बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पारिवारिक कलहले निम्त्याएको कहालीलाग्दो आठबीस घटना !

चारको शव पोष्टमार्टमका लागि मंगलसेन लगियो, एकको अवस्था अज्ञात
बुधबार, २६ फागुन २०७७, १० : ५१
बुधबार, २६ फागुन २०७७

सुर्खेत । सोमबार देशभर १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै थियो ।  शहरका ठुला होटलदेखि स्थानीय सरकारका सदरमुकाममा समेत महिला हिंसा कम गर्न महिलाहरु ‘प्लेकार्ड’ बोकेर दिवस मनाइरहेका थिए ।  महिला–पुरुष बराबर हुनुपर्छ, लगायतका नाराका साथ महिलामाथि हुने हिंसाका घटना आगामी दिनमा कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर बहस भए । सोही दिन दैलेखको आठबीस नगरपालिका–३ निमायलकी  ३५ वर्षीय सुकी बडुवालले भने चार सन्तान सहित आत्महत्याको बाटो रोजिन् । चरम गरिबी त्यसमाथि पनि दिनहुँ श्रीमानले मदिरा सेवन गरेर कुटपिट गरी पारिवारिक कलह बढेपछि विक्षिप्त भएर उनले आत्महत्याको बाटो रोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

घटना हुने दिन सुकीले मदिराले लठ्ठ भएका आफ्ना श्रीमानलाई गाउँकै स्थानीय बजारबाट घरमा ल्याएर सुताइन् । घरमा भएका गाइ गोरुलाई घाँस काट्ने बाहना बनाएर चार सन्तान सहित कर्णाली नदी किनारको बगरतिर लागिन् । श्रीमानको दिनहुँ किचलोबाट विक्षिप्त बनेकी उनले आफूलाई सम्हाल्न सकिनन् र आत्महत्याको बाटो रोज्न विवश भइन् ।

कर्णालीमा गरिवीले मान्छेको ज्यान लिन्छ भन्ने कुुरा कुनै नौलो भने होइन । आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोरा भन्छिन्, ‘हिंसा मुख्य कारण हो, घरेलु हिंसाका कारण यस्तो कहालीलाग्दो घटना भएको छ,’ उनले रातोपाटीसँगको कुराकानीमा भनिन्,’ ‘सुकीले घर छोडेको दिन पनि उनका पतिले सबै जनामाथि कुटपिट गरेको रहेछन् ।  यस्तो घटना हुनु भनेको अहिलेको समयमा कदापी राम्रो होइन् । बोहोराले थपिन्, ‘२१ औँ शदाब्दीमा आएर पनि घरेलु हिंसाका कारण महिलाहरुले ज्यान गुमाउनु भनेको आफैमा लज्जित कुरा हो । यहाँ दोष कसलाई भन्नु र दोषी त समाज पनि हो ।’

 शवको अवस्था हेर्दा पाँचै जनाले सल्लाह गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । सोमबार साँझ आठ बजे स्थानीय छत्र सिजापतीले २ बालिकाको हात बाँधिएको अवस्थामा शव माछा मार्ने जालमा शव भेटिएको रातोपाटीलाई जानकारी गराएका थिए । यस्तै मंगलबार दिउँसो करिब १२ बजेतिर आमा सुकी र उनका छोराको  पनि डोकोमा लगाएको दाम्लोले बाँधिएको अवस्थामा शव भेटिएको थियो । घटनाको प्रकृतिले नै चारसन्तान र आमाले सल्लाह गरेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अबेरसम्म सुकी  घर नफर्किएपछि खोजतलास भएको स्थानीय छत्र सिजापतीले रातोपाटीलाई बताए । 

उनले भने,‘श्रीमान पनि मदिरा सेवन गरिरहन्थे । आत्महत्याको मुख्य कारण मदिरा नै हो ।’ सोमबार दुई बालिकाको शव माछा मार्ने जालमा भेटिएको थियो भने सुकी र उनका छोराको शव मंगलबार अछामको पञ्चदेवल नगरपालिकास्थित टोट्केसाल नजिकैको कर्णाली नदीको भंगालोमा भेटिएको थियो । सुकीसहित १५ वर्षीया कल्पना, १२ वर्षीया सरिता र ८ वर्षीया ललितको शव भेटिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्द बताउँछन् । उनका अनुसार  ६ वर्षीया बालिका रजनीको अवस्था अझै अज्ञात छ । घटनालगत्तै कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्त पन्त लगायतको टोली पनि घटनास्थलको निरीक्षण गरेको छ।  

बेपत्ता रजनीको खोजीका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको दैलेखका प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए । विगत एक वर्षदेखि दैनिकजसो श्रीमानले मदिरा सेवन गरी कुटपिट गरेको बुझिएको छ ।  भारतमा मजदुरी गर्ने उनका पति मानसिंह बडुवाल कोरोना महामारीपछि २०७६ चैतमा घर फर्किएका थिए । स्थानीयका अनुसार सुकीले नै गाउँमा मजदुरी गरी ६ जनाको परिवारको पालन पोषण गरिरहेकी थिइन् । सोही वडाका अध्यक्ष प्रयोग शाहीले पतिको यातना सहन नसकी सुकीले सन्तानसहित आत्महत्याको बाटो रोजेको दावी गरे ।  उनका अनुसार मानसिंहले छोराछोरीलाई पनि दैनिकजसो कुटपिट गर्ने गरेको पाइएको छ ।  

शव पोष्टमार्टमका लागि अछाम मंगलसेन लगियो 

मृत भेटिएका आमा र ३ छोराछोरीको शव पोष्टमार्टमका लागि अछामको मंगलसेन लगिएको छ । मंगलबार बेलुका शव मंगलसेन लगिएको प्रहरीले बताएको हो। उनीहरु दैलेखका भएपनि शव अछामतर्फको नदी किनारमा भेटिएकोले मंगलसेनमा रहेको जिल्ला अस्पतालमा लगिएको बताइएको छ।  मुुद्दा भने अछाममै चल्ने जिल्ला प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठले बताए । 

 घटनाको अनुसन्धानका लागि मानसिंहलाई सोमबार नै पक्राउ गरिएको छ। रजनी बडुवालको शव नभेटिएकोले गोताखोर बोलाएर शवको खोजी गरिने पनि उनले बताए । घटनापछि गाउँ शोकमा डुबेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप