शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुर्खेतमा २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइँदै

शुक्रबार, २१ फागुन २०७७, १० : ३२
शुक्रबार, २१ फागुन २०७७

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले ६५ वर्ष उमेर समूह पुगेका झण्डै २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । 

जिल्लाका ६०  केन्द्रमार्फत पहिलो चरणमा छुटेकादेखि सो उमेर समूहका ज्येष्ठ नागरिकलाई फागुन २३ देखि २८ गतेसम्म खोप लगाउने तयारी गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार पहिलो चरणमा फागुन २३ देखि २५ गतेसम्म वीरेन्द्रनगर नगरपालिका, लेकबेँसी नगरपालिका, बराहताल गाउँपालिका र चिङ्गाड गाउँपालिकामा तथा दोस्रो चरणमा फागुन २६ देखि २८ गतेसम्म चौकुने गाउँपालिका, सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका र पञ्चपुरी नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ । 

कार्यालय प्रमुख चेतननिधि वाग्लेले खोप अभियानका लागि २५६ भन्दा बढी स्वास्थ्यकर्मी, ६०० स्वयंसेवक र चिकित्सकसहितको चार टोली परिचालन हुने बताए ।

त्यस्तै पहिलो चरणमा गत माघ १४ गतेदेखि हालसम्म सुर्खेतमा सात हजार ४७५ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पहिलो चरणमा पहिलो मात्रा खोप लगाएकालाई वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा खोप लगाउने व्यवस्था मिलाइएको छ ।

सुर्खेत जिल्लामा कोरोनाका कारण हालसम्म २२ जनाको मृत्यु भएको छ । तीन जना नेपालगञ्ज तथा काठमाडौँका अस्पतालमा मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप