शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केटी जिस्क्याएको निहुँमा कुटपिट गर्दा युवकको मृत्यु, सातजना पक्राउ

मङ्गलबार, १८ फागुन २०७७, १४ : ४९
मङ्गलबार, १८ फागुन २०७७

दाङ । घोराही उपमहानगरपालिका–१० जलौरामा केटी जिस्क्याएको निहुँमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ भने प्रहरीले सो घटनामा संलग्न सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१६ निवासी २१ वर्षीय राजन चौधरीमाथि बिहेको भोजमै कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते उनको उपचारका क्रममा निधन भएपछि प्रहरीले कुटपिटमा संलग्न सातजनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ ।

यसरी भएको थियो विवाद

प्रहरीका अनुसार फागुन १४ गते घोराही उपमहानगरपालिका–१० जलौरा निवासी वीरबहादुर चौधरीको छोराको बिहे भोज थियो । बेहुलाको साथीका रुपमा विवाहको निम्तो मान्दै भोज खान घोराही–१६ बस्ने २१ वर्षीय राजन चौधरी पनि पुगेका थिए । भोज चलिरहेको समयमै केटी जिस्क्याएको निहुँमा स्थानीय केही युवासँग राजनको विवाद भएको र विवाद बढ्दै जाँदा स्थानीय युवाले राजनमाथि कुटपिट गरेको प्रहरीको भनाइ छ ।

कुटपिटबाट गम्भीर घाइते भएका राजनलाई उपचारका लागि तत्कालै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइयो । प्रतिष्ठानमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरियो । उपचारकै क्रममा बुटवल मेडिकल कलेजमा राजनको फागुन १५ गते मृत्यु भयो ।

राजनको मृत्युपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दै कुटपिटमा संलग्नहरुलाई नियन्त्रणमा लिएर कानुनी कारवाहीको प्रक्रिया अघि बढाएको हो । प्रहरीका अनुसार बेहुलाका पिता वीरबहादुरसहित कुटपिटमा संलग्न युवाहरुलाई पक्राउ गरिएको छ । वीरबहादुरले झगडा छुट्याउनुको साटो विवादलाई चर्काउँदै कुटपिट गर्न स्थानीय युवालाई हौस्याएको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

ईलाका प्रहरी कार्यालय नारायणपुरको प्रहरी टोलीले वीरबहादुरका अतिरिक्त कुटपिटमा संलग्न स्थानीय युवा आकाश चौधरी, उमेश चौधरी, आशिष चौधरी, सन्दिप चौधरीसहितलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दका अनुसार पक्राउ परेका सबैमाथि कर्तब्य ज्यान मुद्दा दर्ता गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डिएसपी मुकुन्द रिजालले बताए । रिजालका अनुसार पक्राउ परेका सबैले साबिती बयानमा आरोप स्वीकार गरेका छन् । यद्यपि अनुसन्धान जारी रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप