शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना रिटर्नस् : अविलम्ब गर्नुपर्ने यी काम

आइतबार, ०८ चैत २०७७, ११ : ३९
आइतबार, ०८ चैत २०७७

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, बाध्य भएर तपाईंलाई सम्बोधन गर्दै लेखिरहेको छु । महोदय, भारत लगायत सम्पूर्ण विश्वमा कोरोनाको दोस्रो लहर अति तीव्र गतिले व्यापक हुन थालेको छ । भारतमा दैनिक ४० हजारभन्दा बढी नयाँ सङ्क्रमित देखिन थालेका छन् । उता ब्राजिलमा कोभिड-१९ को महामारीमा भन्दा पनि धेरै एकै दिनमा ९० हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन् । कोरोनाको नयाँ 'भेरिएन्ट' पहिलाको भन्दा धेरै गुना घातक देखिएको छ ।

यसले कोभिड–१९ सङ्क्रमण लागेर मुक्त भएका अर्थात् शरीरमा 'एन्टीबडी' बनेका व्यक्तिलाई पनि सङ्क्रमित बनाई गम्भीर अवस्थामा पुर्‍याउने जानकारी आइसकेका छन् । कैयौँ नयाँ 'भेरिएन्ट'ले भ्याक्सिनलाई 'ओभरटेक' गरेको समाचारहरू पनि सार्वजनिक भइसकेका छन् ।

महोदय, अहिले आम नागरिक उपायहीन अवस्थामा छन् । समयमै सचेत हुनुबाहेक अर्को उपाय छैन । नेपालमा २०२० मा 'लकडाउन' गरेझैँ हचुवाको भरमा काम नगरेर अन्य सबै उपाय अपनाउने दिशामा अबिलम्ब सक्रिय हुनुस् ।  सीमा क्षेत्र नियमन गर्नुस्, एयरपोर्टमा कडा सुरक्षा जाँच संयन्त्र खडा गर्नुस् । आवश्यक परे अन्तर्राष्ट्रिय उडान प्रतिबन्धित गर्नुस् । राजनीतिक गतिविधिले हुने भीड, सामाजिक गतिविधिले हुने भीड, धार्मिक, जातीय, परम्परागत मेला, सांस्कृतिक भेलाका साथै सबै किसिमका समूह केन्द्रित भीड हुने गतिविधिमाथि अङ्कुश लाउनुस् ।

आम जनताको स्वास्थ्यभन्दा ठूलो अन्य केही हुन सक्दैन । तपाईंसँग अविलम्ब सुरक्षाका सबै उपाय सुचारु गर्न विनम्र आग्रह गर्छु । नेपालले गत वर्षको अनुभवबाट अझ परिष्कृत हुँदै आम नागरिकको स्वास्थ्य रक्षाका लागि कम्मर कस्ने बेला कता कता ढिलो भइसकेको छ ।

भारत लगायत विश्वभरिका सरकार यसप्रति सचेत भइसकेका छन् । भारतमा झण्डै अघोषित रूपमा 'लकडाउन'को माहोल तयार भइसकेको छ । अनेकौँ सहरमा कर्फ्यु नै लागिसकेको छ ।

कोरोना सङ्क्रमण रोक्ने कुनै वैज्ञानिक उपाय छैन । भारतमा भ्याक्सिनका दुवै डोज लगाएका व्यक्ति पनि सङ्क्रमित भएका समाचार आइसकेका छन् । तिनमा भ्याक्सिनको पहिलो डोज लाएका र नलगाएका दुवै परेका छन् । सबैले आफ्नो घरपरिवारका सदस्यको सुरक्षाका लागि सबै उपाय आजैदेखि अपनाउनुपर्ने आवश्यक छ । आफूलाई सङ्क्रमित हुन नदिनु नै सुरक्षाको सबैभन्दा राम्रो उपाय हो ।

अहिले नेपालमा भ्याक्सिनको पहिलो खुराक मात्रै वितरित हुँदैछ । यसले जे जति एन्टिबडी बनाउँछ त्यो २८ दिनपछि मात्रै बन्ने हो । भ्याक्सिन लिएको २८ दिनसम्म सबैजना उच्च जोखिममै रहन्छन् । पहिलो खुराक लिएका कति जनामा के कस्तो एन्टिबडी निर्माण हुन्छ त्यो अर्को अनुसन्धानको विषय हो ।

भ्याक्सिन लिएका व्यक्तिमा २८ दिनपछि भएको एन्टिबडी परीक्षणमा ग्रान्डी अस्पतालका रक्त सञ्चारविद् डाक्टर विपिन नेपालका अनुसार (भ्याक्सिन लिएका १०० जना व्यक्तिको २८ दिनपछि गरिएको एन्टिबडी परीक्षणको रिपोर्टअनुसार ) झण्डै ६५ प्रतिशत व्यक्तिमा एन्टिबडी देखिएको थियो । तर यो परीक्षण 'अरडीटी' प्रविधिले भएको थियो । ''परीक्षणमा एन्टिबडी बनेको मात्रै थाहा हुन्छ यसले एन्टिबडीको मात्रा थाहा हुन्न । एन्टिबडीको मात्रा थाहा पाउन 'टाइट्रेसन' परीक्षण गर्नुपर्ने हुन्छ । नेपालमा झण्डै १० जना व्यक्तिको 'टाइट्रेसन' परीक्षण भएको छ । यसको परिणाम पनि मिश्रित रहेको पाइएको छ । ३ जनामा 'लो टाइटर' (सातभन्दा मुनि), ५ जनामा 'मिडियम टाइटर' (सातदेखि १४ सम्म) र एकजनामा 'हाई टाइटर' (१४ भन्दा माथि) देखिन आएको थियो ।

नेपालमा भ्याक्सिनको पहिलो डेज लिएका व्यक्तिमा ऐस्ट्रेजेनेका कम्पनीले गरेको दाबीअनुसार (कम्पनीको दाबी दुवै खुराक लिएका मानिसका लागि हो) ६५-७० प्रतिशत व्यक्तिमा एन्टिबडी निर्मित हुन्छ अर्थात् भ्याक्सिन लिएका मध्ये (दुवै डोज) पनि ३०-३५ प्रतिशत व्यक्तिलाई भ्याक्सिनले सुरक्षा दिँदैन । ती भ्याक्सिन पुरानो कोरोना भाइरसलाई मध्यनजर गरी बनाइएका हुन् । कोरोनाका नयाँ 'भेरिएन्ट'ले भ्याक्सिनलाई 'ओभरटेक' गर्न सक्छन् ।

निश्चय पनि सबै भ्याक्सिन निर्माता कम्पनीले कोरोनाका नयाँ 'भेरिएन्ट'को 'जिनोम सिक्वेसिङ'बाट उपलब्ध भएको 'जेनेटिक म्याटेरियल'बाट शीघ्र नै आफ्ना भ्याक्सिन 'अपग्रेड' गर्छन् तर यसमा कम्तीमा ५-६ महिनाको समय लाग्छ ।

नेपालमा भ्याक्सिनको दोस्रो डोज दिन झण्डै ११ लाख भ्याक्सिनको अभाव भइसकेको छ । सरकारले दोस्रो डोज दिने मिति घोषणा गरे पनि ११ लाख डोजको अभाव पूर्ति कसरी हुन्छ त्यो नै अहिले जटिल समस्या बनेको छ । प्रधानमन्त्री केपी ओलीले के हेक्का राख्नुपर्ने छ भने पहिलो डोज लिएका मानिसलाई दोस्रो डोज सरकारले उपलब्ध गराउन सकेन भने देशमा जुनसुकै विप्लव मच्चिन सक्छ ।

सरकार र प्रमुख प्रतिपक्षीगणहरु राजनीतिक खुराफात, सत्ता, कुर्सी, बहुमत, अल्पमत, तोडफोडको खेल स्थगित गरी गम्भीर हुनुस् । विपत्तिले ढोका घच्घच्याइसकेको छ । तपाईंहरुको रमिता कतै आम नागरिकको स्वास्थ्यसँग खेलवाड गर्ने प्रहसन नबनोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानमित्र
ज्ञानमित्र

लेखक अध्यात्म र विज्ञानमा विशेष रुचि राख्छन् ।

लेखकबाट थप