ad
केन्द्रीय संस्करण

धरातल बिर्सेर केपी ओलीले आफूलाई महाराजधिराज सम्झिएः प्रचण्ड

person explore access_timeफागुन १५, २०७७ chat_bubble_outline0

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताएका छन् । 
शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू जन्मिएको धरातल बिर्सेर प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिएको टिप्पणी गरेका हुन् ।  कम्युनिष्टहरुले हिजो जुन वर्गको विरुद्धमा विद्रोह गरे त्यही वर्गलाई अहिले केपी ओलीले साथ दिएको पनि बताए । उनले भने, ‘पार्टी भित्रैपट्टिबाट वर्गउत्थान भएका केही नेताहरु जो विपरित वर्गको स्वार्थसँग आत्मसमर्पण गर्छन् र उनीहरुको प्रलोभनमा फस्छन् र उनीहरुका एजेन्ट हुन्छन् र आफ्नो वर्गलाई धोका दिन्छन् । आफू जहाँबाट जन्मिएको हो त्यो धर्ती उनीहरुले विर्सिन्छन् र आफूलाई हिजो जसका विरुद्ध लडाइँ गरेको हो हिजो जसका विरुद्ध विद्रोह गरेको हो त्यही वर्गको प्रतिनिधि जस्तो ठान्न पुग्छन् । अहिले तपाईहरु हेर्नुभयो भने कताकता केपी ओलीले आफूलाई महाराजधिराज नै भएजस्तो ठान्छन् ।’

आफूलाई महाराजधिराज ठान्न थालेदेखि पार्टीको बैठकमा बस्न नपर्ने, आफ्नो आलोचना पनि नसुन्ने र आफूले भनेको कुरालाई ब्रम्हब्याख्याको रुपमा अरु सबैले मानिदिनुपर्ने प्रवृति केपी ओलीमा देखिएको पनि अध्यक्ष प्रचण्डले बताए । उनले भने,  ‘बैठकमा बस्न पनि नपर्ने, आलोचना सुन्न नी नसक्ने, आफूले भनेपछि त्यो ब्रम्हव्याख्या जस्तो सबैले मानिदिनु नै पर्ने नमान्ने मान्छे अगाडि देख्नै नहुने यो महाराजधिराजहरु कै चरित्र हो नी त । आलोचना सहन पनि नसक्ने सुन्नपनि नसक्ने बैठक बहस भन्ने पटक्कै मन नपराउने आफू नेतृत्वमा पुग्नको लागि जस्तोसुकै कुराको पनि सम्झौता गरिदिने कार्यान्वयन एउटा पनि नगर्ने ।’

आफू सत्तामा पुग्नका लागि जस्तो पनि सम्झौता गर्ने र सम्झौता भइसकेपछि कार्यान्वयन नगर्ने प्रवृति प्रधानमन्त्री ओलीमा रहेको पनि अध्यक्ष प्रचण्डले बताए । पार्टी एकता हुँदा भएका कुनैपनि सहमति प्रधानमन्त्री ओलीले नमानेको र आफुलाई महाराजधिराज जस्तो ठान्ने गरेको बताए । उनले भने, ‘निर्णय भइसकेपछि लागू नगर्ने, आलोपालो अध्यक्षता पनि लागू नगर्ने, आलोपालो प्रधानमन्त्री पनि लागू नगर्ने र राजनीतिक प्रतिवेदनको कुनैपनि आफैले हस्ताक्षर गरेको कुरा लागू नगर्ने, अन्तरिक विधानको कुनैपनि प्रावधान लागू नगर्ने, आई एम द स्टेट भन्याजस्तो गरी श्री ३ महाराजधिराज, अस्ति बहसमा सुनिनै हाल्नुभयो श्री ३ महाराज र श्री ५ महाराजधिराज जस्तै प्रधानमन्त्रीलाई पनि अधिकार छ भनेर बोल्ने पञ्चायतका वरिपरिका मान्छे त तपाईहरुले देखिसक्नुभयो । सच्चाइ यही नै हो ।’

कम्युनिष्ट पार्टीकै नेतृत्वबाट बनेको संविधान र त्यसको मर्ममाथि प्रधानमन्त्री ओलीबाट निर्मम खालको प्रहार भएको पनि बताए । सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै उल्ट्याउने दिशातिर केपी ओली लागेको पनि अध्यक्ष प्रचण्डले आरोप लगाए । 

प्रचण्डलाई उपयोग गरी माधव कुमार नेपाललाई निचोर्ने र प्रचण्डलाई पनि खिचिक्कै पार्छु भन्ने रणनीतिमा केपी ओली लागेको पनि बताए । यो कुरा आफूले पार्टी एकता गरेको एक महिनामा नै बुझिसकेको पनि अध्यक्ष प्रचण्डले बताए ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.