शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा कोरोना ह्वात्तै बढ्यो, नेपालमा दोस्रो लहरको सङ्केत ?

मङ्गलबार, १८ फागुन २०७७, १० : ४३
मङ्गलबार, १८ फागुन २०७७

कोरोना लहरले नेपाल थलिएको एक वर्षभन्दा बढी भयो । अहिले त्यो उग्र लहर केही मत्थर भएको छ । इतिहासमा सङ्क्रामक रोगहरुको महामारी हुँदा पनि यस्तो उतारचाडव हुने गरेको पाइन्छ । जस्तै, स्पेनिस फ्लु भाइरसको नामले परिचित सङ्क्रमणले सन् १९१८, १९१९ मा तीन लहरको सङ्क्रमण ल्याएको देखिन्छ जसमा दोस्रो लहर शक्तिशाली थियो । यद्यपि फ्लु र कोरोना दुई भिन्न भाइरस हुन् । युरोप र अमेरिकामा देखिएका कोरोनाको उतारचाडवलाई आधार मान्दा नेपालमा पनि दोस्रो लहरलाई नजर अन्दाज गर्न सकिँदैन । भारतमा केही मत्थर भएको कोरोना भाइरस फेरि केही हप्ताको अन्तरालमा तीव्र गतिमा उकालो लाग्दै गइरहेको छ अर्थात् कोरोनाको उतारचाडवको उदाहरण नेपालको ढोकै अगाडिको छिमेकी देश भारतमा नै देखिन सुरु भएको छ । गएको वर्षभरि देखिएको तर हाल मत्थर भएको कोरोनाको लहरको कारण नेपाल-भारत खुला सिमाना देखिन्छ । त्यसो हो भने, हालै भारतमा ह्वात्तै बढेको कोरोना सङ्क्रमितको सङ्ख्याले नेपालमा दोस्रो लहरको सङ्केत गरेकै हो त ?

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या केही दिनदेखि तीव्र गतिमा बढेका समाचार आइरहेका छन् । विशेषत: पछिल्लो एक महिना यता वर्ल्डमिटरको तथ्याङ्क केलाउँदा सङ्क्रमितको सङ्ख्या उकालो लागेको देखिन्छ । भारतका केही सहरमा विद्यालय तथा कलेज बन्द गरिएका र राति कर्फ्यु लगाएका सञ्चार माध्यमले प्रेषित गरिरहेका छन् र थप अरु ठाउँमा पनि लकडाउनको बहसले प्राथमिकता पाइरहेका छन् । कोरोनाको यो तीव्रताको कारण तथा थप ठाउँहरुमा फैलँदै जाला/नजाला भन्नेमा भारतीय वैज्ञानिकहरु स्पष्ट भइसकेको देखिँदैन । नेपालले भारतमा वृद्धि हुँदै गइरहेको कोरोना सङ्क्रमणको अवस्थालाई नजिकबाट नियाल्नु अनिवार्य हुनेछ । भारतमा एक पछि अर्को स्टेटमा कोरोना फैलँदै जाने र लकडाउन पनि हुँदै गएमा त्यहाँ काम गर्ने लाखौँ नेपाली आफ्नो देश फर्कनुपर्ने बाध्यता हुनसक्ने छ । हाल कोरोना सुस्ताएसँगै स्थापना गरिएका क्वरेन्टिनहरु लगभग बन्द भैसकेका वा बिर्सिसकेका छन् । अर्थात् भारतमा लकडाउन सुरु हुन् थाले फर्किएका नेपालीहरुलाई राख्ने क्वरेन्टिनको व्यवस्थापन कमजोर हुनेछ जसले गर्दा भारतबाट सुरु भएको नया लहरको तरङ्ग नेपालसम्म नआइपुग्ला भन्न सकिँदैन ।

हाल बेलायती, दक्षिण अफ्रिकी र ब्राजिलियन भेरियन्टका कोरोना भाइरसहरु यात तीव्र गतिमा फैलने वा भ्याक्सिनको प्रभावकारितालाई नै चुनौती दिने भएकाले बढी चर्चामा छन् । नेपालमा पनि बेलायती भेरियन्टको कोरोना भाइरस पुष्टि भइसकेको छ । दक्षिण अफ्रिकी र ब्राजिलियन भेरियन्टका कोरोना भाइरस भारतमा पुगिसकेकाले आगामी दिनमा नेपालमा देखे अचम्म मान्नु पर्ने छैन । भारतमा नै पनि नयाँ नयाँ भेरियन्टका घातक वा तीव्र गतिमा फैलन सक्ने कोरोना भाइरसका भेरियन्टहरु पनि विकास भैरहेका हुनसक्छ ।

हाल नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत बेलायत तथा दक्षिण अफ्रिकाबाट आहेकालाई त्यहाँ देखिएको नया भेरियन्टको कोरोनाभाइरस रोक्न क्वरेन्टिनमा बस्न भनिएको भए पनि भारतमा ती देशहरु देखिएका कोरोनाका भेरियन्टहरु देखिसकेकाले नेपाल-भारत सीमामा हाल क्वरेन्टिनहरु हटाएका वा तत्काल स्थापना गर्न समय लाग्न सक्ने हुँदा नेपाल भित्रिन सहज नहोला भन्न सकिँदैन । नेपालले हाल त्यस्ता भेरियन्टका कोरोना भाइरसहरु रोक्न खास कुनै योजना वा सक्रियता देखाएको देखिँदैन । स्मरण रहोस्, नेपालले प्रयोगमा ल्याएको कोरोना विरुद्धको भ्याक्सिन "कोभिसिल्ड" दक्षिण अफ्रिकी भेरियन्टलाई रोक्न क्लिनिकल ट्रायलमा देखाए जस्तो प्रभावकारिता नदेखाएको अथवा विश्व स्वस्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्ड (थ्रेसहोल्ड) भन्दा अति न्यून देखिएको भनिएको छ । अर्थात् भारतमा देखिएका नयाँ नयाँ कोरोनाका भेरियन्टहरु नेपाल भित्रिए भ्याक्सिन लगायत पनि सोचेजस्तो कोरोना नियन्त्रणमा चुनौती देखिन सक्ने सम्भावना बढ्नेछ । कुनै पनि नयाँ भेरियन्टहरु नेपालमा भए, नभए पत्ता लगाउन सरकारको आफ्नो जीन सिक्वेनसिङ गर्ने प्रविधि भित्र्याउन, स्थापना गर्न अति जरुरी भैसकेको छ । यो प्रविधि भविष्यमा कुनै प्रकोप वा महामारीको गराउने जीवाणुमा हुनसक्ने स्वरुप परिवर्तन (जिन म्युटेसन) भए, नभएको थाहा पाउन पनि अति उपयोगी हुनेछ ।

हाल बेलायती, दक्षिण अफ्रिकी र ब्राजिलियन भेरियन्टका कोरोना भाइरसहरु यात तीव्र गतिमा फैलने वा भ्याक्सिनको प्रभावकारितालाई नै चुनौती दिने भएकाले बढी चर्चामा छन् । नेपालमा पनि बेलायती भेरियन्टको कोरोना भाइरस पुष्टि भइसकेको छ । दक्षिण अफ्रिकी र ब्राजिलियन भेरियन्टका कोरोना भाइरस भारतमा पुगिसकेकाले आगामी दिनमा नेपालमा देखे अचम्म मान्नु पर्ने छैन । भारतमा नै पनि नयाँ नयाँ भेरियन्टका घातक वा तीव्र गतिमा फैलन सक्ने कोरोना भाइरसका भेरियन्टहरु पनि विकास भैरहेका हुनसक्छ । यी भेरियन्टका कोरोनाभाइरसहरु आजको भोलि नै त नदेखिएला, फैलिएको नदेखिएला तर नेपाल-भारत सीमाको खुला आवतजावत गर्नेहरुको स्वस्थ्य परीक्षणमा ध्यान नदिने, जनास्वस्थाका मापदण्डलाई चटक्कै बिर्संदै जाने वा मानिस समूह समूहमा जम्मा क्रम निरन्तर हुने, बढ्दै जाने हो भने सङ्क्रमितको सङ्ख्या नबढ्ला भन्न सकिँदैन । हाल नेपालको कोरोना तथ्याङ्कमा चढेको सङ्ख्या केही महिना अगाडिको तुलनामा कम त छ तर परीक्षणको दाएर घट्दै जाँदा र कन्ट्याक ट्रेसिङ शून्य प्राय: हुँदा वास्तविक सङ्क्रमितको सङ्ख्या योभन्दा बढी हुनसक्छ । हाल कोरोनाको तथ्याङ्कमा चढेकाहरु अधिकांश आफूलाई स्वस्थ ठानी कुनै उद्देश्यका लागि पीसीआर रिपोर्ट चाहिने हुँदा टेस्ट गरेकाहरुको सङ्ख्या नै हो । 

झन्डै दुई हप्ता यता नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या औसतमा सयको हाराहारीमा देखिँदै आएको छ । शैक्षिक संस्था, व्यापार व्यवसाय, कार्यालय आधी लगभग नियमित जस्तो भैसकेका छन् । राजनीतिक माहोलले गर्दा मानिसहरु जमघट हुने क्रम बढ्दो छ । जनस्वास्थ्यका मापदण्ड पनि चटक्कै बिर्सेको देखिन्छ । नेपालमा प्राकृतिक विपत्ति आउँदा आत्तिने तर समयक्रमअनुसार बिर्संदै जाने विगत हामीसँग ताजै छ ।

नेपालले कोरोनासँग जुध्दा भएका, देखिएका कमी कमजोरी र अनुभवलाई समेट्दै, समीक्षा गर्दै कोरोनाको सम्भावित आगामी चुनौतीको सामना गर्न भौतिक तथा मानसिक रुपमा तयार हुन, गर्न जरुरी हुन्छ । सीमाबाट (भारत) स्वस्थ परीक्षण बिना प्रवेश, द्रुत टेस्ट पर्याप्त नहुनु वा टेस्टको दायर नबढ्नु, क्वरेन्टिन वा आइसोलेसन व्यवस्थापनमा कमजोरी देखिनु, लक्षणसहितको सङ्क्रमित राख्ने अस्पतालहरुको अभाव हुनु, सङ्क्रमणबारे जनचेतनामा कमी वा कोरोना भाइरसबारे फैलिएको अफाहा रोक्न नसक्नु आधी जस्ता देखिएका कमी कमजोरीहरु थिए, जसको समीक्षा वा सुधार गर्नुपर्ने हुन्छ । यसले कोरोना भाइरस मात्र होइन २१ औँ शतब्धिमा देखिन सक्ने द्रुत गतिमा सर्ने घातक सङ्क्रामक रोगलाई पनि छिटोभन्दा छिटो नियन्त्रणमा ल्याउन सहज हुनेछ । आजभोलि अन्तर्राष्ट्रिय आवतजावतमा सहज पहुँचले गर्दा विश्वको कुनै पनि कुनामा देखिएको घातक महामारी नेपालसम्म नआउला भन्न सकिन्न ।

झन्डै दुई हप्ता यता नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या औसतमा सयको हाराहारीमा देखिँदै आएको छ । शैक्षिक संस्था, व्यापार व्यवसाय, कार्यालय आधी लगभग नियमित जस्तो भैसकेका छन् । राजनीतिक माहोलले गर्दा मानिसहरु जमघट हुने क्रम बढ्दो छ । जनस्वास्थ्यका मापदण्ड पनि चटक्कै बिर्सेको देखिन्छ । नेपालमा प्राकृतिक विपत्ति आउँदा आत्तिने तर समयक्रमअनुसार बिर्संदै जाने विगत हामीसँग ताजै छ । हाल पनि विश्वमा कोरोना भाइरसको उतारचाडवको साक्षी हामी हुँदा हुँदै पनि चाहिनेभन्दा बढी रिल्याक्स भएका र वर्षभरि कोरोनाको प्रभावले सङ्क्रमित हजारौँले अस्पताल भर्ना नपाएका र मृत्युको सङ्ख्यालाई चटक्कै बिर्सिसकेका जस्तो देखिन्छ । भारतमा जस्तो यदि कोरोना सक्रमितको सङ्ख्या फेरि उकालो लागे गत वर्ष सामना गरेको जस्तो चुनौती फेरि सामना गर्नुपर्ने हुनेछ । किनभने नेपालमा भौतिक पूर्वाधार, जनशक्तिहरु जस्ता कुरा खासै थपिएका छैन । यद्यपि सरुवा रोग अस्पताल सबै प्रदेशमा स्थापना गर्ने योजना आफैमा स्वागतयोग्य मान्न सकिन्छ । नेपालमा सेन्टर फर डिजिज कन्ट्रोल तथा प्रिभेन्सन जस्तो संस्था स्थापना गर्न सके र त्यसलाई स्वतन्त्र रुपमा काम गर्न दिए कुनै पनि प्रकोप, महामारी छिटो नियन्त्रणमा ल्याउन सहज हुनसक्ने छ ।

अन्त्यमा, कोरोना भाइरसको दोस्रो लहर नेपालमा अनिवार्य देखिन्छ भन्ने त होइन तर छिमेकी देश भारतमा सङ्क्रमितको अङ्कमा बढोत्तरी देखिँदै गर्दा र भारतमा थप प्रान्तहरु लकडाउनको अवस्था सिर्जना भए मानिसहरुको ठूलो सङ्ख्या फेरि नेपाल फर्कन बाध्य हुनेछन् । फलस्वरुप, नेपालमा कोरोनाको अर्को तरङ्ग नआउला भन्न सकिँदैन । तसर्थ भारतमा कोरोना ह्वात्तै बढ्दा नेपालमा कोरोनाको अर्को लहरको सम्भावनालाई नकार्नु हुँदैन ।

डा शेरबहादुर पुन

संयोजक, क्लिनिकल रिसर्च युनिट

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

लेखकबाट थप