दाङमा ६० प्रतिशत जनप्रतिनिधिले लगाउन मानेनन् कोभिड–१९ विरुद्धको खोप
दाङ । सरकारले कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि खोप अभियान सुरु गरे पनि दाङका जनप्रतिनिधिहरु खोप लगाउन अनिच्छुक देखिएका छन् ।
कोरोना विरुद्धको खोप लगाउन जिल्लाका जनप्रतिनिधिहरु अनिच्छुक देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार दोस्रो चरणमा जिल्लाका १० वटा स्थानीय तहका ५ सय ८० जना जनप्रतिनिधिलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम भए पनि करिब ४० प्रतिशत जनप्रतिनिधिले मात्र खोप लगाएका हुुन् ।
जिल्लामा करिब ६० प्रतिशत जनप्रतिनिधिहरु विभिन्न बहानामा खोप लगाउन नचाहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताए । ‘दाङमा ५ सय ८० जना जनप्रतिनिधिलाई खोप लगाउने कार्यक्रम थियो’, कोभिड–१९ रोग विरुद्धको खोप अभियान जिल्ला समन्वय समितिका सदस्य सचिवसमेत रहेका प्रमुख शाहीले भने, ‘तर अभियानका क्रममा दुई सय ४५ जनाले मात्र खोप लगाउनुभयो । ३ सय ३५ जनाले लगाउनुभएन ।’
उनका अनुसार कोरोनाविरुद्धको खोप अभियानमा प्रदेशका १२ जिल्लामध्ये दाङ पहिलो स्थानमा छ । ‘यो हिसाबले जिल्लामा खोप अभियान राम्रै मान्न सकिन्छ’, प्रमुख शाहीले भने, ‘तर जनप्रतिनिधिहरुको सहभागिता भने कम देखिएको छ ।’
जोखिमपूर्ण समूहमै रहेका जनप्रतिनिधिहरु नै कोरोनाविरुद्धको खोप अभियानमा सहभागी नहुँदा जनतामा राम्रो सन्देश नजाने शाहीले बताए । दोस्रो अभियानअन्तर्गत जिल्लामा फागुन २ गतेदेखि १० गतेसम्म कोरोनाविरुद्ध खोप लगाइएको थियो ।
कोरोनाविरुद्धको खोप अभियानमा प्रहरीको पनि सहभागिता पनि उत्साहप्रद नदेखिएको शाहीले बताए । जिल्लामा रहेका करिब एक हजार प्रहरीमध्ये ७ सय १० जना प्रहरीले खोप लगाएको उनको भनाइ छ ।
नेपाल पत्रकार महासंघ दाङ शाखाले स्वास्थ्य कार्यालयलाई कोभिड–१९ विरुद्धको खोप लगाउने ३ सय सदस्य संख्या दिए पनि अहिलेसम्म करिब ५० प्रतिशतले मात्रै खोप लगाएको उनले बताए ।
जिल्लामा पहिलो र दोस्रो चरणमा गरी ७ हजार ८ सय ७९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए । जसअन्तर्गत पहिलो चरणमा ३ हजार ५ सय ४६ जना र दोस्रो चरणको खोप अभियानमा ४ हजार ३ सय ३३ जनाले खोप लगाएको उनले बताए ।
पहिलो चरणमा गत माघ १४ गतेदेखि २४ गतेसम्म अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापनमा खटिने कर्मचारीलगायतलाई खोप लगाइएको थियो भने दोस्रो चरणमा फागुन २ गतेदेखि १० गतेसम्म सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो ।
तेस्रो चरणमा ६४ हजार बढीलाई खोप लगाइने
कोभिड–१९ विरुद्धको तेस्रो खोप अभियानअन्तर्गत जिल्लामा फागुन २३ गतेदेखि सञ्चालन गरिने भएको छ । जसअन्तर्गत जिल्लाका दशवटै स्थानीय तहका विभिन्न लक्षित समुदायका ६४ हजार ५ सय ७७ जना व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले बताए ।
जसअन्तर्गत घोराही उपमहानगरपालिकामा १७ हजार ८ सय १९ जना, तुलसीपुर उपमहानगरपालिकामा १६ हजार १ सय ८४ जना, शान्तिनगर गाउँपालिकामा ३ हजार ७ सय ७६ जना, दंगीशरण गाउँपालिकामा २ हजार ६ सय ८७ जना, बबई गाउँपालिकामा ३ हजार ४ सय ८१ जना, लमही नगरपालिकामा ४ हजार ८ सय ६६ जना, गढवा गाउँपालिकामा ३ हजार ४ सय २९ जना, राजपुरमा २ हजार ९ सय ५ जना, बंगलाचुलीमा ३ हजार ९ सय ९५ जना र राप्ती गाउँपालिकामा ५ हजार ४ सय ३५ जनालाई खोप लगाउने कार्यक्रम रहेको कार्यालय प्रमुख शाहीले बताए ।
त्यसका लागि जिल्लाका विभिन्न स्थानीय तहमा ८९ वटा खोप केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ । तेस्रो चरणमा ५५ वर्षभन्दा माथिका नागरिक, शिक्षकलगायतका समूहहरुलाई राखिएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा