शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘मलाई दया होइन सम्मानको आवश्यकता छ’, नेहा कक्कडले पाँच लाख दिँदा गीतकार सन्तोष आनन्दले यसो भने

शनिबार, १५ फागुन २०७७, १३ : २८
शनिबार, १५ फागुन २०७७

बलिउडलाई थुप्रै सुपरहिट गीत दिने चर्चित गीतकार सन्तोष आनन्द आजकाल सोसल मिडियामा चर्चाको विषय बनेका छन् । हालै गीतकार सन्तोष आनन्द र नेहा कक्कडको एउटा भिडियो भाइरल भयो जसमा मानिसहरुलाई लाग्यो कि सन्तोष आनन्दको अवस्था टिक छैन । तर गीतकारले यो कुरा अस्विकार गरेका छन् । 

वास्तवमा सिङ्गिङ रियालिटी शो इन्डियन आइडलमा पछिल्लो पुस्ताका चर्चित गीतकार ८१ वर्षका सन्तोष आनन्द उपस्थित भएका थिए जहाँ उनलाई कार्यक्रमकी निर्णायक नेहा कक्कडले पाँच लाख भारु दिएकी थिइन् । सुरुमा त गीतकारले यो लिन अस्विकार गरेका थिए तर नेहा कक्कडले मनाएपछि उनले उक्त भेट स्विकार गरेका थिए । अब गीतकारले यसबारे कुराकानी गरेका छन् । 

गीतकार सन्तोषले एक कलाकारलाई इज्जत र सम्मान चाहिएको बताए । उनले भने, ‘मलाई याद गरिएकोमा राम्रो लाग्यो तर केही यस्ता कुरा भए जुन गलत हुन् ।’

उनले थपे, ‘मेरा घर राम्रोसँग चलिरहेको छ । नेहा निकै राम्रो मानिस हुन् । जब उनले मलाई पाँच लाख भारु दिने घोषणा गरिन् तब मैले त्यो लिन नसक्ने बताए । म एक स्वाभिमानी व्यक्ति हुँ । मैले कहिले पनि न कोहीसँग पैसा मागेँ न कसैसँग माग्नेछु । मैले कहिले पनि कसैको मद्दत मागेको छैन । म कवि सम्मेलनमा भाग लिन्छु र त्यसबाट पैसा कमाउँछु ।’

गीतकार भन्छन्, ‘मलाई केही समस्या नै छैन भने मैले किन मद्दत माग्नुपर्यो । नेहाले मलाई यो उपहार किन दिइन् त्यो मलाई थाहा छैन । यदि उनले ‘एक नातिनीले दिएको उपहार सम्झेर लिनुहोला’ नभनेको भए म यो कहिल्यै पनि स्विकार गर्ने थिइनँ । र त्यसपछि मानिसहरुले धेरै थरी कुरा गर्न थाले जुन वास्तविक होइन । स्टेजमा बोलाइयो, सम्मान दिइयो यति मात्रै थियो । सम्मान र मद्दतमा फरक छ । मलाई मद्दत चाहिँदैन । ’

स्मरण रहोस्, सोसल मिडियामा नेहा कक्कड र शोका निर्मातामाथि बेस्सरी ट्रोल भइरहेको छ । प्रयोगकर्ताले च्यानलले टिआरपीका लागि गीतकारको लाचारीको फाइदा उठाएको आरोप लगाइरहेका छन् ।

स्मरण रहोस्, गीतकार सन्तोष आनन्दले आफ्नो करियरमा सयभन्दा बढी फिल्मी गीत लेखेका छन् । फिल्म ‘रोटी कपडा और मकान’ को गीत ‘मैं ना भूलूंगा’  का लागि उनले सन् १९७४ मा सर्वश्रेष्ठ गीतकारको फिल्मफेयर अवार्ड पाएका थिए । 

त्यसको ९ वर्षपछि सन् १९८३ मा पनि सन्तोष आनन्दलाई फिल्म प्रेम रोगको गीत ‘मोहब्बत है क्या चीज हमको बताओ...’ का लागि दोस्रो फिल्मफेयर पुरस्कार प्रदान गरियो । उत्तर प्रदेश सरकारले सन् २०१६ मा उनलाई यश भारती पुरस्कारबाट सम्मानित गर्यो । 

। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप