बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टुट्न लागेको दाम्पत्य जीवनलाई जोड्दै न्यायिक समिति

आइतबार, १६ फागुन २०७७, १७ : १४
आइतबार, १६ फागुन २०७७

गुल्मी ।  गुल्मीको इस्मा गाउँपालिका–५, इस्मा रजस्थलका विष्णु विक र उनकी पत्नी तुलसी विकबीच रात दिनको झगडाले छिमेकी वाक्क भइसकेका थिए । उनीहरु आपसमा कुटपिटसमेत गर्दथे । यस क्रममा कयौं पटक उनीहरु प्रहरी चौकीमा एक अर्काविरुद्ध उजुरी गर्न पुगे । यसरी प्रहरीमा उजुरी दिने, मेलमिलाप गरेर फर्कने अनि फेरि झगडा गर्ने क्रम उनीहरुबीच लामो समय चलिरह्यो ।

अन्ततः तुलसी विक सम्बन्ध विच्छेद गरिपाँउ भनि इस्मा गाउँपालिकाको न्यायिक समितिमा पुगिन् । स्वाभाविक थियो, न्यायिक समिति प्रमुख एवं इस्मा गाउँपालिका उपाध्यक्ष विमला खत्रीले तुलसीसँग घर झगडाको विषय सोधिन् ।
सोधपुछका क्रममा तुलसीले श्रीमान दैनिक मदिरा सेवन गर्ने, कमाइ नगर्ने, विभिन्न विषयमा झगडा गर्ने गरेको गुनासो गरिन् । न्यायिक समितिले तीन दिनसम्म विक दम्पतीलाई सम्झाइ बुझाइ गर्नुका साथै पति विष्णु समक्ष मदिरा सेवन छाड्नुपर्ने सर्त अगाडि सा¥यो । विष्णुले यो सर्त स्वीकार गरेपछि तुलसीले सम्बन्ध विच्छेदको उजुरी फिर्ता लिइन् ।

इस्मा गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक विमला खत्री भन्छिन्, ‘त्यसपछि केही महिना हामीले उनीहरुको निगरानी बढाउँदै गयौं । श्रीमानले हामीले भनेझैं सर्त पालना गरे कि गरेनन् भनेर निगरानी ग¥यौं । पहिलाजस्तो झैझगडा हुन छाडेको र श्रीमानले मदिरा सेवन गर्न पनि छाडेको थाहा पायौं । अहिले उनीहरुको सम्बन्ध राम्रै छ ।’ अहिले उनीहरुबाट छोरा जन्मिएको र दुवै खुसी रहेको उनको भनाइ छ ।

त्यसरी नै सम्बन्ध विच्छेदको सँघारमा पुगेका इस्मा गाउँपालिका–३ दर्लामचौर र वडा नम्बर ४, दोहलीका अरु  दम्पतीलाई पनि सम्बन्ध विच्छेद हुनबाट जोगाईएको  न्यायिक समिति संयोजक विमला खत्री बताउँछिन् ।
इस्मा गाउँपालिकाले घरेलु मदिरा बेचबिखनलाई कडाइ गरेपछि घरेलु झै झगडामा निकै कमी आएको इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट बताउँछन् । न्यायिक समितिले सम्बन्ध विच्छेद हुन लागेका केही दम्पतीलाई मेलमिलाप गराएकोमा उनले सन्तोष ब्यक्त गरे ।

न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष खत्रीका अनुसार सम्बन्ध विच्छेद, मानो चामल भराइ पाउँ,   छिमेकीबीच हुने झै झगडा र साँध सीमाना मिचिएका उजुरीहरू न्यायिक समितिमा आउने गरेका छन् ।
स्थानीय तहको निर्वाचन अघिसम्म तिनै उजुरीहरु लिएर  दिनभरीको बाटो हिँडेर वा गाडीमा पैसा खर्च गरेर मानिसहरु सदरमुकाम धाउने र महिनौंसम्म सास्ती खेप्ने गर्दथे । तर अहिले गाउँपालिकामै न्यायिक समितिले त्यस्ता कयौं विवादको समाधान गराउने गरेकाले स्थानीयवासीले पनि ठुलो राहत महसुस गरेका छन् ।

हालको मुसिकोट नगरपालिका वडा नम्बर ४, साविक बडागाउँ गाविसकी अस्मिता विक (नाम परिवर्तन) ले श्रीमानबाट मानो चामल भराइ पाउँ भनि दिएको मुद्दामा न्यायालयबाट १० वर्षपछि न्याय पाएकी थिइन् । दलित अधिकारकर्मी तथा जिल्ला अदालत गुल्मीका मेलमिलापकर्ता गणेश विश्वकर्माले भने, ‘उनीहरुबीच अन्तरजातीय विवाह भएको थियो । अहिले छोरीको उमेर नै १६÷१७ वर्ष भइसक्यो ।’

श्रीमान भागेर तराईतिर गएर बसेपछि मुद्दा १० वर्षसम्म लम्बिएको थियो । मेरो श्रीमती नै होइन र ती छोरी पनि आफ्नो सन्तान होइन भन्दै आएका उनका श्रीमानले अन्ततः १० वर्षपछि दुवै कुरा स्वीकार्दै २० लाख रुपैयाँ बराबरको मानो चामल भरेको मेलमिलापकर्ता विश्वकर्मा बताउँछन् ।

तर अहिले त्यस्ता उजुरीलाई न्यायिक समितिले नै हेर्न थालेको छ । श्रीमतीबाट मानो चामल भराइ पाउँ वा सम्बन्ध विच्छेद गरी पाउँ भनि थुप्रै उजुरी पर्ने गरेको गुल्मीदरवार गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक मिना भण्डारी बताउँछिन् । त्यस्ता उजुरी यसै आर्थिक वर्षमा मात्रै ५ वटा परेको र त्यसमध्ये दुईवटालाई मेलमिलाप गराई पठाईएको उनले जानकारी दिइन् ।
‘हामीले न्यायिक समितिमा सम्वन्ध विच्छेद गराउन मिल्दैन । जिल्लामा पठाउने हो,  हामीले सकेसम्म मेलमिलाप गराउने प्रयास गर्छौं,’ संयोजक भण्डारीले भनिन्, ‘सम्बन्ध विच्छेद हुनबाट जोगाईएका दम्पतीबीच अहिले सुमधुर सम्बन्ध देखेर सन्तोष लागेको छ ।’

उता मदानेगाउँपालिका उपाध्यक्ष सरिता खड्काले पनि मानो चामल भराइ पाउँ कि सम्बन्ध विच्छेद गरि पाउँ भनि आएका उजुरीमध्ये तीन दम्पतीलाई मेलमिलाप गराई पठाईएको र अहिले उनीहरुको सम्बन्ध राम्रो रहेको बताइन् ।
जिल्लाको विकट गाउँ भनेर चिनिने मालिका गाउँपालिकामा मदिरा सेवन गरि श्रीमतीलाई कुटपिट गरेका उजुरी धेरै आउने गरेको सो गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक देवा अर्यालले बताइन् ।  
उनले सम्वन्ध विच्छेद गरि पाउँ भनि अदालतमा परेको मुद्दासमेत फिर्ता गर्न लगाई तीन दम्पतीबीच मेलमिलाप गराइएको र उनीहरुको दाम्पत्य जीवन अहिले सुखद् रहेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप