बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर लिग राउन्ड अपः पेनाल्टी नपाउँदा रोकियो युनाइटेड, चम्किए बेल

सोमबार, १७ फागुन २०७७, ०८ : ००
सोमबार, १७ फागुन २०७७

म्यान्चेस्टर युनाइटेड चेल्सीसँग गोलरहित बराबरीमा रोकिएसँगै प्रिमियर लिगको उपाधि दौडमा चिरप्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीसँग झन् पछि परेको छ । ओले गनर सोल्क्सायरको टोली दोस्रो स्थानमा रहे पनि सिटीभन्दा १२ अंकले पछि परेको हो । चेल्सी भने पाँचौ स्थानमा रहेको छ ।

पछिल्लो २० लिग खेलमा एकमात्र पराजित बनेको युनाइटेडले पहिलो हाफमा पेनाल्टीबाट गोल गर्ने अवसर पाएको थियो । क्यालम हडसन ओडोईले ह्यान्डबल गरेको भन्दै  युनाइटेडले पेनाल्टी अपिल गरे पनि त्यसलाई रेफ्री स्टुअर्ट एटवेलले रद्द गरेका थिए ।

आइतबार भएका अन्य खेलमा आर्सनलले लेस्टर सिटीलाई ३–१ गोलले हरायो । खेलमा युरी टेलिमेन्सले लेस्टरलाई खेलको छैटौँ मिनेटमा नै अग्रता दिलाएका थिए ।

तर, ३९ औँ मिनेटमा डेभिड लुइजले गोल गर्दै खेल बराबरी गरे । पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीबाट गोल गर्दै अलेक्सान्डर लाकाजेटले आर्सनललाई अग्रता दिलाए ।

दोस्रो हाफको सुरुवातमा नै निकोलास पेपेले गोल गर्दै आर्सनलको जीत सुनिश्चित गरे । जीतपछि आर्सनल लिगको १० औँ स्थानमा उक्लिएको छ । लेस्टर लिगको तेस्रो स्थानमा कायम छ ।

उता, गेराथ बेलको दुई गोलको मद्दतले टोटनह्याम हटस्पर्सले बर्नलीलाई ४–० गोलले पराजित गर्यो । पछिल्ला ६ मध्ये ५ लिग खेल हारेको टोटनहमलाई बेलले  खेलको दोस्रो मिनेटमा नै अग्रता दिलाइका थिए । त्यसपछि उनले ह्यारी केनका लागि गोलको अवसर सिर्जना गरे ।

३१ औँ मिनेटमा लुकास मोउराले गोल गर्दै स्पर्सको अग्रता फराकिलो बनाए भने दोस्रो हाफमा बेलले गोल गर्दै स्पर्सलाई शानदार जीत दिलाए । जीतपछि स्पर्स लिगको आठौँ स्थानमा उक्लिएको छ ।

त्यस्तै, साबिक विजेता लिभरपुलले सेफिल्ड युनाइटेडलाई २–० गोलले हरायो । लिभरपुलको जीतमा २० वर्षीय कर्टिस जोन्स तथा किन ब्रायनले आत्मघाती गोल गरे । शीर्ष लिगमा लिभरपुलको यो ७ हजारौँ गोल थियो ।

छैटौँ स्थानमा रहेको लिभरपुलको ४३ अंक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप