शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीमा नैतिकता र इमानदारिता भन्ने चिज छैन : गोकर्ण बिष्ट

शनिबार, १५ फागुन २०७७, १८ : ५१
शनिबार, १५ फागुन २०७७

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रचण्ड नेपाल पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री गोकर्ण बिष्टले काम चलाउ सरकारका प्रधानमन्त्री केपी ओलीमा नैतिकता र इमानदारिता भन्ने चिज  नै नरहेको आरोप लगाएका छन ।

शनिवार  प्रचण्ड नेपाल पक्षको नेकपा गुल्मी जिल्ला पार्टीले सदरमुकाम तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता बिष्टले यस्तो आरोप लगाएका हुन् । नेता बिष्टले  भने, ‘पार्टी एकता गर्दा केपी ओलीले साढे दुई बर्ष र प्रचण्डले साढे दुई बर्ष आलोपालो सरकार चलाउने सहमति भएको थियो । तर प्रचण्डले ठीकै छ ५ बर्ष पुरै कार्यकाल तपाईंले  प्रधानमन्त्री चलाउनुस् म पार्टी चलाउँछु भनेर प्रधानमन्त्रीको कुर्सी सुम्पिने उनै प्रचण्डलाई भनिँदै छ पदको लोभी भनेर । ’

ओलीलाई  प्रधानमन्त्रीको कुर्सी सुम्पिने प्रचण्ड पदको लोभीकी ओलीजी भन्ने विष्टको प्रश्न छ । 'ओलीमा  नैतिकता र इमानदारिता हुन्थ्यो भने  सांसद विघटनविरुद्धको  सर्वोच्चको फैसला आएको ५ मिनेट भित्रै राजीनामा दिनु पर्दथ्यो तर उहाँ अहिले पनि कुर्सीमा टाँसिरहनु भएको छ जुन लाजमर्दो छ,' उनले भने ।

उनले विगतका प्रधानमन्त्रीहरुले नैतिकताका आधारमा दिएका राजीनामाका उदाहरण दिए ।  उनले भने, '२०३० सालमा सिंहदरबार जल्दा तत्कालिन  प्रधानमन्त्री कीर्तिनिधि बिष्टले नैतिकताका आधारमा पदबाट राजीनामापत्र लिएर राजा विरेन्द्र कहाँ पुगे । राजा वीरेन्द्रले सिंहदरबार तपाईंले जलाएको होइन किन राजीनामा दिने भनेर फिर्ता गर्न खोज्दा कीर्तिनिधि बिष्टले मेरो पालामा सिंहदरबार जलेकोले म नेपाली जनताका  सामु एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्न मेरो नैतिकताले दिँदैन भनेर राजीनामा गरे । २०५४ सालमा तत्कालीन प्रधानमन्त्री सुर्यबहादुर थापाले सांसद विघटनको सिफारिस लिएर राजा कहाँ गए  ।  सबै पक्षसँग परामर्श गरेर राजाले सांसद विगठन गर्न उचित नठानेर फिर्ता पठाई दिए । त्यसपछि सुर्यबहादुर थापाले  नैतिकताको आधारमा राजीनामा दिए ।'

यस्तै उनले प्रचण्ड र नेपालले नैतिकताका आधारमा दिएको राजीनामा पनि स्मरण गराएका थिए । 'तत्कालीन  प्रधान सेनापति रुक्माङ्गत कटुवाललाई पदमुक्त गर्ने सिफारिस लिएर पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कहाँ जानु भयो । राष्ट्रपतिले सेनापति हटाउने निर्णय सदर नगरेपछि प्रचण्डले पनि तत्काल नैतिकताको आधारमा राजीनामा दिनुभयो,' विष्टले भने, 'माधवकुमार नेपाल बहुमतको प्रधानमन्त्री हुँदा तत्कालीन एमाले भित्रैका केही साथीहरु त्यो पनि जम्मा २७ जनाले पदबाट राजीनामा  मागे । अरु पार्टीको समर्थन र बहुमत हुँदा हुँदै पनि माधव कुमार नेपालले पार्टीभित्र कलह र विग्रह आउछ भने मैले राजीनामा किन नदिने भनेर पद त्याग गर्नु भएको थियो ।

झलनाथ खनाल प्रधानमन्त्री छँदा पनि सरकारलाई समर्थन गरेको मात्र एउटा घटकले राजीनामा मागेपछि बहुमत हुँदा हुँदै पनि राजीनामा दिएको उनको भनाइ थियो । तर  अहिलेका प्रधानमन्त्रीले गरेको सांसद विघटन असंवैधानिक  कदम भनेर सर्वोच्चले बदर गर्दा पनि  राजीनामा नदिनु लज्जाको बिषय भएको विष्टले बताए । उनले ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए पार्टी एकता पनि जोगिन सक्ने सम्भावना रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप