शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा नेपालको संसदीय दल दुईवटा !

संसदीय काम कारवाहीमा समस्या
शुक्रबार, २१ फागुन २०७७, ०८ : ०८
शुक्रबार, २१ फागुन २०७७

काठमाडौं । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भएको एक वर्ष हुन लागे पनि अझै संसदीय दल समायोजन भएको छैन ।

समायोजनपछि जसपा संसदीय दलको नेता को हुने भन्नेबारे पनि प्रस्ट भइसकेको छैन । सो पार्टीमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई लगायतका नेताहरु संसदीय दलको नेताका दावेदार छन् ।

संसदीय दल समायोजन हुन नसक्दा सिंहदरबारमा जसपा नेपालको दुईवटा संसदीय दलको कार्यालय छ । दुवै कार्यालयमा जनता समाजवादी पार्टीको बोर्ड झुण्ड्याइएको छ तर साबिककै दलअनुसार समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको छुट्टा छुट्टै संसदीय दलको नेता छन् । अर्थात् पार्टी एकीकरणका बाबजुद संसदीय दल समायोजन नहुँदा अझै दुईटा संसदीय दल, दुईजना संसदीय दलको नेता, दुईजना सचेतक तथा प्रमुख सचेतक छन् ।

जसपा नेपालमा सो पार्टीका अध्यक्ष महन्थ ठाकुर (तत्कालीन राजपा) र अर्का अध्यक्ष उपेन्द्र यादव (तत्कालीन समाजवादी) संसदीय दलका नेता छन् ।

तत्कालीन समाजवादी पार्टीमा सरिता गिरी उपनेता थिइन् भने सचेतक तोकेकै थिएन । त्यस्तै तत्कालीन राजपा नेपालमा उपनेता र सचेतक चयन भएको थिएन । प्रमुख सचेतक भने लक्ष्मणलाल कर्णलाई बनाइएको थियो । उनी संसदीय सुनुवाई समितिका सभापति भएका हुनाले प्रमुख सचेतक पद पनि खाली नै छ ।

जसपा गठन भएदेखि प्रतिनिधिसभाको बैठक पनि नियमित बसेको थिएन । कोरोनाको समयमा पार्टी गठन भएको हुनाले त्यतिबेला संसदका गतिविधि पनि बन्द थियो । संसदीय मामिला सम्बन्धी गतिविधि नहुँदा खासै समस्या भएको थिएन ।

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक फागुन २३ गतेदेखि बस्ने भएको छ । त्यसैले संसदीय दल समायोजन नहुँदाको समस्या अब समस्या देखिन सक्ने सो पार्टीका नेता लक्ष्मणलाल कर्ण बताउँछन् । उनले भने, ‘संसदीय दलको बैठक बस्नुपर्दा कसको अध्यक्षतामा बस्ने, कुनै ह्वीप जारी गर्नुप¥यो भने कसले जारी गर्ने भन्नेजस्ता समस्या आउनसक्छ ।’

संसदीय दलको समायोजन चाँडै हुन सके संसदीय मामिलासँग सम्बन्धित कार्य अगाडि बढाउन सबैलाई सजिलो हुने कर्णको भनाइ छ । उनले भने, ‘पार्टीको अन्य संगठन जस्तो संसदीय दल होइन, यो संसदको कानुन अनुसार चल्छ, त्यसैले यसलाई चाँडै समायोजन गर्न आवश्यक देखिन्छ ।’

पार्टीमा यसबारे गृहकार्य भइरहेको र संसदीय दलको एकीकृत विधान बनाउने काम पनि भइरहेको उनले बताए । संसदीय दल समायोजनसम्बन्धी काम चाँडै टुङ्गो लाग्नेमा आफू विश्वस्त रहेको उनले बताए । 

एउटै पार्टीका दुईवटा कार्यालय, दुईजना संसदीय दलको नेता, दुईजना प्रमुख सचेतक हुँदा त्यहाँ काम गर्ने कर्मचारीलाई पनि समस्या भइरहेको छ । संसद सचिवालयबाट कुनै पत्र वा जानकारी आउँदा जनता समाजवादी पार्टीको नामबाट आउँछ तर अलग अलग संसदीय दल हुँदा काममा केही कठिनाई भइरहेको तत्कालीन समाजवादी पार्टी संसदीय दलको कार्यालयका शाखा अधिकृत नरमान महर्जनले बताए ।

‘दलको नेताको पत्र आउँदा कसलाई सम्बोधन गर्ने, कसलाई दिने भन्ने समस्या भइरहेको हुन्छ, किनभने दुईजना नेता हुनुहुन्छ,’ उनले भने, ‘कुनै बैठकमा प्रमुख सचेतकलाई बोलाएको हुन्छ, त्यसका लागि कसलाई खबर गर्ने भन्ने पनि समस्या छ ।’

कहिलेकाहीँ जसपा नेपालका नाममा एउटै पत्र आउने उल्लेख गर्दै उनले त्यस्तो अवस्थामा पूर्व समाजवादी पार्टी र पूर्व राजपा नेपालको संसदीय दलको कार्यालयमा सोही पत्रलाई क्रमशः लैजानुपर्ने अवस्था रहेको तत्कालीन राजपा नेपाल संसदीय दलका शाखा अधिकृत गणेशप्रसाद सिंखडाले बताए ।

‘पूर्व समाजवादी पार्टीसँग मात्र सम्बन्धित पत्र छ भने उतै पठाइदिन्छौं, राजपा नेपालको छ भने यतै राख्छौँ,’ उनले भने ।

संसदीय दल समायोजन गर्नुअघि त्यसको विधान बनाउनुपर्ने हुन्छ । एकीकृत विधानको मस्यौदा बनाएर पार्टीलाई बुझाएको चार महिनाभन्दा बढी भइसके पनि अझै त्यसको कार्यान्वयन हुन नसकेको जसपा नेपालका कार्यकारिणी सदस्य रामसहाय यादवले बताए ।

फागुन २३ गतेदेखि प्रतिनिधिसभा बैठक सुरु हुने भएकाले संसदीय दल समायोजनमा ढिला गर्न नहुने उनको भनाइ छ ।

प्रमुख सचेतक उमाशंकर अरगरियाले पनि संसदीय दल समायोजन हुनुपर्ने बताए । दलमा त्यसको गृहकार्य भइरहेको र चाँडै समायोजन हुने विश्वास उनले व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप