शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यात्रुहरुको सुरक्षा र राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई सुरक्षा मापदण्डमा प्रतिवद्ध छौंः नेपाल वायुसेवा निगम

आइतबार, १६ फागुन २०७७, १३ : २३
आइतबार, १६ फागुन २०७७

काठमाडौं । नेपाल वायुसेवा निगमले हवाई सुरक्षासँग जोडेर प्रकाशित भएका समाचारहरु प्रति निगमको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले आज एक विज्ञप्ती जारी गर्दै यात्रुहरूको सुरक्षा एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई सुरक्षा मापदण्डहरुका सन्दर्भमा प्रतिवद्ध रहेको जानकारी पनि गराएको छ ।

निगमले यहि जनवरी ८ मा दोहाबाट काठमाडौं आएको आर.ए. २४० नं. को उडान काठमाडौंमा अवतरण गर्ने क्रममा हार्ड ल्यान्डिङ भएको विषय नियमित फ्लाइट डाटा एनालाइसिस प्रोग्राममार्फत फेब्रुअरी ९ मा पत्ता लगाइसकिएको तर केही संचार माध्यमले यस विषयला उछालेर समाचार प्रकाशन गरेको भन्दै निगमले आपत्ति जनाएको हो । 

निगमले अगाडि स्पष्ट पार्दै भनेको छ, ‘हार्ड ल्यान्डिङ सम्बन्धमा उडानमा संलग्न पाइलटहरूले भर्नु पर्ने म्यान्डेटरी अक्युरेन्स रिपोर्ट (एमओआर)मार्फत जानकारी गराउनु पर्नेमा नगराइएको पाइएपछि सम्वन्धित पाइलटहरूलाई तत्काल जानकारी माग गरी निजहरुलाई फागुन १२ देखि उडानमा बन्देज लगाइएको छ ।  सो घटनाका कारण जहाज उडान गर्न मिल्ने नमिल्ने यकिन गर्न जहाज निर्माता कम्पनी एयरबस फ्रान्ससँग पत्राचार गरी राय माग गर्दा १०० फ्लाइट साइकल्स ल्यान्डिङ तथा दुई महिनासम्म उडान गर्न समस्या नहुने तर सो अवधिमा निश्चित चेकजाँच गर्नुपर्ने भन्ने जानकारी प्राप्त भएको र सोही अनुसार जहाज नियमित उडानमा रहेको थियो ।’

अन्तराष्ट्रिय हवाई सुरक्षा मापदण्ड तथा निगमको आफ्नै सुरक्षा व्यवस्थापन प्रणाली बमोजिम आन्तरिक सुरक्षा जाँचबुझ गर्न व.क्याप्टेन युवराज कुमार भट्टराईको संयोजकत्वमा क्याप्टेन विजय लामा, मनिष कुमार साह तथा डम्बर रावत समेतको छानविन समिति गठन गरी काम शुरु भएको निगमले जनाएको छ ।

तसर्थ, हवाई सुरक्षालाई दृष्टिगत गरी उल्लेखित छानबिन समितिको प्रतिवेदनको आधारमा राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई सुरक्षा मापदण्ड अनुरुप थप कार्वाही अगाडी बढाइने निगमले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप