शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ताप्लेजुङमा हरेक वर्ष आगो लाग्छ अनि छिमेकीले दमकल पठाउनुपर्छ !

पूर्वतयारी नहुँदा रमिता
शुक्रबार, २१ फागुन २०७७, ११ : ३१
शुक्रबार, २१ फागुन २०७७

काठमाडौँ । ताप्लेजुङमा बर्सेनि आगो लाग्छ । २०७७ वैशाख १९ मा सदरमुकाम फुङ्लिङको पुरानो बैङ्क लाइन, ट्याक्सी काउन्टर क्षेत्रमा आगो लाग्यो । त्यहाँका ७ घर आगोले खरानी बनायो । त्यस आगलागीबाट २९ घरपरिवार आफ्नो थातथलोबाट विस्थापित भए ।

फुङ्लिङमा आगो लागेको १० महिनापछि फेरि ताप्लेजुङको दोस्रो ठूलो बजार मेरिङ्देन–३ स्थित दोभान दनदनी बल्न थाल्यो । फागुन १८ मा  बिहान भोला पौडेलको घरबाट सल्किएको आगोले बजारलाई खरानी बनाइसकेपछि दमकल पुग्यो ।

बुधबार साँझ अबेर रातोपाटीले सम्पर्क गर्दा मेरिङ्देन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बु भन्दै थिए– ‘आगो अब, करिब नियन्त्रणमा आयो, भित्रभित्र अलिअलि बलिरहेको होला ।’  केही वर्ष पहिले २०७१ चैतमा फुङलिङ–४, तोक्मेडाँडा क्षेत्रमा आगो लाग्यो । तोक्मेडाँडाका ३७ वटा घर आगोले खायो । १४५ परिवार विस्थापित भए । दोभान बजारमा लागेको आगोका कारण ६४ घर जलेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले रातोपाटीलाई बताएअनुसार ६० परिवार विस्थापित भएका छन् ।

छिमेकीको दमकल

मङ्गलबार बिहान दोभानमा आगो लाग्न थालेपछि पाँचथरका प्रमुख जिल्ला अधिकारीलाई फोन गेर दमकल पठाउन आग्रह गरियो । छिमेकी जिल्लाको दमकल पुग्दा दोभान खरानी भइसकेको थियो ।

‘पाँचथरका सीडीओ सा’बलाई फोन गरेर दमकल झिकायौँ,’ ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्का भन्छिन्– ‘त्यो दमकल अहिले पनि त्यहीँ छ ।’

ताप्लेजुङमा जम्मा एउटा मात्रै दमकल छ । सो दमकल सदरमुकाम फुङ्लिङ बजारमा राखिन्छ । फुङ्लिङबाट दमकल आगलागी क्षेत्रमा पुग्दा झण्डै ३० भन्दा धेरै घर खरानी भइसकेका थिए । पाँचथरको दमकल पुग्न झन् समय लाग्यो । त्यसैले दोभान बजार जलिरह्यो ।

मेरिङ्देन गाउँपालिकासँग दमकल छैन । गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बु भन्दै थिए– ‘दमकल किनेका छैनौँ, सामान्य फायर ग्याँसले ठूलो आगो निभाउन सम्भव भएन् ।’

खै पूर्वतयारी

ताप्लेजुङमा आज मात्रै होइन हिजो पनि आगो लागिरहन्थ्यो । २०७० कात्तिकमा टुक्रेबजार क्षेत्रमा आगो लागेर ५ घर जलेका थिए । १७ परिवार विस्थापित भएका थिए ।

२०६९ माघमा शेर्पाटोलमा आगो लागेर आठ घर नष्ट भएको थियो । त्यतिबेला १८ परिवार विस्थापित भएको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिले आफ्नो समाचारमा लेखेको छ ।

२०६० चैतमा वीरेन्द्रचोक क्षेत्र लामो समय जलिरह्यो । त्यहाँका ४५ घर जल्दा १ सय २९ परिवार विस्थापित भए ।

पछिल्लो १६ वर्षमा आगलागीबाट ३ सय ९३ परिवार विस्थापित भएका छन् । १ सय ५२ घर जलेर नष्ट भएको छ ।

ताप्लेजुङमा रहेका सरकारी निकाय र स्थानीय निकाय सबैलाई थाहा छ– ‘यहाँ आगो लागिरहन्छ ।’ तर निरन्तर लाग्ने आगोलाई नियन्त्रण गर्न कुनै पनि निकायले पूर्वतयारी गरेको देखिएन ।

जिल्लामा भएको एउटा दमकल र अग्नि नियन्त्रण गर्न सक्ने जनशक्ति सदरमुकाममा केन्द्रित रहेको ताप्लेजुङकी सहायक प्रजिअ गायत्रा अधिकारीले बताइन् । उनले भनिन्, ‘यहाँका धेरै घर काठ र फुसका छन्, घटनास्थलमा दमकल पुग्दा २०, ५० घर एक डेढ घण्टामै स्वाहा हुन्छ ।’

पूर्व तयारी गर्दा पनि दोभान बजारमा दमकल पुग्दा डेढ घण्टा लागेको हुनाले आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न नसकिएको सहायक प्रजिअ अधिकारीले रातोपाटीलाई बताएइन् ।

सामान्य पूर्वतयारी गरे पनि सो पूर्वतयारीलाई माथ गर्नेगरी दोभानमा आगो सल्किएपछि ‘रमिते’ बन्नुपरेको सुनाउँछन् मेरिङ्देन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बु ।

‘ससानो फायर एक्सिटिङ्ग्यूसर थियो, अग्नि नियन्त्रणमा प्रयोग हुने अरू औजार पनि नभएको होइन,’ गाउँपालिका अध्यक्ष लिम्बुले भने– ‘ग्याँस सिलिन्डर र तेलको दोकानबाट आगो उठेपछि सेना, प्रहरी र हामी जनप्रतिनिधि सबै जम्मा भएर रमिता हेर्नुपर्ने अवस्था आयो ।’

दोभान बजार तमोर र माया खोलको बीचमा छ । आगामी दिनमा ती खोलाबाट मोटर जडान गरेर पानी तानेर आगलागीबाट बचाउने गरी पूर्वतयारी गरिने सोच रहेको बताउँछन्  मेरिङ्देनका अध्यक्ष लिम्बु ।

राहत र पुनस्र्थापना

दोभान बजारमा आगोले गरेको क्षतिको यकिन विवरण आउन बाँकी छ । बुधबार साँझसम्म विस्थापित परिवारले १५ हजारका दरले राहत पाएका छन् ।

प्रदेश–१ का मुख्यमन्त्री शेरधनी राई र ताप्लेजुङका सांसद योगेश भट्टराई बिहीबार आगलागी प्रभावित स्थानीयलाई भेट्न जाने भएका छन् । आगो प्रभावितलाई टेन्ट र खाली रहेका संरचनामा राखिएको छ । रेडक्रस सोसाइटीले कम्बल र आवश्यक लत्ता–कपडा सहयोग गरेको छ ।

विस्थापितलाई पुनस्र्थापना कसरी गर्ने भन्नेबारे कुनै छलफल अगाडि बढेको छैन् । यसअघिका आगलागीका कारण विस्थापित भएकाहरू ‘रि–सेटल’ भइसकेको सहायक प्रजिअ गायत्रा अधिकारीले बताइन् ।

आगलागी पीडितलाई स्थानीय निकायले मात्र पुनस्र्थापना गर्न नसक्ने हुनाले प्रदेश र सङ्घमा पहल गरेर रि–सेटलमेन्ट गरिने गाउँपालिका अध्यक्ष लिम्बुले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप