शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप

सोमबार, ०२ चैत २०७७, २२ : ४६
सोमबार, ०२ चैत २०७७

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा बितेको दुई महिनामा झण्डै डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार गत माघ र फागुन महिनामा यहाँका नौवटै जिल्लामा एक लाख ४९ हजार ५७९ लाई कोरोनाविरुद्धको खोप लगाइएको हो ।

पहिलो चरणमा यहाँ कारोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव वाहन र एम्बुलेन्समा खटिने कर्मचारी गरी गत माघ १४ गतेदेखि २४ गतेसम्म १४ हजार ८८५ लाई खोप लगाइएको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी फागुन २ देखि १० गतेसम्म सञ्चालन गरिएको खोप अभियानअन्तर्गत यहाँका नौवटै जिल्लाका २३ हजार ४१७ लाई कोरोना विरुद्धको खोप लगाइएको प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीद्वारा जारी विज्ञप्तिमार्फत जानकारी गराइएको छ । फागुन २३ देखि २९ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा एक लाख ११ हजार २७७ जनालाई खोप लगाएको छ । यहाँ सबैभन्दा बढी कैलालीमा ४० हजार ३०१ जना, कञ्चनपुरमा २४ हजार ८६४, डोटीमा १४ हजार ३५७, बैतडीमा १४ हजार ९६ जनालाई खोप लगाइएको छ ।

त्यसैगरी अछाममा १३ हजार ८०५, बझाङमा १३ हजार ७३५, डडेल्धुरामा १० हजार ३४०, दार्चुलामा नौ हजार ८८६ र बाजुरामा आठ हजार १९५ लाई खोप लगाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका किट नियन्त्रण अधिकृत हेमराज जोशीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट उपलब्ध खोप यहाँका सबै जिल्लामा लगाइएको बताए । “पछिल्लो चरणमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लगाइएको छ” उनले भने, “अहिले लगाइएका सबैलाई आगामी वैशाखमा दोस्रो डोज लगाउने भनिएको छ ।”

त्यसैगरी निर्देशनालयले कैलाली, कञ्चनपुर, डोटी र अछाममा कोभिड–१९ को नमूना सङ्कलन सञ्चालन भइरहेको उनले जानकारी दिए । नमूना सङ्कलन गर्दा कैलालीमा तीन र कञ्चनपुरमा आइतबार एक जनालाई कोरोना पोजेटिभ देखिएको जोशीले जानकारी दिए । “अछाम र डोटीमा नमूना सङ्कलन चलिरहेको छ”, उनले भने, “निर्देशनालयले स्वास्थ्यसम्बन्धी अरु नियमित कार्यक्रम पनि अघि बढाएको छ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप