मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

लेवान्डोस्कीको गोल वर्षा जारी : मुलरको कीर्तिमानमा आँखा

आइतबार, १६ फागुन २०७७, १० : ५०
आइतबार, १६ फागुन २०७७

रोबर्ट लेवान्डोस्की र सर्जी ग्नाब्रीले दुई–दुई गोल गरेपछि बायर्न म्युनिखले एफसी कोल्नलाई हराउँदै बुन्डेस लिगाको शीर्ष स्थानमा आफ्नो पकड मजबुत बनाएको छ । खेलमा म्याक्सिम चुओपो मोटिङले बायर्नलाई अग्रता दिलाएका थिए । त्यसपछि लियोन गोर्टेज्काको पासमा लेवान्डोस्कीले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको शुरुवातमा इल्येस स्खीरीले विपक्षी टोलीका लागि एक गोल फर्काए पनि लेवान्डोस्कीले थोमस मुलरको पासमा गोल गर्दै टोलीलाई पुनः दुई गोलको अग्रता दिलाए ।

पोल्याण्डका स्ट्राइकरले यो सिजन बुन्डेस लिगामा २८ गोल गरिसकेका छन् । अरु खेलाडीभन्दा यो ९ गोलले बढी हो । ११ खेल बाँकी छँदा ३२ वर्षीय खेलाडीको आँखा अब गर्ड मुलरले बनाएको एकै सिजनमा सर्वाधिक गोलको कीर्तिमानमाथि रहेको छ । सन् १९७२ मा मुलरले एकै सिजन ४० गोल गरेका थिए । लेवान्डोस्की मुलरको यो कीर्तिमानबाट मात्र १२ गोल टाढा रहेका छन् ।

खेलको अन्तिम १० मिनेटमा ग्नाब्रीले  दुई गोल गर्दै टोलीलाई विशाल जीत दिलाए । जीतसँगै बायर्नले दोस्रो स्थानमा रहेको आरबी लेइपजीसँगको दुरी २ अंकको बनाएको छ । शनिबार नै लेइपजीगले २ गोलले पछि परेको स्थिति उल्टाउँदै बोरुसिया मोचेनग्लाडब्याचलाई ३–२ ले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप