शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एलन मस्कले बनाउँदै छन् स्टारबेस नामक नयाँ शहर

शनिबार, २९ फागुन २०७७, १० : ०१
शनिबार, २९ फागुन २०७७

पृथ्वीमा ‘स्टारबेस’ नामक शहर बसाउने तैयारी भइरहेको छ । स्टारबेस अर्थात् खगोलीय पिण्डहरुको यात्राका लागि ‘बेस स्टेशन’ । कुनै बेला यस्तो स्टेशन अन्तरिक्ष अथवा चन्द्रमामा बनाउने परिकल्पना गरिएको थियो । तर अब यस्तो बेस स्टेशन पृथ्वीमा नै बनाउने सोच सार्वजनिक भएको छ । अर्बपति व्यापारी एलन मस्कले ३ मार्चका दिन ट्वीट गरेर यसको जानकारी दिएका हुन् ।

एलन अमेरिकाको टेक्सासमा यस्तो योजना कार्यान्वयन गर्ने सोचमा अघि बढेका छन् । अन्तरिक्ष विज्ञानसम्बन्धी उनको अग्रणी कम्पनी स्पेसएक्स रहेको स्थान वरपर नै उनी स्टारबेस शहर बनाउने तैयारीमा जुटेका छन् । मस्कको स्पेस एक्स कम्पनी टेक्सासको बोबा चिका गाउँ (Boba Chika Village) क्षेत्रलाई आफ्नो परीक्षण उडान केन्द्र र प्रक्षेपण गतिविधिका लागि उपयोग गर्दै आइरहेको छ ।

मस्कको योजना यसै क्षेत्रमा स्टारबेस नामक शहर विकसित गर्ने रहेको छ । स्पेसएक्स कम्पनी सन २०१४ देखि नै बोबा चिका गाउँलाई आफ्नो गतिविधिको केन्द्र बनाउँदै आइरहेको छ । यहीँबाट स्पेसएक्सले आफ्ना उत्पादन ‘स्टारशिप रकेट प्रोटोटाइप’ बनाउने र परीक्षण गर्ने कार्य गर्दै आएको छ ।

मस्कको योजनामा यस गाउँ वरिपरिको थप जग्गा अधिग्रहण गरेर नयाँ शहर बसाउने रहेको छ । यस क्षेत्रका कैमरून काउन्टी जजले योजनालाई अनुमति दिइसकेका छन् । कैमरून काउन्टी कमिश्नर कोर्टले यस विषयक स्वीकृति प्रदान गर्दै कम्पनीले सारा काम नियम र कानूनअन्तर्गत रही गर्नुपर्ने आदेश पनि दिएको छ ।

मस्कको कम्पनी चन्द्रमा, मंगल ग्रह लगायत अन्य खगोलीय पिण्डको यात्रा (अन्वेषण गर्ने कार्यमा संलग्न रहँदै आएको छ । कम्पनीले यसका लागि रकेटको डिजाइनदेखि निर्माण, परीक्षण र प्रक्षेपण कार्य आफै गर्दै आइरहेको छ । कम्पनीले सन २०२३ मा चन्द्रयात्राका लागि र सन २०२६ भित्र मंगल ग्रहमा आफ्नो ‘स्पेसक्राफ्ट’ ओराल्ने महत्वाकांक्षी योजना अघि सारिसकेको छ ।

यसका साथै मस्कको कम्पनी स्टारलिंक परियोजना अन्तर्गत पृथ्वीको निम्न कक्षामा ४० हजार भूउपग्रह स्थापित गरेर सञ्चार लगायतका विविध क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने योजनामा काम गरिरहेको छ । अहिलेसम्म यस परियोजना अन्तर्गत एक हजारभन्दा बढी भूउपग्रह स्थापित भइसकेका छन् । मस्कलाई १२ हजार भूउपग्रह पठाउने अनुमति प्राप्त छ।

स्टारबेस शहर बनाउन मस्कले भूमि अधिग्रहण गर्ने कानूनी प्रक्रियाका साथै हजारौँ स्टारशिप रकेट बनाउने काम द्रुत गतिले गरिरहेका छन् । यी सबै रकेट उनको स्वप्न शहरमा तैनाथ रहने छन् । स्मरणीय छ, मस्कको कम्पनीले बनाएका रकेट ‘मल्टीपर्पज’ रकेट हुन् । उनका रकेटलाई बारम्बार प्रक्षेपित गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप