै चिया फ्याक्ट्रीमा आउने गरेको व्यवस्थापक खड्को भनाइ छ ।

सिजनमा एक कृषकले न्यूनतम ५० हजारदेखि अधिकतम १५ लाख रुपैयाँसम्म आम्दानी गर्छन् ।

यता संस्थाले भने कृषकहरूबाट उत्पादित कच्चा चिया प्रशोधन गरेर नै वार्षिक १५ लाख रुपैयाँसम्म नाफा गर्ने गरेको कन्याम चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष ख्यामराज प्रधानले रातोपाटीसँग बताए ।

समस्या बजारको

इलामबाट प्रसस्त मात्रामा चिया उत्पादन भइरहेपनि विस्तारै बजारको अभाव देखिन थालेको चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष ख्यामराज प्रधान बताउँछन् । हालसम्म उत्पादित चियाको ठूलो परिमाण भारतीय बजारमा जाने गरेको भएतापनि गुणस्तरको कारण पछिल्लो समय खपत घटेको प्रधानको भनाइ छ । यद्यपि अर्गानिक चियाको भने राम्रै डिमान्ड रहेको उनले बताए । 

उत्पादन र खपतको हिसाबले भारतीय बजार मात्र प्रयाप्त नभएकोले अहिले संस्थाले भारतका साथसाथै अन्य विदेशी बजार र आफ्नै स्थानीय बजारको समेत खोजि गर्न थालिएको उनको भनाई छ ।

गत आर्थिक वर्षमा संस्थाले १ लाख १० हजार केजीभन्दा बढी तयारी चिया भारत निर्यात गरेको थियो । जसबाट संस्थाले कुल ३ करोड ४८ लाख ४६ हजार रुपैयाँ भित्र्याउन सफल भएको थियो ।

तर, संस्थाले वार्षिक अधिकतम १ लाख ३० हजार केजीसम्म उत्पादन गर्ने हुँदा चिया खपतका लागि बजारको अभाव पर्नेभएको हो । यसमा केही हदसम्म सरकारको निर्यात नीतिले समेत समस्यामा पारको अध्यक्ष प्रधानको भनाइ छ ।

‘स्वदेशी उत्पादनलाई विदेश निर्यातमा सहजता दिनुपर्ने हो । त्यसमा अझ बढि प्राइभेटको तुलनामा सहकारीले प्राथमिकता पाउनुपर्ने हो । तर त्यस्तो छैन । हाम्रो निर्यात नीति अत्यन्त कमजोर र झन्झटिलो छ । यसले हामीले चाहेर पनि सहज रुपमा चिया निर्यात गर्न पाइरहेका छैनौँ । यस्तो झन्झटिलो नीति तत्काल खारेज गरि सरकारले सहजीकरण गरिदिनुपर्छ’ अध्यक्ष प्रधानले भने ।

त्यसो त अध्यक्ष प्रधानका अनुसार चिया निर्यातमा स्थानीय नगरपालिकाले भने केही राहत दिएको छ । चिया निर्यातमा नगरपालिकाले निश्चित मूल्यको अनुदान दिने गरेको छ । जति मूल्य बराबरको चिया निर्यात हुन्छ त्यसको ५ प्रतिशतले संस्थालाई नगरपालिकाले अनुदान उपलब्ध गराउने गरेको छ । तर यो रकम कृषकहरुलाई नै दिने गरेको अध्यक्ष प्रधानको भनाइ छ ।

रिसर्च सेन्टर स्थापना हुँदै

इलामको सूर्याेदय गाउँपालिकामा स्थानीय तह र प्रदेश सरकारले रिसर्च सेन्टर र चिया टेस्टिङ सेन्टर बनाउन सुरु गरेका छन् । तीन वर्षमा सक्ने योजनाका साथ निर्माणको काम भइरहेको छ ।

सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राईले सहकारीलाई प्राथमिकतामा राखेर चिया उत्पादनमा जोड दिइएको बताए । अर्गानिक चिया उत्पादनकै लागि नगरपालिकाले सहकारीलाई ५० प्रतिशतसम्मको अनुदान समेत दिएको उनले बताए छ ।

‘चियाको क्रोन छैन । रिसर्च गरेर क्रोन बनाउने काम गर्नका लागि नगरपालिकाले पूर्वाधार निर्माण सुरु गरेको छ । रिसर्च सेन्टर बनेपछि आफ्नै ठाउँमा चियाको परीक्षण गर्ने देखि मार्केटिङ गर्न समेत सहज हुने हाम्रो बुझाइ छ,’ नगरपालिका प्रमुख राईले भने, ‘यसले सहकारीको मात्र नभइ अन्य कृषकहरु तथा जिल्ला सञ्चालित उद्योगहरुको उत्पादनलाई समेत बजारीकरणमा सहजता मिल्ने हाम्रो विश्वास छ ।

हाल सूर्योदय नगरपालिका कन्याममा मात्र यस्ता ६३ वटा चिया प्रशोधन उद्योग सञ्चालित छन् ।

यसरी गरिन्छ मेसिनरी प्रविधिमार्फत् चियाको प्रशोधन : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप