शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची परीक्षणः सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द

बिहीबार, १३ फागुन २०७७, २२ : २५
बिहीबार, १३ फागुन २०७७

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल स्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ । यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६.५ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । सुन्दरीजल सो सुरुङको अन्तिम बिन्दु हो ।

मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको आयोजनाका साइड इञ्जिनीयर ब्रह्मलाल राजभण्डारीले जानकारी दिए । सुरुङमा हालिएको पानी लिकेज भएर क्षति हुन सक्ने भएकाले ढोका बन्द गर्ने  र अन्य तयारी भइरहेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको तिम्बुमा पर्ने सो आयोजनाको मुहानबाट छोडिएको पानी सुन्दरीजल आइपुग्न कम्तीमा १५ दिन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । पानी हालेको चार दिन बित्दा तीन किमी सुरुङ पार भएको जनाइएको छ ।

 परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङ मार्गबाट सुन्दरीजल आइपुग्ने छ । पानी आएपछि यहाँ निर्माण भएका साढे आठ करोड लिटरका दुईवटा प्रशोधन केन्द्रमा प्रशोधन गरी वितरणका लागि पठाउने तयारी छ । दुवै केन्द्रको कामसमेत सम्पन्न भइसकेको छ । ती केन्द्रमा वाग्मतीको पानी हालेर सामान्य परीक्षणसमेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप