शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बन्ने भयो मङ्गल ग्रहको ‘वेदर म्याप’

शनिबार, २९ फागुन २०७७, १० : २९
शनिबार, २९ फागुन २०७७

यूनाइटेड अरब एमिरेट्सको  मङ्गल यान होपले मङ्गल ग्रहका अनेकौँ फोटोहरु पठाएको छ । यूएईको स्पेस एजेन्सीले फोटो प्रकाशित गर्दै यसको जानकारी साझा गरेको हो । ‘हाम्रो स्पेसप्रोव होपले मङ्गल ग्रहका कैयन विहंगम तस्विरहरु पठाएको छ, तस्वीरमा मङ्गल ग्रहको सतह सूर्य प्रकाशले चम्किरहेको देखिन्छ साथै मङ्गल ग्रहको उत्तरी ध्रुव र त्यहाँको सबैभन्दा ठूलो ज्वालामुखी ओलम्पस देखिन्छ,’ यूएईका क्राउन प्रिंस शेख मुहमद बिन जायद नाहयानले यी तस्विरलाई ट्वीटरमा पोस्ट गरेका छन् ।

यूएई आफ्नो पहिलो प्रयासमै मङ्गल ग्रहको अर्बिटसम्म पुग्न सफल भएर मङ्गल ग्रहसम्म पुग्ने विश्वको छैठौं देश बनेको छ । योभन्दा पहिला अमेरिका, रूस, यूरोपियन स्पेस एजेंसी, भारत र चीनलाई मात्रै यो गौरव प्राप्त थियो।

झण्डै १ महिनाअघि फेब्रुअरी १० मङ्गलबारको रात्रि यूएईको इन्टरप्लानेटरी अन्तरिक्ष यान होपले सात महिना लामो यात्रा गरेर मङ्गल ग्रहको अर्बिटमा प्रवेश गरेको थियो । होपले आफ्नो पहिलो प्रयासमै मङ्गल ग्रहको अर्बिटमा स्थापित हुने सफलता पाएको थियो । होपले मङ्गलको अर्बिटमा स्थापित हुनसाथ पृथ्वीस्थित नियन्त्रण कक्षलाई सन्देश पठाइ सूचित गरेको थियो । होपले पठाएको सन्देश झण्डै २० करोड किमीको यात्रा गरी ११ मिनेटपछि नियन्त्रण कक्षमा आइपुगेको थियो ।

यूएईको यस मङ्गल अभियानको लक्ष्य मङ्गल ग्रहमा अवतरण गर्न रहेको छैन । यस स्पेस प्रोव होपको लक्ष्य अर्बिटसम्म पुग्नु मात्रै हो । मङ्गल ग्रहको अर्बिटबाट ग्रहको परिक्रमा गर्दै यसले मङ्गल ग्रहको ‘ग्लोबल वेदर म्याप’ तयार पार्ने काम गर्छ । अहिलेसम्म कुनै देशले मङ्गल ग्रहको पूरा ‘वेदर म्याप’ बनाएको छैन । यो ‘म्याप’ बने पछि मङ्गल ग्रहमा पठाइने मिसनका लागि मौसमसम्बन्धी महत्त्वपूर्ण जानकारी उपलब्ध हुनेछ ।

होप स्पेस प्रोबलाई कोरोना महामारीका बीच १९ जुलाई सन् २०२० का दिन प्रक्षेपण गरिएको थियो ।

मङ्गल ग्रहको मौसमी नक्सा तयार पार्ने क्रममा होपले त्यहाँको धरातलमा आउने आँधीको अध्ययन गर्नुका साथै त्यहाँको मौसम चक्र कसरी परिवर्तित हुन्छ भन्नेबारे सूक्ष्म अध्ययन गरेर जलवायु परिवर्तनसम्बन्धी भविष्यवाणी गर्नेछ ।

होपबाट प्राप्त भएका सारा जानकारी र महत्त्वपूर्ण तथ्यांकलाई सार्वजनिक गर्न एउटा वेबसाइट बनाएको छ । यस वेभसाइटमा होपबाट प्राप्त सबै डेटालाई प्रकाशित गरिन्छ । 

सन २०२० मा अमेरिका, चीन र युएईले करिब एक महिनाको अन्तरालमा आफ्ना  मङ्गल मिसन पठाएका थिए ।  युएई र चीनका यानहरु  मङ्गलको अर्बिटमा प्रवेश गरिसकेका छन् भने अमेरिकी रोवरले मङ्गलको धरातलमा अवतरण गरिसकेको छ । चिनियाँ अभियानको लक्ष्य केही समय अर्बिटमा रहेर तीन महीना पछि  मङ्गलमा अवतरण गर्नु रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप