बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओली वर्तमान युगको कालिदास सावित हुनुभयो : राजेन्द्र श्रेष्ठ

बिहीबार, १३ फागुन २०७७, २० : १०
बिहीबार, १३ फागुन २०७७

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भविष्य अँध्यारो सुरुङमा पसिसकेको टिप्पणी गरेका छन् । 
उनले भने,‘उहाँ आफूले खनेको खाल्डोमा आफै फस्नुभएको छ । उहाँले आफ्नो खुट्टा आफैँ काट्नुभएको छ । कालिदासले हाँगामा बसेर रुख काटेजस्तै, केपी ओली भनेको वर्तमान युगको कालिदास सावित हुनुभएको छ । अब मेरो विचारमा केपी ओलीजीको पार्टीको मान्यता समाप्त हुन्छ । उहाँले या त नयाँ राजनीतिक पार्टी गठन गर्नुपर्यो, या त राजनीतिबाट सन्यास लिनुपर्ने अवस्था छ । अलिकति पनि इज्जत जोगाउने हो भने नैतिकताको आधारमा राजीनामा दिँदा राम्रो हुन्छ ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका पनि सन्तोषजनक नभएको टिप्पणी गरे । राष्ट्रपतिले संविधानको रक्षा नगरेको उनको गुनासो छ । ‘राष्ट्रपति अब आलंकारिक हुँ भन्दैमा प्रधानमन्त्रीले यो अमृत हो भनेर घाँस वा विष दिएपनि खाने हो त ? संविधानको धारा हेर्नुपर्छ कि पर्दैन ?,’श्रेष्ठको प्रश्न छ । 
प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई उनले स्वागत गर्दै भने, ‘सम्मानित सर्वोच्च अदालतले विवेकपूर्ण र संविधानसम्मत निर्णय दियो । हाउस डाक्ने कुरा पनि भन्यो । प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई पनि आदेश दिएको छ । सभामुखलाई संसद बोलाउन सक्ने परमादेश दिएको छ । १३ दिनभित्र संसद बैठक बस्छ ।’

नेता श्रेष्ठले अब कसरी अघि बढ्ने ? भन्ने सन्दर्भमा आफूहरुले काँग्रेस र नेकपा–दाहाल नेपाल समूहलाई ठोस धारणा बनाउनका लागि सुझाव दिएको पनि सुनाए ।  काँग्रेस, नेकपा दाहाल–नेपाल समूह र जसपा तीन दलको संयुक्त रुपमा प्रधानमन्त्रीको उम्मेदवारको नाम अघि बढ्छ ? भनेर सोधिएको प्रश्नमा उनले भने–‘तीन दल हुन्छ कि काँग्रेस र नेकपा मात्रै हुन्छ ? यो टुङ्गिएको छैन् । नेकपाको आन्तरिक विभाजन जो छ, कानुनी रुपमा पूर्णता पाओस् । तर, गठबन्धन चाही प्राकृतिक हुनुपर्छ । अग्रगामी हुनुपर्यो । समृद्धि र सुशासनतर्फ जाने खालको हुनुपर्छ । विगतको समस्याहरूको एक–आपसमा बसेर समीक्षा गरौं । नयाँ आधारहरू कसरी बन्छ ? अनि मात्रै तय हुन्छ ।’

नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालसँग आफूसहित जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको भेटवार्ता भएको उल्लेख गर्दै उक्त भेटमा दाहाल–नेपालले आजको नयाँ परिस्थितिमा अब कसरी बढ्ने भन्नेबारे छलफल गर्ने कुरा राखेको पनि उनले सुनाए । 

श्रेष्ठले यसअघि नै संसदमा दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव राखेको अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे जिज्ञासा राखेको पनि सुनाए । जवाफमा दाहाल–नेपालले हिजो मात्रै नेपाली काँग्रेससँग वार्ता गरेको सुनाएका थिए । दाहाल–नेपालले भनेको कुरा सुनाउँदै उनले भने, ‘हिजोको परिस्थितिमा समस्या टार्नको लागि, ओलीजीको कदम रोक्न त्यो कदम चाल्यौँ । तर, उहाँहरुले संसद् विघटन गर्नुभयो । आजको नयाँ परिस्थितिमा तीन वटा पार्टी हामी, काँग्रेस र तपाईँहरू बसौं, जसको नाममा सहमति हुन्छ, त्यसलाई वैकल्पिक प्रधानमन्त्रीसहित नयाँ प्रस्ताव  दर्ता गर्न सकिन्छ ।’

उनले अहिले नै को प्रधानमन्त्री बन्छ ? भनेर न्वारान गर्ने बेला भइनसकेको पनि टिप्पणी गरे । श्रेष्ठले भने,‘पहिला बच्चा जन्मनुपर्यो । अनि मात्रै न्वारान हुन्छ । कसको समीकरण बन्छ ? भन्ने कुरा बाहिर आउनुपर्छ । नेकपा राजनीतिक रुपमा विभाजन भएपनि कानूनी रुपमा विभाजन भएको छैन् । अहिले बहुमतको विपक्ष भैरहेको छ । यो अवस्था सिर्जना भैरहेको छ । कानुनी रुपमा पनि मान्यता प्राप्त हुनुपर्छ । औपचारिक रुपमा विभाजन भएपछि नै प्रक्रिया अघि बढ्छ । अहिले यो कुरा जगजाहेर छ । राजनीतिक रुपमा विभाजन भयो नेकपा । कानूनी रुपमा एउटै छ । विभाजनको प्रक्रिया पूरा भएको छैन् । अनि मात्रै थप छलफल हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप