शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘मलाई ओलीजीले तीनवटा प्रस्ताव गर्नुभएको छ’

संसदीय दलको नेतामा उपेन्द्र यादव र मैले दाबी छाडिसक्यौँ : महन्थ ठाकुरसँगको अन्तरवार्ता
सोमबार, ०२ चैत २०७७, १० : ०५
सोमबार, ०२ चैत २०७७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल यतिबेला नेपाली राजनीतिको केन्द्रमा छ । वर्तमान सरकार जोगाउन, नयाँ सरकार बनाउने र मुलुकलाई मध्यावधिमा लिएर जानेजस्ता विभिन्न राजनीतिक विकल्पको चाबी जसपाको हातमा छ ।

आफ्नो सरकार जोगाउन प्रधानमन्त्री केपी ओली र नयाँ सरकार बनाउन प्रयासरत प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामात्र होइन, ओली नेतृत्वको सत्तालाई विस्थापित गर्ने अभियानमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि जसपाको साथ खोजिरहेका छन् ।

सत्ताको रस्साकस्सीका लागि भेटवार्ताले तीव्रता पाइरहेको छ । जसपामा पनि अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच सत्ता समीकरणबारे एकमत छैन । ठाकुर प्रधानमन्त्री ओलीसँग नजिकिएका छन् भने यादव ओलीसँग सहकार्य गर्न नहुने पक्षमा छन् । जसपाकै चाहनाअनुसार मुलुकको राजनीतिक भविष्य निर्धारण हुने अवस्थामा जसपाभित्रै पनि एकमत नदेखिनुले अन्योल अझै बढ्ने संकेत गरेको छ । यी र यस्तै विषयमा रातोपाटीकर्मी लोकेन्द्र भट्टले जसपाका अध्यक्ष महन्थ ठाकुरसँग संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश :

तपाईंहरु नेकपा एमाले, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र माओवादी केन्द्रसँग निरन्तर छलफलमा हुनुहुन्छ । सत्ता जोगाउन र बनाउन केन्द्रित छलफल कसरी अगाडि बढिरहेको छ ?

–तीन दलका नेतासँग हाम्रो पटक–पटक भेटघाट भएको छ । कहिले एक्लै, कहिले दुईजना, कहिले पाँचजना सँगै बसेर कुराकानी भइरहेको छ । सर्वप्रथम प्रधानमन्त्री ओलीजी (केपी शर्मा ओली) सँग कुराकानी भएको हो । ओलीजी सरकारमा हुनुहुन्छ । पहिला पनि उहाँ सरकारमा हुँदा संविधान संशोधन, नागरिकता, भाषा प्रतिनिधित्व सम्बन्धी र हामीहरुमाथि भएका मुद्दाका विषयमा उहाँहरु सहमत नै हुनुहुन्थ्यो । लिखित रुपमा पनि पत्र आदानप्रदान भएकै हो । हाम्रो दुईवटा प्रमुख मुद्दा छन्, एउटा टीकापुर घटनाको र अर्को महोत्तरीको जलेश्वर घटना प्रमुख हो । अरु साना साना मुद्दाहरु जिल्ला प्रशासन कार्यालयमा छन् । कतिपय मुद्दाको फैसला पनि भइसक्यो ।

चुनाव भन्दा अगाडि दुवैतर्फबाट टास्कफोर्स बनेको थियो । कति मुद्दा छन्, कति जनामाथि मुद्दा चल्यो भनेर गरिएको अध्ययनमा करिब १२ सय जनामाथि मुद्दा देखिन्छ । यी सबै मुद्दा एकसाथ फिर्ता लिने र राजबन्दीहरुलाई रिहा गर्नुपर्ने हाम्रो माग हो । नागरिकताको समस्या पनि समाधान हुनुपर्छ ।

सत्ता गठनबन्धनबारे अझै टुङ्गोमा नपुग्नका पछाडि यी मुद्दाबारे अझै तीनवटै दल सकारात्मक नहुनु नै मुख्य कारण हो ?

– हाम्रा मागलाई कसैले पनि अस्वीकार गर्नुभएको छैन । यो त वास्तवमा देशको समस्या हो, तर यो मधेसको मात्र हो भन्ने प्रश्न आउँछ क्या ! मधेसले बारम्बार आवाज उठाएका कारण यसलाई मधेसको समस्याका रुपमा बुझिएको छ । यसको समाधानका लागि सबै सहमत हुनुहुन्छ । अर्को, हाम्रो सांसद रेशम चौधरी जेलमा हुनुहुन्छ । उहाँलाई सपथ ग्रहण पनि गराइयो । तर उहाँ निलम्बित हुनुहुन्छ । यसका साथै त्यही मुद्दामा अरु पनि जेल परेका छन् ।

लोकतन्त्र खतरामा छ भन्छन् तर मधेसमा खै लोकतन्त्र ? मधेसमा लोकतन्त्र छ ? सामान्य जुलुस प्रदर्शन गर्दा र धर्नामा बस्दा मानिसले गोली खाएका छन् । एउटा मानिसको मूल्य दश लाख हो ? गोली हानेर मार्दा दश लाख लिन्छ, अरु के गर्छ र भन्ने सोचले गोली चलाएको छ । अत्याचार भएको छ । घरमा घुसेर महिलामाथि हातपात भएको छ । संस्कृतिमाथि आक्रमण भएको छ । संस्कृतिमाथि आक्रमण हुँदा भगवानले पनि माफी दिनुहुन्न । हामीमाथि यस्तो किसिमको आक्रमण भएको छ । यो सुन्दा पीडा हुन्छ । यो कसले ग¥यो त ? हाम्रै सरकारले गरेको हो । कुनै विदेशी सरकारले गरेको होइन । गोली लागेर मर्नेको परिवारले केही नपाउने र गोली चलाएर मार्नेले प्रमोशन पाउने ? विभेद त प्रस्टै देखिन्छ नि !

अहिलेको सत्ता सहकार्यको संवाद किन टुङ्गोमा पुगिरहेको छैन ? मैले त्यतातिर जोड्न खोजेको हुँ, कहाँ रोकिएको छ ?

– रोकिएको छैन । प्रस्टै कुराकानी भइरहेको छ । तर सहमतिमा पुग्न हाम्रालागि ढोका बन्द भएको छ, बाटो बन्द छ । किनकि हाम्रा मानिसहरु जेलमा छन् । हाम्रा मानिसहरुमाथि विभिन्न मुद्दा लागेका छन् । हाम्रा माग पूरा गर्नुपर्छ भनेर सबैले स्वीकार गर्नुभएको छ । ओलीजी अहिले सरकारमा हुनुहुन्छ । उहाँ अहिले गर्ने अवस्थामा हुनुहुन्छ । त्यसकारण उहाँसँग हाम्रो भेट र छलफल भएकै हो । उहाँले मैले गर्न सक्ने जति म गर्छु भनेर काम अगाडि बढेको छ । उहाँले आफ्नो तर्फबाट सुवास नेम्वाङजी, विष्णु पौडेलजी र राजन भट्टराईजीलाई अगाडि सार्नु भएको छ । हामीले अहिलेसम्म दुईजनाको नाम दिएका छौं । अस्ति प्रधानमन्त्रीसँगको कुराकानीमा एक–दुईजना अरु राख्नुपर्ने छ भनेर भनेको थिएँ । उहाँले ठीक छ, एकजना पठाइदिनुहोस् न त भन्नु भएको छ । त्यो हामीहरुले पठाएका छैनौं । छलफल गरेर थप एकजनालाई पठाउने छौँ । त्यसपछि हामी कुनै निर्णयमा पुग्छौं ।

प्रधानमन्त्री केपी ओलीसँग यो बाहेक सत्ता समीकरणबारे कसरी संवाद अगाडि बढिरहेको छ ?

– उहाँको तीन प्रस्ताव थियो । पहिलो, सरकारमा आउनुहोस्, मिलेर जाउँला । दोस्रो, सरकारमा आउन चाहनुहुन्न भने बाहिरैबाट हामीलाई समर्थन गर्नुहोस् । त्यो पनि भएन भने तपाईं अरुसँग पनि नजानुहोस् । तटस्थ बस्नुहोस् । तर हामीले हाम्रो एजेण्डा सम्बोधन भएपछि निर्णय गर्छौं भनेर भनेका छौं ।

प्रधानमन्त्री केपी ओलीबाट तपाईंलाई नै प्रधानमन्त्री बन्न प्रस्ताव आएको कुरा छ नि ?

– प्रेसबाट यो प्रस्ताव आइरहेको छ, मलाई यस्तो प्रस्ताव कुनै नेताबाट पनि आएको छैन । मैले पनि मिडियाबाटै सुनिरहेको छु । त्यसका लागि मिडियालाई धन्यवाद छ ।

जसपा सरकारमा जाँदा प्रधानमन्त्री ओलीले १६ मन्त्रालयसम्म दिने प्रस्ताव गरेको चर्चा पनि छ, यो सत्य हो ?

– मन्त्रालयको भागबण्डा नियुक्तिले गर्दा नेकपाको यो अवस्था भएको छ । त्यहाँ नै भागवण्डा पुगिरहेको छैन । त्यहाँसम्म अहिले हामी पुगेकै छैनौं । संसदमा उहाँहरुको वर्चस्व छ, प्रशासनमा पनि उहाँहरुनै हुनुहुन्छ । हामी कहाँ छौं ? हाम्रो कहीँ स्थान नै छैन, ताकि हामी आफ्नो ताकत देखाऔँ । हामी त पीडित छौं । हामी मात्र पीडाबाट मुक्ति चाहन्छौं ।

आफ्ना माग सम्बोधन भएपछि सत्ता समीकरणबारे निर्णय लिने भन्नु भएको छ । तर जसपाका एक अध्यक्ष उपेन्द्र यादवले माग सम्बोधन गरे पनि प्रधानमन्त्री ओलीलाई धन्यवाद मात्र दिने, समर्थन नदिने भन्नु भएको छ नि ? जसपाको लाइन त्यही हो ?

– हो, पहिला हाम्रा मुद्दाहरु सम्बोधन हुनुपर्छ । यो सम्बोधन नभइकन सरकार वा कुनै गठबन्धन बन्छ भने त्यो गठबन्धनमा हामी जाने छैनौं ।

गठबन्धनको सरकार तपाईंहरुले साथ नदिएसम्म बन्ने अवस्था छैन । सरकार नै नबनी कसरी माग सम्बोधन होला ?

– नयाँ गठबन्धनको सरकारले पनि गर्ला तर अहिले जो शक्तिमा छ, त्यसले पनि त गर्न सक्छ ।

तपाईंहरु आफै सरकारमा गएर आफ्ना माग आफै सम्बोधन गर्न सक्नुहुन्न र ?

 – त्यो भविष्यको कुरा भयो । त्यसबेला कस्तो परिस्थिति बन्छ, सरकार परिवर्तन भएपनि प्रशासन त उही हो । सबै ठाउँमा उहाँहरु नै हुनुहुन्छ नि । यो काम कुनै एक्लो व्यक्तिले गर्ने होइन । उहाँहरु मुख्य स्थानमा हुनुहुन्छ । उहाँको साथमा अदालत पनि छ । उहाँको साथमा मुद्दा चलाउने प्रहरी प्रशासन हुन्छ । सरकारी मुद्दा त प्रहरीद्वारा नै चल्छ । कनेक्सन धेरै छ ।

एकछिनका लागि मानौं, यो सरकार बदलिए पनि सारा प्रशासन त त्यही रहन्छ, त्यो परिवर्तन हुँदैन नि ! मन्त्री र प्रधानमन्त्रीबाट नीति निर्धारण हुन्छ । शासन त प्रशासनद्वारा हुन्छ ।

 जसपा संसदमा निर्णायक देखिएको छ, यो अवस्थामा प्रधानमन्त्रीमा तपाई दाबी गर्नुहुन्न ?

– प्रधानमन्त्रीमा हाम्रो कुनै दाबी छैन । संसदीय व्यवस्थामा धेरै कुरा संख्यामा निर्भर हुन्छ । संख्याको दृष्टिकोणले पहिला हामी तेस्रो स्थानमा थियौं । नेकपा एमाले र माओवादी केन्द्र अलग भएपछि अब हामी चौथो स्थानमा भयौं । तीनजना (केपी ओली, प्रचण्ड र माधव नेपाल)बीच किन झगडा भएको छ ? त्यही प्रधानमन्त्री पदका लागि हो नि । उनीहरुको झगडाको निराकरण भएको छैन । तीन दलको आँखा त्यही पदमा छ ।

त्यसो भए तपाईंको दाबी होइन ?

– ताजा खाना खान पो मजा हुन्छ । बासी खाना खानमा के मजा भयो र ?

त्यसो भए जसपा आम निर्वाचनबाट ठूलो शक्ति बनेर सत्तामा जाने लक्ष्यमा छ ?

सांसद् जनताबाट चुनिने हो । प्रत्येक सांसद् सबै पदका लागि योग्य मानिन्छन् । सांसद्हरुबाटै को प्रधानमन्त्री बन्ने भन्ने तय हुन्छ । आफ्नो दलको संसदीय निर्वाचनबाट नेता चुनियो भने सांसद्का लागि प्रधानमन्त्री बन्ने बाटो खुल्छ ।

त्यसो भए जसपाको संसदीय दलको नेता चयन भएपछि मात्रै तपाई प्रधानमन्त्रीको बारेमा बोल्नुहुन्छ ?

जसपाको अहिलेसम्म कोही नेता चुनिसकेको छैन । तर, कतिपय समयमा नेता एउटा छ, प्रधानमन्त्री अर्को भएको पनि छ । त्यसकारण अनिवार्य नै हुनुपर्छ भन्ने पनि होइन ।

तपाईंको दाबी छ कि छैन संसदीय दलको नेतामा ?

अहिले त्यसमा निर्णय भएको छैन । हाम्रो विधान बनेको छैन । विधानमा छलफल गरेर हामी पारित गर्छौं ।

जसपा नेपालका धेरैले संसदीय दलको नेतामा महन्थ ठाकुरलाई देख्न चाहिरहेको छ भन्ने कुरा छ नि ?

त्यो त अध्यक्षता नै गरेको छु नि, उमेरले दिएको छ नि, त्यो त । जबसम्म सभामुखको निर्वाचन भएन, तबसम्म मैले प्रतिनिधिसभाकै अध्यक्षता गरेको हो । निर्वाचन भएपछि सभामुखलाई कुर्सी जिम्मा लगाएको हो ।

त्यसो भए जसपाको संसदीय दलको नेताको कुर्सीमा कसलाई राख्नुहुन्छ ?

को राख्ने भन्नलाई हामीले विधान नै पारित गरिसकेको छैन । विधान पारित भएपछि छलफल गरेर हामी निर्णयमा पुग्छौं ।

तपाई बस्नुहुन्न भनेर बुझौं त्यसो भए ?

हामीले ‘रिनाउन्स’ गरिसकेका छौँ । उपेन्द्रजीले पनि छाडिसक्नु भएको छ । यसको मतलब अरुले मौका पाउने स्थिति देखिन्छ ।

अहिले चैं सरकारमा जाने विषयमा तपाईको लबज एकखालको देखिन्छ, अर्का अध्यक्षको लबज अर्कै खालको देखिन्छ, यस्तो किन ?

विचार हो । हामी सबै साथसाथै भेटवार्तामा छौं । हाम्रो विचार पनि राखेका छौँ, अरुका विचार पनि सुनेका छौँ । तर कुनै निर्णय भएको छैन ।

बैठकबाट निस्किएपछि तपाईको धारणा सुन्दा प्रधानमन्त्रीसँगको सम्झौताकै उपज हो कि जस्तो लाग्छ, तपाई निष्कर्षमा पुगिसक्नु भएको छैन र ?

एउटा कहावत छ, ‘जहाँ नजाए रवि, त्यहाँ जाए कवि’ भन्ने । तपाईंहरुकै तर्फबाट यस्तो कुरा आएको हो । त्यस्तो कुनै चिज भएकै छैन । मैले प्रचण्डजीसँग, शेरबहादुरजीसँग वा ओलीजीसँग किन झगडा गर्ने ? मेरो उहाँहरु सबैसँग ठीक छ । उहाँहरु आ–आफ्नो पार्टीको नेता हुनुहुन्छ । समय समयमा उहाँहरुसँग कुराकानी हुन्छ, देशको समस्याका विषयमा ।

केपी ओलीसँग कुनै पनि हालतमा सत्ता सहकार्य हुँदैन भनेर जसपाकै एउटा पक्षले भनिरहेको छ । प्रतिगामीसँग सहकार्य गर्नु हुँदैन भन्ने उहाँहरुको कुरा छ, यसबारे स्पष्ट पारिदिनुस् न त ?

प्रतिगमनको आरोप लागेका कतिपय मान्छे प्रधानमन्त्री पनि भए, पार्टीका अध्यक्ष पनि भए । यो त केवल पोलिटिकल ‘स्टन्ट’ न हो । जहाँसम्म हाम्रो कुरा छ, कसैले खाना खान निम्तो गरे पनि जाँदैनौं भन्ने कुरा होइन । छलफल र भेटघाटका लागि हामी खुला छौं । तर हाम्रो मुद्दाको जबसम्म सम्बोधन हुँदैन, तबसम्म हामी कुनै निर्णय गर्दैनौं ।

ओलीसँग तपाई अलिकति लचक भइरहनु भएको छ नि, कतै यो लचकताले जसपामा विभाजन त आउँदैन ?

अहिले प्रचण्डजी त प्रधानमन्त्री हुनुहुन्न, देउवाजी पनि प्रधानमन्त्री हुनुहुन्न । तब म आफ्ना मुद्दा लिएर प्रधानमन्त्रीकहाँ नगएर कहाँ जाने ?

जहाँसम्म प्रश्न र विवादको कुरा छ, उनीहरुको झगडा सुरु भएपछि जसपा बनेको हो । रातको समयमा हामीले मिल्यौँ भनेर घोषणा गरेका हौं । उनीहरुको झगडाले हामी किन टुट्ने ? झगडा उनीहरुको हो, हामी किन टुट्ने ?

भनेपछि एकढिक्का भएर जसपा निर्वाचनमा जान्छ  ?

जान्छ । पहिलेभन्दा हामी बेटर गर्छौँ । किनकि हाम्रो संगठन मधेसमा, २ नम्बर प्रदेशमा हाम्रो सरकार नै छ । पहाडमा पनि हाम्रो संगठन छ । त्यहाँ पनि हामी राम्रो प्रतिस्पर्धा गर्छौं । हामीलाई सधैंको जस्तो आईसोलेट गरेर जाने अवस्था छैन । मेरो चर्चा किन भइरहेको छ ? वा जसपालाई अवसर दिने कुरा किन भइरहेको छ भने त्यो आइसोलेसनको युग समाप्त भएको छ । हाम्रो समाज बहुआयामिक छ । प्राकृतिक धर्म, वैदिक धर्म, मुस्लिम धर्म, बौद्ध धर्म छ । हाम्रो सामाजिक विभाजन पनि अनेकथरीका छन् । तर कुनै भोज हुन्छ भने सबैलाई निम्ता पठाइन्छ र स्थान दिइन्छ ।

यसरी एकातर्फ एकजस्तो देखिन्छ भने अर्कोतर्फ आ–आफ्नो रीतिथिति अनुसार चलिरहेको छ । र, आ–आफ्नो चलन हो भन्ने छ । त्यसअनुसार हाम्रो समाज अघि बढिरहेको छ ।

प्रजातन्त्रको अर्थ संगठन र संगठनको अर्थ कुनै नयाँ चिजलाई अपनाउने र जसले हाम्रो विकासमा अवरोध गरिरहेको छ, त्यसलाई त्याग्ने । धेरै कुरा हामीले छाडिसकेका छौं, अब जातपातको कुरा लगभग समाप्त भइसकेको छ ।

तीन दलको बैठकले गठबन्धनको टुङ्गो कहिलेसम्म लगाउँछ । कि, त्यो पनि तपाईंले उठाएका मुद्दा केपी ओलीले सम्बोधन गरेपछि मात्रै हुन्छ ?

– राजनीति ज्योतिषले भविष्यवाणी गरेजसरी चल्दैन । कहिले यो आइडोलोजी अनुसार चल्छ । कहिले गणितअनुसार चल्छ । अहिले हाम्रो लडाइँ आइडोलोजीको होइन, एउटै विचार भएका मानिस आपसमा लडिरहेका छन् । भनौँ न, माओवादीको अलग सिद्धान्त होला । तर माधव नेपाल र ओलीजीको त एउटै सिद्धान्त हो, बहुदलीय जनवाद नै हो । तापनि उहाँहरु अलग अलग हुनुहुन्छ । त्यसकारण यो सत्ताको लडाइँ हो । जो पावरमा छ, ऊ त्यहाँ रहन चाहन्छ । जो छैन, ऊ पावरमा आउन चाहन्छ । यो फर्मुलामा त हामी फिट छैनौं नि ।

तपाई फिट हुनुहुन्न भने किन तपाईंकै खोजी भइरहेको छ ?

– अनफिट छु भनेको होइन । मैले भनेँ नि, ज्योतिषको अनुसार चल्दैन । कहिलेकाहीँ टाउको काटेर पनि सत्ताको निराकरण हुन्थ्यो । तर गान्धीजी आउनुभयो र उहाँले सत्याग्रहको बेग्लै सिद्धान्त ल्याउनुभयो, सत्य मान्नुपर्छ भन्ने बनाउनुभयो र अंग्रेजहरु भारत छाडेर गए । हतियारले भगाएको होइन नि अंग्रेजलाई । जनबलले अस्वीकार गरेर हटाएको हो, त्यो सत्याग्रह हो । म तिम्रो कानुन मान्दिनँ । तिम्रो शासन बहिस्कार गर्छु । तिम्रो देशमा बनेको लुगा लगाउनदिनँ भनेर अस्वीकार गरेको हो नि । त्यसपछि बाध्य भएर अंग्रेजले छाडेर गयो ।

अरु दुनियाँको देशहरु पनि सबै तरबारको भरमा स्वतन्त्र भएको होइन । त्यो जनताको चेतनाले नै हो । यो देश हाम्रो हो । यो मिसन हाम्रो हो, भन्ने धारणा भयो ।

काँग्रेसलाई केपीको विकल्प दिनका लागि आग्रह गर्नुभयो ?

– हामीले कुनै आग्रह गरिसकेका छैनौं ।

अबको निकास के त ?

– तत्काल यसको कुनै पनि स्थायी समाधान छैन । अस्थायी समाधानमात्रै हो । निर्वाचनमा गए पनि निर्वाचनबाट पनि आउने नेता तिनै हुन् । कोही नेता जनताबाट पराजित भए पनि पार्टीमा त ऊ रहिरहन्छ । त्यहाँ त निषेध निस्कदैंन ।

सबैले प्रधानमन्त्रीले राजीनामा दिएपछि निकास हुन्छ भन्नु भएको छ । तपाई के भन्नुहुन्छ ?

उहाँले राजीनामा दिन्न भनेर प्रस्टै भनिसक्नु भएको छ त ।

तपाई माग्नुहुन्न प्रधानमन्त्रीको राजीनामा ?

– जो कोही प्रधानमन्त्री होस्, काम गर्न नसके त राजीनामा मागिरहन्छु । आन्दोलनमा जानुपर्छ भने पनि जान्छु । कुनै समय राजा ज्ञानेन्द्रले पनि ठाकुरजी तपाई जहाँ हुनुहुन्छ, त्यहीँ भेट्न आउँछु भन्नुभएको थियो । उहाँले तीनजना पठाउनुभयो । पहिले त तपाईलाई सुटआउट गर्ने अर्डर छ पनि भने । मैले सबै मर्न त आएको छ, बाँच्न को आएको छ भनेर भनेको थिएँ । संसद्मा मैले बोल्दा उहाँले पनि यस्तो कडा बोल्नुहुन्छ, कसरी मन्त्री बन्नुहुन्छ भन्नुहुन्थ्यो । मन्त्री त म भएँ, धेरैपटक ।

त्यहाँभन्दा अरु मैले के पाउनु छ ? कसले के दिन्छ ? म रोगले २५ वर्षदेखि ग्रसित छु । औषधि खाएर ८० वर्षसम्म बाँचिरहेको छु । अब लोभ किन गर्ने ?

अन्त्यमा यो संकटपूर्ण परिवेशबारे तपाईलाई के भन्नुहुन्छ ?

– अहिले विभिन्न धार चलिरहेको छ । सबै धार जब एक ठाउँमा हुन्छ, तब नर्मल अवस्था हुन्छ । अहिले जुन रोग केन्द्रमा छ, त्यो प्रदेशमा पुगिसकेको छ । यो भद्रगोल छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप