ad
केन्द्रीय संस्करण

अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

person explore access_timeफागुन १७, २०७७ chat_bubble_outline0

वासिङ्टन । अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ ।  अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले गत शनिबार जोन्सनको खोप प्रभावकारी देखिएको भन्दै आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । अमेरिकामा जोन्सन समेत तीन कम्पनीका खोपले प्रयोगको अनुमति पाएका छन् । यसअघि नै अमेरिकाले फाइजर र मोडर्नाका खोपलाई स्वीकृत गरिसकेको छ ।

अमेरिकामा हालसम्म पाँच लाखभन्दा बढी व्यक्तिको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । राष्ट्रपति जो बाइडेनले कोभिड–१९ लाई परास्त गर्न खोप र अन्य सचेतनामूलक कार्यक्रमलाई व्यापक बनाउनु भएको छ । 

एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप गम्भीर प्रकृतिको कोभिड–१९ रोकथाम गर्न पनि सफल हुने दाबी गरिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)ले कोभिड–१९ को नयाँ स्वरूपलाई पनि रोकथाम गर्न जोन्सनको खोप प्रभावकारी देखिएको जनाएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले तेस्रो खोपलाई अनुमति दिएको बताउँदै कोभिड–१९ विरुद्धको सङ्घर्ष अझै समाप्त भइनसकेको बताउनुभयो । अमेरिकाले यसअघि फाइजर र मोडर्नाले विकास गरेका खोप प्रयोगमा ल्याइसकेको छ । 

राष्ट्रपति बाइडेनले जारी गर्नु भएको विज्ञप्तिमा जोन्सन कम्पनीले विकास गरेको खोप सफल देखिएकोमा सबै अमेरिकी खुशी भएको बताउँदै कोरोनाभाइरसले सिर्जना गरेको सङ्कट समाधान गर्न हामी सबैलाई यस समाचारले उत्साहित गरेको उल्लेख छ । 

बाइडेन प्रशासनका एक अधिकारीका अनुसार जोन्सनको खोप सबै राज्य, जातजाति, भूगोल तथा फार्मेसी र सामुदायिक स्वास्थ्य केन्द्रबाट उपलब्ध हुनेछ । उनले जोन्सनका खोपहरु मङ्गलबार बिहानैदेखि देशका विभिन्न भागमा आपूर्ति गर्न थालिने जानकारी दिए ।

अमेरिकामा हालसम्म ६ करोड ५० लाख व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लिइसकेका छन् । जोन्सनको खोपलाई कम तापक्रममा पनि भण्डार गर्न सकिने र एक डोज मात्र लगाए हुने भएकाले यसको आपूर्ति व्यवस्था मिलाउन निकै सहज हुनेछ । 

क्लिनिकल ट्रायल (मुना परीक्षण) मा जोन्सनको खोप संयुक्तराज्य अमेरिकामा ८५.९ प्रतिशत प्रभावकारी देखिएको थियो भने दक्षिण अफ्रिकामा ८१.७ र ब्राजिलमा ८७.६ प्रतिशत सफल पाइएको थियो । 

जोन्सनले यसअघि मार्चको अन्त्यसम्ममा दुई करोड तथा जुन महिनाको अन्त्यसम्ममा १० करोड डोज आपूर्ति गर्ने लक्ष्य राखेको थियो । –एएफपी
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.