बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘२१ औं शताब्दीका नारी, पावरफूल नारी’

‘महिला सहभागिताविना कुनै आन्दोलन सफल हुने थिएन’
सोमबार, २४ फागुन २०७७, १७ : ५०
सोमबार, २४ फागुन २०७७

काठमाडौं । मार्च ८ अर्थात् आज १११औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस । आजको दिनलाई नारी दिवस पनि भन्ने गरिन्छ । सन् १९०८ मा अमेरिकामा बालिग मताधिकार तथा विश्व महिला श्रमिक उत्थानको अभियानबाट सुरु भएको महिला मुद्दा अहिले विश्वभरको साझा मुद्दा बनेको छ । 

पहिलो पटक सन् १९०९ फेब्रुअरी २८ मा मनाइएको अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस सन् २०१७ पछि गे्रगेरियन क्यालिन्डर अनुसार मार्च ८ लाई मान्न थालिएको हो । विश्वभरका महिला श्रमिक तथा महिला अधिकारकर्मीले महिलाको विषयमा विशेष कार्यक्रम गरी यो दिवस मनाउने गर्छन् ।

नेपालमा समेत सोही दिन अर्थात् मार्च ८ लाई नै महिला दिवसको रुपमा मनाइने गरिएको छ । यस दिन महिलाहरुले आफ्नो हकहित, समानता तथा सरोकारका विषयमा विविध कार्यक्रमहरु गर्ने गर्छन् ।  तर, यस पटक महिला चेम्बरले भने राजधानीमा फरक तरिकाले महिला दिवस मनाएको छ । 

नेपाल चेम्बर अफ कमर्स, महिला चेम्बरले १११ औं विश्व महिला श्रमिक दिवसको अवसरमा सोमबार राजधानीमा ट्रेड फेयर अर्थात् महिला उद्यमशीलता प्रदर्शनी गरेर महिला दिवस मनाएको हो । ‘२१औं शताब्दीको नारी, पावरफूल नारी’ को मूल नारासहित महिला चेम्बरले महिला अधिकार र समानतालाई शक्तिमा बदली महिला पनि उद्यमशीलतामा सक्षम छन् भन्ने देखाउन खोजेको छ । 

सधैँजसो घरधन्दा, चुलो–चौकामा सीमित हुने महिलाहरु आफै सक्षम भएर उत्पादनमा लाग्न सक्छन् र सफल पनि बन्न सक्छन् भन्ने कुरा महिला चेम्बरले प्रमाणित गरेको महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले बताईन् । अब महिलाहरुले महिला अधिकार, समानता र समावेशिताको कुरा गर्ने र माग्नेमात्र होइन, आफै सक्षम बन्ने बाटोतर्फ पनि लाग्नुपर्छ । अनिमात्र महिलाको पहुँच विस्तार हुन्छ,’ उनले भनिन्, ‘महिला उद्यमशीलताले महिला सहभागिता र पहुँचमात्र होइन, पुरुषहरु सरह महिलाको शक्तिसमेत स्थापित हुन्छ ।’

तर, महिला उद्यमशीलताका लागि, व्यावसायिक प्रोत्साहनका लागि राज्यले पनि सोही अनुरुप नीति बनाइदिनुपर्ने र सहज वातावरण तयार गरिदिनुपर्ने अध्यक्ष श्रेष्ठले बताइन् ।  महिला उद्यमीहरुको लागि राज्यले सरल र सहज कर्जा प्रवाहको व्यवस्था मिलाइदिनुपर्ने, ब्याजमा विशेष छुट तथा राहतको व्यवस्था गरिदिनु पर्ने र उत्पादनको विशेष बजारको व्यवस्थासमेत राज्यले नै गरिदिनुपर्ने श्रेष्ठले बताइन् । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि महिला उद्यमशीलताका लागि राज्यले विशेष व्यावसायिक कर्जा, ब्याज र बजारमा सहजीकरण गरिदिएमात्र महिलाप्रतिको सच्चा सम्मान हुने बताउँछन् ।

यदि महिलाको सहभागिता हुने थिएन भने राजनीतिक परिवर्तनका कुनै पनि आन्दोलन सफल हुने थिएनन्

उपराष्ट्रपति नन्दबहादुर पुनले महिला अधिकार र समानताको कुरा गरिरहँदा महिलाको श्रम र शक्तिलाई कम आँक्न नसकिने बताएका छन् । १११ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस तथा नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘महिला चेम्बर ट्रेड फेयर’ उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

‘यदि महिलाको सहभागिता हुने थिएन भने राजनीतिक परिवर्तनका कुनै पनि मुद्दा तथा आन्दोलनहरु सफल हुने थिएनन्,’ उपराष्ट्रपति पुनले भने, ‘चाहे त्यो २०४६÷४७ सालको पहिलो जनआन्दोलन होस्, चाहे त्यो २०६२÷६३ को दोस्रो जनआन्दोलन होस् या २०५२ सालदेखिको १० वर्षे जनयुद्ध होस्, महिला सहभागिता विना ती कुनै पनि आन्दोलन सफल हुने थिएनन् ।’

महिलाहरुको श्रम र शक्तिकै कारण ती आन्दोलनहरु सफल भएको उनको भनाइ थियो । उनले सधैँ निर्णायक भूमिकामा रहने तर प्रायः छायाँमा पर्ने महिला वर्गको सह–सहभागिता, समानता र पहुँच विस्तारमा आफुहरुले खेलेको भूमिका केहीलाई मन नपरेको भन्दै अहिले समावेशीताको नीति माथिनै धावा बोल्न खोजिएको बताए ।  तर, ती उत्पीडनमा परेका, पिछडिएका र दबाबमा परेका वर्गको पक्षमा सधैँ आफुहरुले आवाज उठाउने उनले बताए ।
हाल नेतृत्व तहमा केन्द्रीय स्तरमा ३३ प्रतिशत र स्थानीय तहमा अधिकतम् ४१ प्रतिशत महिला सहभागिताको पहुँच विस्तार भएको समेत उपराष्ट्रपति पुनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप