ad
केन्द्रीय संस्करण

कविता: चप्पल

person explore access_timeफागुन १५, २०७७ chat_bubble_outline0

सदीयौदेखि समय समयमा 
एउटै गति र लयमा 
केही जोर प्रतिनिधि चप्पल
चालिरहेछन् “उन्मुक्ति” नामको यात्रा

ती चप्पलहरू
छर्छन् सपना सुन्दर बाटोको 
हिँड्दा नबिझाउने माटोको
भन्छन् 
“हामीले जित्यौँ भने
हामी दरबारमा छिर्यौँ भने
हिँड्नु पर्दैन कसैले तीखा गिट्टीहरुमा
च्यातिनु पर्दैन कसैको कुर्कुच्चामा”
अनि 
लामबद्ध हुन्छन् बाँकी चप्पलहरू पनि 
छोडेर 
पढ्दै गरेको ज्ञान
बुन्दै गरेको तान 
खन्दै गरेको कुलो
फुक्दै गरेको चुल्हो
छर्दै गरेको फापर
बोक्दै गरेको ढाकर

अन्तत:
ढाल्छन् गर्ल्याम्म निरङ्कुशता 
फाल्छन् फुत्त प्रतिगमन 
अनि
ती प्रतिनिधि चप्पलहरू
चाल्छन् पाइला फिटिक फिटिक दरबारभित्र 
थाल्छन् खल्याङ् बल्याङ् कुर्सीको भागबण्डा 
हाल्छन् खत्र्याङ खुत्रुङ गोजीमा 
टाल्छन् प्यात्त प्यात्त आफ्नै महलका भित्ता 
अब
दरबार छिरेका चप्पलहरु 
चप्पल रहँदैनन् 
टिलिक्क टल्किने जुत्ता बनेर
कहिले माटोमा टेक्दैनन् 
बिचरा ती 
संगै आन्दोलनमा खिएका चप्पलहरूले 
उनिहरुलाई कहिले देख्दैनन्, भेट्दैनन् 

जब 
मिल्दैन भाग बराबर दरबारमा
अटाउँदैनन् सबै सरकारमा 
अचानक केही जोर जुत्ता
निस्किन्छन् दरबार बाहिर चप्पल बनेर 
निरङ्कुशता ढलेकै छैन भनेर
फेरी लामबद्ध हुन्छन् पछि पछि 
ती नै चप्पलहरू
जो वर्षौदेखि 
मिचिएका छन् कुर्कुच्चाले
थिचिएका छन् ढाकरले 
बसेका छन् नयाँ आस बोकेर
भोक अनि सोक छोपेर 
फेरी 
गल्छ प्रतिगमन
ढल्छ निरङ्कुशता
पस्छन् ती नै प्रतिनिधि चप्पलहरू दरबारमा
बस्छन् फेरी सरकारमा 
भर्छन् फेरी आफ्नै भण्डारमा 
बिचरा ती 
दरबार बाहिरका चप्पलहरूले 
गाँस्न पाएका छैनन् चुट्टिएको लोति
टाल्न पाएका छैनन् च्यातिएको कुर्कुच्चा
जोड्न पाएका छैनन् फुस्किएको गाठो 
भर्न पाएका छैनन् खिएको औँला

अझै पनि 
केहि जोर चप्पलहरूले त
हेर्न पाएका छैनन् मन्दिरभित्रको भगवान 

भुवन रोका “मित्रजी”

खोटाङ, नेपाल

हाल: टोकियो, जापान

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.