शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीमा लोभ छैन, जिम्मेवारी आए भाग्दिनँ : देउवा

रामचन्द्रलाई झटारो : शेरबहादुर प्रधानमन्त्री बन्छ भनेर सानो चित्त नगर्नुहोस्
बुधबार, १९ फागुन २०७७, १६ : ५४
बुधबार, १९ फागुन २०७७

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको प्रस्ताव आएपछि नहट्ने बताएका छन् । नेपाली काँग्रेसका नेता एकनाथ रानाभाटको १० औँ दिनको पूण्यतिथिमा बुधबार चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले काँग्रेसलाई पदको लोभ नभएपनि काँधमा आएको जिम्मेवारीबाट नभाग्ने बताए । ‘नेपाली काँग्रेसलाई पदको लोभ छैन । काँधमा आएको जिम्मेवारीबाट भाग्ने वाला पनि छैन,’ देउवाले भने । 

देउवाले ‘शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त’ नगर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरे । आफू प्रधानमन्त्री भएमा पार्टीलाई फाइदै हुने भन्दै सभापति देउवाले भने, 'चिन्ता नलिनुस् रामचन्द्र जी म पार्टीकै मान्छे प्रधानमन्त्री भयो भने अरुको भन्दा आफ्नै पार्टीकालाई फाइदा होला । '

उनले थपे, 'तपाई शेरबहादुर जी हुनै हुँदैन भन्ने चाहानुहुन्नजस्तो लाग्छ । मलाई तपाईंको भनाइबाट त्यही बुझियो ।' पौडेललाई सानो चित्त नगर्न र विशाल हृदय राख्न आग्रह गर्दै उनले , 'अबको राजनीतिमा जे आउँछ, त्यो बेहोर्दै जानुपर्छ,' भने । सत्तासीन नेकपाका केपी ओली र प्रचण्ड–माधव नेपाल पक्षले सत्ता सहकार्यका लागि देउवालाई प्रस्ताव गरिरहेका बेला उनले जिम्मेवारी आए पछि नहट्ने बताएका हुन् । 

उनले रानाभाटको राजनीतिक सङ्घर्षको चर्चा गर्दै एक पटक मन्त्री बनाउने आफ्नो चाहाना पूरा नभएको बताए । सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नेपाली काँग्रेस प्रतिपक्षमा भएको भन्दै जुन हैसियतमा संसद्मा छ त्यसैअनुसार अघि बढ्नुपर्ने बताए । उनले भने, 'विपक्षी दलको सही भूमिका काँग्रेसले निर्वाह गर्नुपर्छ ।'
 
सानो सङ्ख्यामा संसद्मा भए पनि कांग्रेसको भूमिका ठूलो र जिम्मेवारीपूर्ण रहेको उनको भनाइ थियो । काँग्रेसले सजग र इमान्दार भएर प्रतिपक्षीको भूमिका निर्वाह गर्नसके अर्कोपटक लोकतन्त्रको रक्षा गर्न सक्ने गरी संसद्मा बलियो पार्टी बन्ने पनि उनले बताए ।

वरिष्ठ नेता पौडेलले स्व एकनाथ रानाभाटले निष्ठावान रुपमा पार्टीमा समर्पण गरेको भन्दै त्यो समर्पण र त्यागको भावना प्रस्तुत गर्न सक्नुपर्छ भने । “आम नेपालीले भरोसा गर्ने ठाउँ भनेको काँग्रेस मात्र रहेको छ” उनले भने, “काँग्रेसले त्यहीअनुसारको आचरण र व्यवहार देखाउनुपर्छ ।” 

वरिष्ठ नेता पौडेलले विकृतिबाट लोकतन्त्रलाई बचाउनुपर्ने  बताए। उनले भने, “वास्तवमा कसैले आफ्नो हैसियत र औकातभन्दा बढी आकांक्षा राख्नु महत्वाकांक्षा हो र यो विकृति हो ।” 

लोकतन्त्रमाथि देशी विदेशी षडयन्त्र भइरहेको पनी उनले बताए । 

काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको लोकतन्त्र स्थापनामा रानाभाटले पु-याएको योगदान सह्रानीय रहेको बताए ।

कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाट, काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, गण्डकी प्रदेश सभाका प्रतिपक्षी दलका नेता कृष्ण चन्द्र नेपाली, वाग्मती प्रदेश सभाका प्रतिपक्षी दलका नेता इन्द्र बानियाँ,  काँग्रेस चितवनका सभापति जीत नारायण श्रेष्ठ, काँग्रेस नवलपरासीका सभापति विष्णु सापकोटा र काँग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेले स्व रानाभाटको राजनीतिक भूमिकाको बारेमा चर्चा गरेका थिए । 

रानाभाटको यही फागुन १० गते ६६ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । उनी प्रतिनिधिसभाका पूर्वसांसद थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप