ad
केन्द्रीय संस्करण

अचेलका 'किसिङ्ग गर्ल्स'देखि 'अनकिसिङ्ग गर्ल अफ इन्डिया' को सम्झनामा

person explore access_timeफागुन १८, २०७७ chat_bubble_outline0

 

 

अचेलका सिने तारिकाहरु आफ्नो 'करियर' बनाउन जस्तोसुकै 'बोल्डनेस्', जस्तोसुकै 'सट' दिन एक सेकेन्ड पनि सोच्ने काम गर्दैनन् । उनीहरुको लक्ष्य एउटै मात्र हुन्छ, छिटोभन्दा छिटो चर्चित भएर कला जगतको जादुई पर्दामा अर्थात 'रिल लाइफ' स्थापित हुने ! यसका लागि उनीहरु 'रियल लाइफ'मा जस्तोसुकै अभियान, जस्तोसुकै बलिदान दिन हरहमेसा तत्पर रहन्छन् ।

कलाका नाममा भने उनीहरुसँग जम्माजम्मी एकमात्र जमापुँजी रहेको हुन्छ, 'प्रकृतिप्रदत्त कल्कलाउँदो कामुक देह !' यसकै निर्वाध प्रदर्शन गरेर उनीहरु प्रोड्युसर, डाइरेक्टरलाई लोभ्याउँदै दर्शकको मनहृदयरूपी साम्राज्यको दमित चाहना- कुण्ठा उदीप्त गरी रातारात यश- कीर्ति- प्रसिद्धि- पैसा छोटकरीमा 'नेम एन्ड फेम' हासिल गर्न नारी अस्मिता नीलाम गर्ने पथमा स्वअग्रसर रहेका हुन्छन् । नारी समानता, नारी स्वत्रन्त्रता र नारी अधिकारको यस युगमा योभन्दा बढी चित्रण गर्नु आफ्नै स्वास्थ्यका लागि प्रतिकूल हुनसक्ने हृदयङ्गम गरी यस्ता तमाम वीरबहुटीहरु (ट्राम्बिडाइडी) लाई परैबाट 'हे स्तनभरनमिता कामसुख- नैनसुख प्रदायिनी देवी कल्याणी ! तिमीले प्रतिशोधमा नैनलाई आग्नेय नबनाऊँ, तिम्रा लोचनको बक्र हेराइले मात्रै सन्त्रसित भई जस्तासुकै महाबलि पनि 'या देवी सर्वभूतेषु क्षमारूपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः' पुकारा गर्दै क्षमायाचना गर्न समर्पित हुन्छन् । तिमीले व्यर्थमा रौद्र रूप धारण नगर, तिमीजस्तो कोमलाङ्गीलाई रौद्रताको उष्णताले पनि अतिशय हानि पुग्न सक्छ।

आज यस्तै एउटा कोमलाङ्गीको रूपमाधुर्य, अल्लरेपन, सुकुमार यौवन र यौवनका हरेक अवयवले, देहका हरेक गल्छी, पठार, डेल्टा र हिमालबाट श्रावित हुने मधुर मदिररसको स्मृति मात्रैले आत्मविभोर भएको छु ।

तपाईंलाई अचेलका 'ब्युटी क्विन'हरुले बेझिझक दिने गरेका 'किसिङ सिन' र यस उदात्त कृत्यहेतु अर्जित गरेको विभूषण र विशेषण 'किसिङ गर्लस' बारे थाहा नहुने कुरै हुन्न । ल, सम्झिनुस् त कतिजना 'किसिङ गर्लस'को प्रतिष्ठा अर्जित गरेका बालाहरूको 'नयनाभिराम दृश्यावली' र उनको कञ्चन कायाको स्मृति सधैँ ताजा नै रहिरहन्छ तपाईंहरुको मन मस्तिष्कमा । मल्लिकादेखि बिपाशा अथवा विद्या बालन, क्वाटरिना कैफ, सोनम कपुर, प्रियङ्का चोपडा, दीपिका पादुकोण, कङ्गना रनौत अथवा अन्य कोही छ जसले तपाईंलाई सजिलो अथवा निकै गाह्रो स्थितिमा पुर्‍याइदिन्छ । यस वाक्यमा रहेको मूल आशय तपाईंहरुले आफै बुझ्नुपर्ने हुन्छ ।

यो अनाहकको चर्चा र चिन्तन तपाईंहरुलाई नै जिम्मा दिई म भारतीय फिल्म उधोगमा 'नो किसिङ गर्ल' का नामले प्रख्यात एकजना रूपसीको चर्चा गर्न लालयित भएको छु । पहिला यस विषयक रोचक वृत्तान्त सुन्नुस्- मुम्बइया फिल्म उद्योगको विदेशमा प्रदर्शित पहिलो फिल्म थियो १९५२ मा 'रिलिज' भएको महबुब खान निर्देशित 'आन' । यस फिल्मलाई अङ्ग्रेजीमा 'डब' गरी 'सैवेज प्रिन्सेस'का नामले लन्दनमा प्रदर्शित गरिएको थियो । भन्नु परिरहेन फिल्मको 'प्रिमियर सो'मा थुप्रै विदेशी कलाकारको उपस्थिति रहेको थियो । फिल्मको अल्लारे नायिका पनि यस उत्सवमा सहभागी हुन तत्कालको मायानगरी बम्बई अहिलेको फुस्रो नाम मुम्बईबाट लन्दन पुगेकी थिइन् । भारतीय अभिनेत्रीलाई हेर्नसाथ मोहित भएका त्यसबेलाका प्रसिद्ध अभिनेता 'रोमान्टिक आइडल' (romantic swashbuckler) को उपाधिले विभूषित Errol Leslie Thomson Flynn ले विद्युत् गतिका साथ अघि बढ्दै त्यस १८ -१९ वर्षीया नवयौवनालाई 'किस' गर्ने प्रयास गरे । उनकै माफिक विद्युत् गतिले पछिसर्दै ती गर्विणीले सहज जवाफ फर्काइन्- "I am an Indian girl, you can not do that!" ।

 उनको यस कृत्यले त्यहाँ उपस्थित रहेका सारा मिडियाकर्मीलाई अचम्भित बनायो । जम्माजम्मी २ वर्षे फिल्मी 'क्यारिएर' भएकी र भर्खर १९ टेक्दै गरेकी स्वप्निल युवतीको यो 'एटिट्युड' ! तर मिडियाकर्मी पनि कहिलेकाहीँ विवेक र मर्यादामा रहन्छन्, कम्तीमा यस भारतीय बालाप्रति मीडियाले सहृदयता देखायो र लेख्यो आफ्ना कलमले- '' the ... unkissed girl of इन्डिया'' ।

यी बालाको कथा सिनेमाई 'रिल'मा जति उतारचढाव हुने गर्थ्यो कथानकअनुसार, त्योभन्दा कम थिएन 'रियल लाइफ'मा पनि । १९३३ मा 'ताजमहल सिटी' आगरामा जन्मिएकी यिनको बाल्यकालको नाम नबाब थियो जुन बवापटीको हजुरबुबाले राखेका थिए । अलिक ठूलो हुने बित्तिकै यताकै हजुरआमाले बानो थपिदिएर यिनी नबाब बानो बन्न पुगेकी थिइन् ।

नबाब बानो सानो छँदै आर्मीका ठेकेदार यिनका बुबा अब्दुल हकिम र आमा बाहिदाबीच पारपाचुके भएर यिनी आमा बहिदासँग हुर्कीरहेकी थिइन । आमा बहिदा भने त्यस बेलाको बलिउडमा गायिका र अभिनेत्री दुवै भूमिकामा संलग्न थिइन् । त्योबेला बलिउडका नायक र नायिकाले गीत गाउने चलन पनि व्याप्त रहेको थियो । वाहिदा मुम्बईमा स्थापित नै थिइन् । त्यस बेलाको फिल्म उद्योग र निर्माणमा संलग्न महबुब खानसँग

 वाहिदाको पारिवारिक सम्बन्ध रहेको थियो । नाममा नबाब रहेको बालिका बानोको नियति नबाब त के कनिज (दासी) को पनि रहेन । आत्मा वाहिदाको आकस्मिक मृत्युले 'कनिके जाउली' पाउन खातिर उनले मुम्बईबाट आमापट्टिकी हजुरआमाको घर अबोट्टाबाद (Abbottabad) वर्तमानको पाकिस्तान पुग्नु पर्‍यो अ।

उनी त्यहाँ पुगेको २-३ वर्षभित्रै भारत विभाजनको त्रासदी घटित भयो । हजुरआमाले १३-१४ वर्षीया नातिनीलाई बोकी अबोट्टाबादलाई अलबिदा भनी फेरि मुम्बईको रुख गरिन् । यहाँ हजुर आमा र नातिनी नबाब बानोको छहारी बन्यो बुढियाको कान्छी छोरी अर्थात् नबाबको सानीआमा ज्योतिको घर । ज्योति पनि अभिनेत्री थिइन् । यिनको बिहे भएको थियो त्यस बेलाका रेडियो जकी, गायक, सङ्गीतकार, अभिनेता गुलाम मुस्तफा दुर्रानी (जीएम दुर्रानी) सँग । भनौँ ११-१४ को तीन वर्षे कालखण्डबाहेक नबाब बानो फिल्मी वातावरणमै हुर्केकी थिइन् । १९४७ मा मुम्बई फर्किंदा बानो १४ वर्षे किशोरी थिइन् । मुम्बईमा शरण लिएको सानीआमाको घरको प्रमुख पेसा नै अभिनय र सङ्गीत रहेको थियो । किशोरी बानोमा यसको प्रभाव पर्नु स्वाभाविक नै थियो र परयो पनि ।

महबुब खान, राज कपुर र फिल्म अन्दाजको 'मेकिङ टाइम' -

निर्माता निर्देशक महबुब खान बानोको आमा वाहिदाका परिचित हुनाका साथ सानीआमा ज्योतिसँग पनि हेलमेल भएका फिल्मकार थिए । सन् १९४८ मा उनको कम्पनी महबुब स्टुडियोले आफ्नो महत्त्वाकाङ्क्षी प्रोजेक्ट अन्दाज फिल्मका लागि काम गरिरहेको थियो । महबुबले १९४५ मा आफ्नै फिल्म निर्माण कम्पनी 'महबुब स्टुडियो' खडा गरी फिल्म 'प्रोड्कसन'मा हात हाले का थियो । कम्पनीले बनाएको पहिलो फिल्म 'अनमोल घडी जबरदस्त 'हिट' रहेको थियो । यस म्युजिकल मेलोडी फिल्ममा सुरैया, समसाद बेगम र सुरेन्द्र रहेका थिए । फिल्मका सङ्गीतकार थिए नौसाद । यस फिल्मका गीतले सङ्गीत प्रेमीहरुलाई १९४६ यता ७५ वर्षदेखि आफ्नो दिवाना बनाइराखेको छ भन्नुमा कुनै अत्योक्ति हुँदैन।

फिल्ममा १२ वटा गीत रहेका थिए-

"आजा मेरी बर्बाद मोहब्बत के सहारे, है कौन जो बिगडी हुयी तकदिर सँवारे" - नूरजहाँ

"जवां है मोहब्बत हसीं है जमाना, लुटाया है दिल ने खुशी का खजाना " - नूरजहाँ

"आवाज दे कहाँ है, दुनिया मेरी जवां है " - नूरजहाँ, सुरेन्द्र

"क्या मिल गया भगवान् तुम्हे दिल को दुख के, अरमान की नगरी में मेरी आग लगा के"- नूरजहाँ

"मैं दिल में दर्द बसा लाई, नैनों से नैन मिला आई " - सुरैया

"सोचा था क्या क्या हो गया, अपना जिसे समझे थे हम अफसोस वो अपना ना था "- सुरैया

"मेरे बचपन के साथी मुझे भूल ना जाना, देखो देखो हँसे ना जमाना, हँसे ना जमाना" - नूरजहाँ

"क्यों याद आ रहे हैं गुजरे हुए जमाने, ये सुख भरे फसाने, रोते हुए तराने, किसको सुना रहे हैं, क्यों याद रहे हैं, क्यों मुस्कुरा रहे हैं"- सुरेन्द्र

"मन लेता है अंगडाई जीवन पे जवानी छाई, मन लेता है अंगडाई "- सुरैया

"अब कौन है मेरा अब कौन है मेरा, फरियाद है तकदिर ने लुटा है बसेरा, मेरा लुटा है बसेरा "- सुरेंद्र

र मोहम्मद रफीले पहिलो पटक पहिचान पाएको गीत "तेरा खिलौना टुटा बालक तेरा खिलौना टुटा, है किस्मत ने लुटा तुझको, है किस्मत ने लुटा " जस्ता गीतले 'अनमोल घडी'लाई १९४६ को ब्लकबास्टर फिल्म बनाएको थियो । महबुबको कम्पनीले अर्को फिल्म 'अन्दाज'को निर्माण गरिरहेको थियो । 'अन्दाज'मा 'स्टार कास्ट' रहेको थियो राज कपुर, दिलीपकुमार र नरगिस् । यो फिल्म नै राज कपुर र दिलीप कुमारले काम गरेको पहिलो र अन्तिम फिल्म बन्यो ।

१९४८ मा 'अन्दाज' को सुटिङ भइरहेको बेला १५ वर्षे किशोरी नबाब बानो फिल्म सुटिङ हेर्न 'स्पट' पुगिन् । निर्माता निर्देशक महबुबसँग उनको परिचय भएकाले सुटिङ स्थलमा उनलाई सहजै जान पाइयो । बानोको भेट राज कपुरसँग भयो । राज कपुरले यस अघि मधुबालाका साथ नील कमल फिल्म (१९४७ ) खेली सकेका थिए । अन्दाज उनको दोस्रो फिल्म हुन गइरहेको थियो । सम्पन्न परिवारका राज कपुरले पहिलो फिल्म खेलन साथ आफ्नै फिल्म स्टुडियो आरके फिल्सको स्थापना १९४८ मै गरिसकेका थिए । आफ्नो 'होम प्रोडक्सन'को फिल्म 'बरसात' बनाउने घोषणा उनले गरिसकेका थिए । बरसातमा नायक उनी आफै थिए भने उनकी नायिकाको रूपमा नरगिसको 'सेलेक्सन' पनि भइसकेको थियो । फिल्मका अर्का सहनायक कलाकार प्रेमनाथ (पछिका खलनायक तर त्यस बेलासम्मका नायक) का लागि उनलाई नयाँ अनुहारको खोजिरहेको थियो । राज कपुरले १५ वर्षीया नबाब बानोलाई हेर्नसाथ उनलाई प्रेमनाथका 'अपोजिट सेकेन्ड लिड रोल अफर' गरे । फिल्ममा बानो भेडी गोठालो केटीको भूमिकामा रहेकी थिइन् ।

पछिको क्यारियरमा 'द ग्रेट सोम्यान' को ख्याति पाई अनेको नयाँ हिरोइनलाई 'ब्रेक' दिने फिल्मकारका रूपमा चिनिएका राज कपुरले आफ्नो 'होम प्रोडक्सन'को पहिलो फिल्मबाटै फिल्म इन्डस्ट्रीलाई नयाँ हिरोइन दिएका थिए । नबाब बानो अभिनेत्रीका रूपमा अवतरित हुँदा उनको नाम फेरिएको थियो, यो त्यस बेलाको चलन नै थियो । सिनेकाको 'रिल लाइफ' उनको 'एन्ट्री' निम्मी नामले भएको थियो । फिल्म बरसातले अपार सफलता पायो । निम्मीको कामलाई दर्शकले औधी मन पराए।

१९४८ मा बन्न सुरु भएको बरसात १९४९ मा 'रिलिज' भएको थियो । फिल्मले यसअघिका कमाइ गर्ने सारा फिल्महरुको 'रेकर्ड ब्रेक' गरेको थियो । राज कपुर अभिनयका साथै निर्देशनका क्षेत्रमा स्थापित भए एउटै फिल्म बरसातले । काश्मीरको लोकेसनमा पहाड़ी बाला नीला (निम्मी)को नृत्यगीत 'बरसात में हमसे मिले तुम, ओ सजन तुमसे मिले हम, बरसात में' लाई सिगरेटको धुवाँ उडाउँदै हेरिरहेका राज कपुरको जीवनमा गीतकार शैलेन्द्र लिखित यस गीतले सफलताको यस्तो बरसात गर्यो कि यस महान् अभिनेताले यसपछि कहिले पनि फर्केर हेर्नुपरेन सफलतालाई । सफलता सधैँ राज कपुरको प्रेयसीझैँ उनका साथ हिडिरह्यो । बरसातका अनेको युति हिन्दी सिनेमाको इतिहासमा यादगार युति बने । राज कपुर -नरगिस, राज कपुर- मुकेश, राज कपुर- शैलेन्द्र, राज कपुर -शङ्कर जयकिसन । नरगिस, मुकेश, शैलेन्द्र, शङ्कर जयकिसनको अपार भूमिका रह्यो २४ वर्षीय राज कपुरलाई भारतीय सिने उद्योगको 'माइल स्टोन' पात्र बनाउन ।

 शैलेन्द्रले बनाएको 'तिसरी कसम' फिल्मको चर्चा नगरिरहन सकिँदैन । यस फिल्ममा पनि शैलेन्द्रका गीत थिए, शङ्कर जयकिशनको सङ्गीत थियो, मुकेशको स्वरले राज कपुरलाई साथ दिएको थियो । १० वर्षे फिल्मी जीवन (१९४८ -१९५८ ) मा १६ वटा फिल्म आवारा, श्री ४२०, जागते रहो, अन्दाज , चोरी चोरी, आह, आग, बरसात, अम्बर, अनहोनी, आसियाना, बेबफा, पापी, धुन, जान पहचान र प्यारको नायिका नरगिस भने तिसरी कसममा थिइनन् । १९५७ मा आएको फिल्म मदर इन्डिया छायाङ्कनका दौरान एउटा दुर्घटनापछि नरगिसले सुनील दत्तसँग बिहे गरेको हुनाले फिल्मी पर्दाको यस रोमाङ्टिक जोडीको अन्त्य हुन पुगेको थियो । तिसरी कसममा नरगिसको स्थान वहिदा रहमानले पाएकी थिइन् ।

बर्सातकै कमाइले राज कपुरले १९५० मा आरके स्टुडियो खडा गरेका थिए ।

 बर्सात 'रिलिज' हुँदा निम्मीले १६ वर्षे यौवनमा टेकिसकेकी थिइन् । बरसात 'रिलिज' भएपछि राज कपुरका भाँती निम्मीलाई पनि सफलताले पछ्यायो । उनलाई फिल्म 'अफर' को बाढी आयो ।

२ वर्षमै उनका वफा, राजमुकुट, जलते दीप, सजा, आशा, बुजदिल, दिदार, चम्पा, बेदर्दी, बडी बहु, दाग 'रिलिज' भइसकेका थिए । यसैबीच महबुबले निम्मीलाई लिएर दिलीप कुमारका साथ फिल्म आन बनाए । १९५२ मा रिलिज भएको यो फिल्म भारतबाहिर पनि 'रिलिज' गरिएको थियो । यसै फिल्मको लन्दन प्रिमियरमा निम्मीले फगत १९ वर्षको हुँदा 'अनकिस्ड गर्ल अफ इन्डिया' का रूपमा प्रसिद्धि पाएकी थिइन् ।

महबुब खानलाई भारतीय फिल्म उद्यगले चाहेर पनि बिर्सिन सक्दैन । सन् १९३१ मा अभिनय क्षेत्रबाट सिने पर्दामा फिल्म "मेरी जान" बाट आएका / ओर्लेका महबुब खानले आफ्नो लामो फिल्मी क्यारियरमा निर्माता र निर्देशकका रूपमा अनेको 'माइल स्टोन' फिल्म बनाएर सफलताको त्यो कीर्तिमान स्थापित गरे जसलाई कसैले पछ्याउन त सक्छ तर त्यसभन्दा अघि जान सक्दैन ।

कुरा 'अनकिस्ड गर्ल' निम्मीको, निम्मीले आफ्नो १७ वर्षे फिल्मी जीवनमा (१९४८ देखि १९६५ ) झण्डै ४० वटा फिल्ममा काम गरिन । निसन्देह उनको सबैभन्दा राम्रो जोडी दिलीप कुमारसँग बनेको थियो । दिदार, दाग, अमर, आन फिल्ममा यो जोडी खुबै मन पराइएको थियो । त्यस बेलाका सबै सफल कलाकारका साथ उनले फिल्म खेलेकी थिइन् । देवानन्द, भारत भूषण, राज कपुर, सम्मी कपुर, राजेन्द्र कुमार, सुनील दत्त, धर्मेन्द्र, सञ्जीव कुमार, किशोर कुमार, अशोककुमार, सोहराब मोदी सबै हिरोका साथ उनको जोडी बन्यो ।

१९६५ मा उनले फिल्म जगतलाई अलबिदा भनी गृहिणीको जीवनमा प्रवेश गरेकी थिइन् । उनले सुप्रसिद्ध 'स्क्रिप्टराइटर' एस अलीराजासँग बिहे गरेकी थिइन् । राजाले त्यस बेलाका थुप्रै सफल फिल्म लेखेका थिए । आन, अन्दाज, मदर इन्डिया, रेशमा और सेरा, दस नम्बरी, सरस्वती चन्द्र उनले लेखेका सफलतम फिल्म थिए । १९६५ मा बिहे गरेपछि निम्मीले फिल्मी जीवनलाई 'बाई बाई' भनेकी थिइन् । यस दम्पतीका कुनै सन्तान भएनन् । यो पनि गजबकै संयोग हो, फिल्मी पर्दामा निम्मीका जोडीदार दिलीप कुमार (सायरा बानो ) का पनि कुनै सन्तान भएनन् । गत वर्ष सन् २०२० को २५ मार्चका दिन निम्मीले संसारलाई नै अलबिदा भनी प्रस्थान गरिन् ।

 

डिस्क्लेमर - अहिलेका चर्चित 'किसिङ गर्ल्स' देखि 'अनकिसिङ गर्ल अफ इन्डिया'को चर्चा गर्ने क्रममा १९४६ देखि १९६६ सम्मको केही फिल्मी चर्चा गरे । यस कालखण्डलाई हिन्दी सिनेमाको उर्वरकाल भने फरक पर्दैन ।

यस लेखमा उल्लेखित पात्र र फिल्मका बारे एवं सन् १९८० सम्मको हिन्दी फिल्मको यात्राक्रमलाई लिएर केही आलेख लेख्ने मुडमा छु । केही दिनभित्रै यसै रातोपाटीमा क्रमशः प्रकाशित हुने छन्, तपाईंलाई यस लेखबारे कुनै प्रसङ्गमा थप केही जान्ने अभिलाषा छ भने प्रतिक्रियामा लेखी पठाउनु होला । अथवा यसै समयअवधिको कुनै विषयमा तपाईंलाई केही पढ़्ने इच्छा छ भने पनि लेख्नु होला । म आफ्नो क्षमताले भ्याएसम्म आफूले हेरेका (लगभग ४०० फिल्म ) र यस कालखण्डका विविध क्षेत्रका पात्र यथा गीतकार हसरत जयपुरी, शकील बदांयुनी , मजरूह सुलतानपुरी, शैलेन्द्र, साहिर लुधियानवी, पंडित प्रदीप, संतोषानंद संगीतकार नौशाद, खैय्याम, एसडी बर्मन, शंकर जयकिशन, ओपी नैय्यर, सलिल चौधरी, मदन मोहन, तमाम अभिनेता - अभिनेत्री र तमाम कालजयी गीत 'रमैय्यावस्ता बइया रमैय्यावस्ता बइया', 'उडे जब जब जुल्फे तेरी', 'चन्दन सा बदन चञ्चल चितवन', 'चलो दिलदार चलो चाँद के पार चलो', 'ऐ आसमान वाले शिक़वा है जिन्दगी का सुन दास्तान गम की अफ़साना जिन्दगी का' लगायत थुप्रै गीत विषयक चर्चा गर्न इच्छुक रहेको छु- लेखक ।

 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.