शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सैनिक श्रीमती संघको सहयोगमा सुविधासम्पन्न प्रसूति केन्द्र

बिहीबार, ०५ चैत २०७७, ११ : १८
बिहीबार, ०५ चैत २०७७

मकवानपुर । सैनिक श्रीमती संघको पहलमा मकवानपुरको विकट कैलाश गाउँपालिका वडा नम्बर–८ भार्तामा सुविधासम्पन्न प्रसूति केन्द्र निर्माण गरिएको छ । संघको आर्थिक सहयोगमा निर्माण गरिएको ७ कोठे सुविधायुक्त प्रसूति केन्द्र सञ्चालनमा आएको हो ।

नेपाली सेनाका महारथी प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रसूति केन्द्र उद्घाटन गर्नुका साथै गाउँपालिकालाई हस्तान्तरणसमेत गरे । केन्द्रको व्यवस्थापन, सञ्चालन र सेवा प्रवाहको सबै अधिकार पालिकाअन्तर्गत रहने गरी पालिकालाई केन्द्र हस्तान्तरण गरिएको हो ।

केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले नेपाली सेना सदैव जनताको सुख दुःखमा साथ रहेको बताए । विकट क्षेत्रको विपन्न र गरिब समुदायको दुःखलाई बुझेर नेपाली सेनाले विभिन्न सामाजिक काम गरेको उनको भनाइ थियो ।

जिल्लाको विकट क्षेत्र मानिने कैलाशका महिलाहरुलाई सुरक्षित र व्यवस्थित प्रसूति सेवाको अभाव भोग्न नपरोस् भन्दै केन्द्र स्थापना गरेको सैनिक श्रीमती संघकी अध्यक्ष दीपा थापाले जानकारी दिइन् ।

‘सुरक्षित प्रसूति, सुन्दर सृष्‍टि’ भन्ने नाराका साथ केन्द्र निर्माण गरिएको उनले बताइन् । अध्यक्ष थापाको अनुसार संघको अगुवाईमा कुल ५९ लाख ५१ हजार ५ सय १६ रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत् सो प्रसूति केन्द्र निर्माण गरिएको हो ।

कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानका अनुसार शिलान्यास गरेको ८५ दिनमै केन्द्रको निर्माण कार्य सम्पन्न गरिएको हो । केन्द्र निर्माणका लागि पुरानो गोरख गणका मेजर दिपेन्द्र सिंहको नेतृत्वमा नेपाली सेनाको टोलीसमेत खटाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप