ad
केन्द्रीय संस्करण

कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

person explore access_timeफागुन २१, २०७७ chat_bubble_outline0

काठमाडौं ।  सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि  दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताए । 

माघ र फागुनमा पहिलो मात्रा लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७ गतेदेखि नै खोप लगाउने थालिएको हो । पहिलो चरणको खोप अभियानअन्तर्गत माघ १४ देखि ३० गतेसम्म लगाएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, पत्रकार र कूटनीतिक नियोगका कर्मचारी लगायतलाई ‘कोभिशिल्ड’ को दोस्रो मात्रा वैशाख ७ देखि १५ गतेसम्म लगाइने भएको छ । 

पहिलो चरणको खोप अभियान माघ १४ देखि फागुन पहिलो हप्तासम्म करिब चार लाख २९ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइएको थियो । उक्त खोप अभियानमा कूल जनसङ्ख्या १.४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो । सरकारले ७२ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यका साथ खोप किन्ने प्रक्रियासमेत अगाडि बढाएको उनले जानकारी दिए ।

उनका अनुसार थप ५० लाख मात्रा खोप खरिद गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ । यसअघि भारतको सेरम इन्स्टिच्युट कम्पनीले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप २० लाख किनेको मध्ये १० लाख आइसकेको छ । सोही खोप यही फागुन २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लगाइने भएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख मात्रा खोप पनि आउने जानकारी दिए । उनले यसअघि खोप अभियान सञ्चालन गरेर दादुरा–रुबेला, बिफर, जापानिज इन्सेफलाइटिसलगायत रोगलाई निवारण गरेको उल्लेख गर्दै कोभिड–१९ लाई पनि खोपद्वारा नै नियन्त्रण गर्ने बताए । उनले खोपबारे बुझाउन नसक्दा शुरुमा खोप नलगाउन मानिस हिर्काएको समेत बताए । 

विश्व स्वास्थ्य सङ्गठन, नेपालका नेशनल प्रोफेसनल अफिसर डा राहुल प्रधानले कोभिशिल्ड खोप नेपालसँगै विश्वका ५८ देशले प्रयोग गरिरहेकाले प्रभावकारी र सुरक्षित रहेको बताए । उनले विश्वमा २२ करोड ७६ लाख मानिसले लगाइसकेको समेत जानकारी दिए ।

उनले विभिन्न अध्ययनले कोभिशिल्ड पहिलो मात्रा लगाएको आठ हप्तामा लगाए ७१ प्रतिशत र १२ हप्तामा लगाए ८१ प्रतिशत प्रभावकारी देखिएको बताए । गम्भीर रोग लागेकालाई सतप्रतिशत केही नभएको समेत उनले स्पष्ट पारे । खोपमा एक डलर खर्च गरे ४२ डलर फिर्ता हुने उनको भनाइ रहेको छ । 

सार्कमा माल्दिभ्स बढी

उनका अनुसार दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा सबैभन्दा बढी माल्दिभ्समा खोप लगाइएको छ । माल्दिभ्समा २२.८८ प्रतिशत, श्रीलङ्कामा २.५९, बङ्गलादेशमा २.०३, भारतमा १.१३ र पाकिस्तानमा ०.०३ प्रतिशत जनताले खोप लगाएका छन् । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.