शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

सोमबार, १७ फागुन २०७७, १२ : ४७
सोमबार, १७ फागुन २०७७

चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशतभन्दा बढी गैँडा केन्द्रित भएका हुन् । पूर्वी क्षेत्रमा बासस्थानमा खलल आउन थालेपछि उचित घाँसे मैदान र पानीको स्रोतको खोजी गर्दै गैँडा पश्चिमी क्षेत्रमा केन्द्रित भएका हुन् । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार पूर्वी क्षेत्रमा रहेको राप्ती नदीको पानी धेरै ठाउँबाट सिँचाइका लागि लैजाँदा पानीको अभाव हुने गरेको छ । उनले भने, “राप्ती नदीमा पानीको स्रोत कम हुँदा नदी आसपासमा घाँसे मैदान प्रभावित बनेको छ ।” पानीको अभावमा आहालका लागि पानी कम छ भने सुख्खा भएर घाँस उम्रिन पाएको छैन । राप्तीमा पानी कम हुँदा निकुञ्जभित्रका घोलमा पानीको मात्रा कमी आएको उनले बताए। राप्ती नदीले बगाएर ल्याएका बालुवा तथा कङ्क्रिटले समथर निकुञ्जका भाग पुरिँदा पनि घाँसे मैदान मासिएको पाइन्छ ।

उता पश्चिमी क्षेत्रमा भने नारायणी नदीले बनाएका भङ्गालामा प्रशस्त पानी र घाँसे मैदान बनेपछि गैँडा रमाउने गरेका छन् । पूर्वी क्षेत्रमा बस्तीमा आउनबाट रोक्नका लागि बनाइएका पक्की संरचनाले गैँडा नदी वारपार गरी रमाउन नपाउने गरेको बरालको भनाइ छ । पूर्वमा रमाउन नसकेपछि विभिन्न तरिकाले गैँडा पश्चिम पुग्ने गरेका छन् । उनका अनुसार वर्षाको बाढीले बगाएर गैँडा पश्चिम क्षेत्रसमेत पुग्ने गरेका छन् । 

केही वर्षअघि यसै निकुञ्जबाट राप्ती र नारायणी नदीले बगाएर भारत पु¥याएका १० गैँडा जीवितै उद्धार गरी ल्याइएको थियो । अझै केही गैँडा भारतीय क्षेत्रमा रहेको अनुमान गरिएको छ । यसरी नै वर्षात्को समयमा पूर्वका गैँडा बगाएर पश्चिम पु¥याउने गर्दछ । त्यहाँ पुगेपछि पर्याप्त खाना, पानी पाएपछि गैँडा पश्चिममै बस्ने गरेका छन् । कतिपय गैँडा आफैँ पनि पश्चिमतर्फ जाने गरेका छन् । 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको कार्यालय कसरालाई आधार मानेर पूर्व र पश्चिम भन्ने गरिन्छ । पछिल्लो समय पूर्वी सेक्टरमा पानीका पोखरी र घाँसे मैदान व्यवस्थापनमा जोड दिइएको छ । उनले चैतमा गैँडा गणनापछि आन्तरिकरुपमा स्थानान्तरण गर्नुपर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । 

उनले भने, “पश्चिममा धेरै देखिए पूर्वमा स्थानान्तरण गर्नुपर्छ ।” पश्चिममा बासस्थान सानो र गैँडाको सङ्ख्या धेरै भएको उनको भनाइ छ । एकै ठाउँमा धेरै गैँडा हुँदा जुधेर मर्नेक्रम भने बढेर गएको छ । प्राकृतिक कारणबाट मरेकामध्ये धेरै गैँडा पश्चिमी क्षेत्रमा रहेको उनको भनाइ छ । मरेकामध्ये ६० प्रतिशतभन्दा बढी पश्चिमका रहेका छन् । चोरी शिकारीसमेत पश्चिममा बढी हुने गरेको छ ।  

निकुञ्जको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षयता निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा मात्रै  ९२ गैँडा मरेका छन् । तीमध्ये ८८ कालगतिले मरेका हुन् । चार चोरी शिकारीले मारेका छन् । कालगतिले मर्ने गैँडा एकापसमा जुधेर, दलदलमा भासिएर, बुढो भएर र खोलाले बगाएर मर्ने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले पछिल्लो समय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडा बढी भएको जानकारी आएको बताउँदै यस विषयमा छलफल भइरहेको बताए । गैँडा गणनापछि आवश्यकताअनुसार आन्तरिक स्थानान्तरण गर्न सकिने उनले बताए । 

पछिल्लो गणना अनुसार देशैभर ६४५ गैँडा छन् । जसमध्ये यस निकुञ्जमा ६०५ रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गैँडा गणनायता चितवनबाट चार गैँडा​ चीन सरकारलाई उपहार पठाइएको र शुक्लाफाँटा र बर्दिया निकुञ्जमा गरी १२ वटा गैँडा स्थानान्तरण गरिएको छ । गैँडालगायतका वन्यजन्तु पश्चिमतर्फ केन्द्रित हुँदा पर्यटक पनि पश्चिमी क्षेत्रतर्फ आकर्षित हुने गरेका छन् । पूर्वी क्षेत्रमा पर्ने सौराहाभन्दा पछिल्लो समय पश्चिमी क्षेत्रको मेघौली पटिहानीलगायतका स्थानमा पर्यटकको आगमन बढेको छ । यस क्षेत्रमा वन्यजन्तु सहजै देख्न पाइने भएपछि पर्यटक यतातर्फ आकर्षित भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप