शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जर्मनीमा लकडाउनको समय फेरि थपियो

बिहीबार, २० फागुन २०७७, २२ : ५१
बिहीबार, २० फागुन २०७७

एजेन्सी । जर्मनीमा लागू गरिएको लकडाउनको समयावधि फेरि थप गरिएको छ । कोरोनाभाइरसको महामारी अझै नियन्त्रणमा नआएकाले लकडाउनको अवधि थप्नु परेको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार सरकारले यही मार्च २८ तारिखसम्मका लागि लकडाउनको समयावधि थप गरेको हो ।  

सरकारले लकडाउनको समयावधि फेरि बढाए पनि केही व्यवस्थामा भने लचकता अपनाएको अधिकारीहरूले जानकारी दिएका छन् ।  अत्यावश्यक सेवा सञ्चालन गर्न कुनै बाधा नरहेको र अत्यावश्यक नरहेका कामहरू भने नगर्न आग्रह गरिएको समाचारमा जनाइएको छ । तर कोरोनाको महामारी कम देखिएका क्षेत्रमा अत्यावश्यक नमानिने व्यवसायहरू पनि खोल्न दिइने भएको छ । 

चान्सलर एन्जेला मर्केल र १६ राज्यका गभर्नरहरूबीच भएको छलफलको नौ घण्टा पछि लकडाउनको समयावधि थप्ने  निर्णय भएको हो । कोरोनाभाइरसको सङ्क्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको समयावधि थप गर्नु पर्ने निश्कर्षमा सबै जना पुगेको अधिकारीहरूले जनाएका छन् । 

महामारी फैलिने क्रम चलिरहेकाले जनजीवन सामान्य हुन अझै केही समय लाग्ने देखिएको उनीहरूको भनाइ छ ।  जर्मनीमा कोरोनाभाइरसका कारण बिहीबार मात्रै नौ हजार १९ जना नयाँ सङ्क्रमित थपिएका छन् भने अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या २० लाख ४६ हजार पुगेको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा जर्मनीमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका ४१८ जनाको मृत्यु भएको छ भने अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या ७० हजार ८८१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप