शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विप्लव समूह पनि वार्ताका लागि तयार, वार्ता टोली बनाउने तयारी

मङ्गलबार, १८ फागुन २०७७, १३ : ३८
मङ्गलबार, १८ फागुन २०७७

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह पनि सरकारसँग वार्ताका लागि तयार भएको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहने गरी वार्ता टोली गठन गरेसँगै विप्लव समूह पनि वार्ताका लागि तयार भएको हो । 

विप्लव निकट स्रोतले यसअघिको अनौपचारिक छलफलअनुसार नै सरकारले वार्ता टोली घोषणा गरेकाले स्वाभाविक रुपमा आफूहरु वार्ताको लागि तयार भएको प्रतिक्रिया दिएको छ । 
स्रोतका अनुसार विप्लव समूहले आज वा भोलि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को संयोजकत्वमा वार्ता टोली घोषणा गर्ने तयारी गरेको छ । 

यसअघि नै विप्लवले एक विज्ञप्तिमार्फत वार्तामा बस्न आफूहरु तयार रहेको जनाएका थिए। आफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल रहेको र जनसमुदायमा सहज गतिविधि तथा कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा वार्तामा बस्न तयार रहेको विप्लवको भनाइ थियो ।

मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले  सरकारका तर्फबाट वार्ता टोली गठन गरेपछि विप्लव पक्षबाट पनि छिटो भन्दा छिटो वार्ता टोली गठन हुने अपेक्षा व्यक्त गरे । उनले नेपालमा शान्ति राष्ट्र बनाउने दृष्टिकोणअनुसार सबै द्वन्द्वमा रहेका पक्षहरुसँग वार्ता गर्न लागेको र प्रधानमन्त्री केपी ओलीले पनि विभिन्न यसबारे सार्वजनिक मञ्चबाट उद्घोष गरेअनुसार विप्लव पक्षसँग वार्ता गरेर शान्ति प्रक्रियामा ल्याउन लागेको बताए । 

सो दलमाथि लागेको प्रतिबन्ध हटाउने वा नहटाउने भन्ने कुरा वार्ताबाटै टुङ्गिने मन्त्री गुरुङको भनाइ छ । उनले भने, ‘उहाँहरुलाई लागेका मुद्दाहरु, हतियार बुझाउने कुराहरु, उहाँहरूसँग सम्बन्धित कुराहरूबारे छलफलका लागि नै वार्ता टोली गठन गरिएको हो । वार्ताभन्दा अगाडि नै सबै कुरा गरियो भने वार्ताको औचित्य नै समाप्त हुन्छ । त्यसैले वार्ताबाट नै समस्या समाधान गर्ने भनेर हामीले प्रेस विज्ञप्तिमा नै उल्लेख गरेका छौँ । वार्ताबाट नै सबै समस्याको समाधानका लागि नै वार्ता टोली गठन गरिएको हो ।’

 सरकारले विप्लव समूह ध्वंसात्मक गतिविधिमा संगठन भएको भन्दै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप