शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संवेदनहीन न्यू मिडिया : ज्यूँदो मान्छेलाई मृत्युको सर्टिफिकेट !

बुधबार, ०४ चैत २०७७, १५ : ४५
बुधबार, ०४ चैत २०७७

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली काँग्रेस नेता नवीन्द्रराज जोशीलाई जोडेर मंगलबार राति एक्कासी दुःखद् खबर फैलियो । सामाजिक सञ्जालमा काँग्रेसकै नेताहरुले नै ‘श्रद्धाञ्जली’ अर्पण गर्न थालेपछि त त्यो समाचार झनै फैलियो । तर, जोशीको उपचार भइरहेको नर्भिक अस्पतालका चिकित्सकले भने ‘अवस्था चिन्ताजनक छ, भेन्टिलेटरमा राखेर उपचार हुँदैछ’ मात्र भनिरहेको थियो । समाचारमै आएपछि आफूले पत्याएको बताउँछिन् काँग्रेसकी युवा नेतृ लक्ष्मी खतिवडा । रातोपाटीसँग कुरा गर्दै खतिवडाले भनिन्, ‘सञ्चार माध्यमबाट त्यस्तो समाचार आयो, तर अस्पतालमा बुझ्दा झुटो रहेछ ।’ हुन पनि विभिन्न अनलाइन सञ्चारमाध्यमबाट नै जोशीको निधनबारे गलत समाचार प्रकाशित भएको थियो । अनि, त्यो समाचारलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले धमाधम सेयर गर्न थाले । यस्ता घटना विगतमा पनि हुने गरेको थियो, अहिले पनि दोहरिरहेको छ। 

हाम्रो समाज संवेगात्मक र इमोसनल हुँदै गएको बताउँछन् समाजशास्त्री डा. टीकाराम गौतम । त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक समेत रहेका डा.गौतमले रातोपाटीसँग भने, ‘सानो कुरा देखेपछि सडकमा आउने, सामाजिक सञ्जालमा व्यक्त गरिहाल्ने मनोवृत्ति विकास भएको छ ।’ समाज संवेगात्मक हुनुमा साहित्य, कला र सञ्चारको पनि भूमिका हुन्छ । समाज वास्तविकता खोज्नेतिर भन्दापनि आमसञ्चारमा देखेको आधारमा धारणा बनाउन थालेको बताउँछन्, डा. गौतम ।

त्यस्तै, सामाजिक सञ्जाल प्रयोगकर्तामा सस्तो लोकप्रियता खोज्ने प्रवृत्ति पनि बढेको छ । अनलाइन सञ्चारमाध्यममा पनि समाचार ब्रेक गर्ने दौडमा मृत्युको समाचार प्रकाशनमा पनि संवेदनहीन हुन थालेको विज्ञको भनाइ छ । सामाजिक सञ्जालमा तुरुन्तै लोकप्रियता खोज्ने र गम्भीर विषयमा गम्भीरताका साथ नसोच्ने प्रवृत्ति बढेको बताउँछन् समाजशास्त्री डा. दिनेश प्रसाई । रातोपाटीसँग कुरा गर्दै प्रसाईंले भने, ‘अरुभन्दा पहिला आफू सुसूचित छु भनेर देखाउन मृत्यु घोषणा नहुँदै श्रद्धाञ्जली दिने, हृदय विदारक तस्विर सार्वजनिक गर्ने प्रवृत्ति चिन्ताजनक रुपले बढेको छ ।’

वास्तविकता नखोज्ने संवेगात्मक मनोवृत्तिका कारण अकल्पनीय घटना हुनसक्ने  भन्दै डा. टीकाराम गौतम अगाडि थप्छन्, ‘सबैले यथार्थ र वस्तुपरक कुरा मात्रै बाहिर ल्याउने र स्रोत नखुलेको कुरा बाहिर ल्याउने काम बन्द गर्नुपर्छ ।’ सामाजिक रुपमा विकास भएको पछिल्लो प्रवृत्ति निराकरण गर्नका सचेत मानिसहरुले बोल्न छाड्नु नहुने डा. प्रसाईंको भनाइ छ । उनी भन्छन्, ‘यस्तो प्रवृत्तिको खतरा औँल्याइराख्नुपर्छ, आफ्ना परिवार साथीभाइसँग छलफल गरेर सो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।’

 


 

पीडित परिवारलाई मानसिक पीडा

गम्भीर विषयका झुटो हल्ला भुसको आगोसरी फैलिएपछि पीडित परिवार झन पीडामा पर्ने गरेको छ । तर, न्यू मिडिया प्रयोगकर्ताले त्यसबारेमा वास्तै गर्दैनन् । मंगलबार साँझ अचानक निधनको हल्ला फैलिएपछि नवीन्द्रराज जोशीका परिवारमा थप मानसिक पीडा थपियो । उपचारमा संलग्न चिकित्सक डा. राजीव झालाई समेत तनाव थपियो । तर, सो मानसिक पीडाको जिम्मा कसले लिन्छ ?

‘स्रोत बिनाको सूचना सामाजिक संजालमा भाइरल हुँदा त्यसले काल्पनिक मनोविज्ञान तयार गर्छ’ समाजशास्त्री डा. गौतम भन्छन्,‘पीडित परिवार र सो परिवारसँग जोडिएको ठुलो सर्कलमा मानसिक स्वास्थ्यको समस्या सिर्जना हुन्छ ।’ यस्तो प्रवृत्ति बढदै गएमा नयाँ खालको सामाजिक समस्या जन्मिने जानकारहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप