शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा कोरोनाको दोस्रो लहर आउने त्रास, सीमामा सजगता अपनाउन थालियो

सोमबार, ०९ चैत २०७७, १४ : २५
सोमबार, ०९ चैत २०७७

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रमण दर बढेसँगै नेपालमा पनि जोखिम बढेको छ । भारतमा संक्रमण बढेसँगै सीमा नाकामा कडाइ गरिएको छ । भारतमा पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र, मध्यप्रदेश, गुजरातमा बुधबारदेखि नाइट कर्फ्यु जारी गरेको छ । महाराष्ट्र, तमिलनाडु, पञ्जाब, मध्यप्रदेश, दिल्ली, कर्नाटक, हरियाणा, गुजरात लगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या एक्कासी बढेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

सरकारले कोरोना संक्रमण दर बढ्न थालेपछि सभा, जुलस, भेला, -याली, बैठक तथा जमघट नगर्न निर्देशन दिएको छ । केही दिनयता भारतका विभिन्न स्थानमा संक्रमण बढेपछि नेपालभारत सीमामा रहेको १४ वटा हेल्थ डेस्कलाई थप सक्रिय बनाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का प्रमुख डा. कृष्ण पौडेल बताउँछन् । सीमा नाकामा रहेको १४ वटा हेल्थ डेस्कलाई थप सक्रिय बनाएर भारतबाट आउनेहरूको दैनिक रिपोर्टिङ भइरहेको उनको भनाइ छ ।

भारतबाट आउने स्थलमार्ग हुँदै आउने सबैको स्क्रिनिङ गर्छौं, उनी भन्छन्, संक्रमणको आशंका लागेकालाई क्वारेन्टिनमा अनिवार्य राख्छौं ।

भारतबाट आएकाहरूको दैनिक रिपोर्टिङ गरी लक्षण देखिएकालाई क्वारेन्टिनमा राख्नुका साथै एन्टिजेन परीक्षण र उपचार गर्ने योजना रहेको डा. पौडेलले बताए । विश्वमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट देखा परिरहेका छन् । पछिल्लो समय भारतमा फैलिएको संक्रमण कुन हो भन्ने पुष्टि नभएकाले सतर्क हुन अति आवश्यक रहेको प्रमुख डा. पौडेल बताउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थालमार्ग हुँदै नेपाल प्रवेश गर्नेहरूलाई अनिवार्य रुपमा क्वारेन्टिनमा १० दिनसम्म राख्न स्थानीय तहलाई निर्देशन दिइसकेको छ । अन्य राष्ट्रबाट हवाई मार्ग हुँदै आउनेहरू अनिवार्य  रुपमा ७२ घण्टा अघि पिसिआर रिपोर्ट लिएर आउने भएकाले स्थलमार्गमा जस्तो धेरै समस्या नहुने प्रमुख डा. पौडेलको भनाइ छ ।

नेपालमा आन्तरिक रुपमा संक्रमणको जोखिम कायमै छ भने अर्कोतिर भारतबाट संक्रमणको दोस्रो लहर आउन सक्ने जोखिम  रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला बताउँछन् ।

जनस्वास्थ्यविद् रविन्द्र पाण्डे पनि संख्यात्मक हिसाबले संक्रमण कम देखियो भन्दैमा सावधानी अपनाउन छोडेमा छिमेकी राष्ट्र भारतमा झैँ नेपालमा पनि नयाँ संक्रमित वृद्धि हुन सक्ने बताउँछन् ।

भारतका विभिन्न राज्यमा कोरोना संक्रमण बढेकाले नेपालमा त्यसको प्रभाव देखिन सक्ने भन्दै उनले आवतजावत र जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने बताए । विगतमा सीमा नाका अस्तव्यस्त हुँदा नेपालमा तीव्र रुपमा संक्रमण फैलिएको थियो ।

डा. बाँस्तोला कोरोनाविरुद्धको खोप नेपालमा भित्रिए पछि स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा हेलचेक्य्राइँ देखिएकाले सम्भावित जोखिमतर्फ ध्यान दिनुपर्ने खाँचो औंल्याउँछन् ।

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गर्दै सभा, जुलुस गर्नमा रोक लगाएको हो । नेपालमा समेत संक्रमण बढ्नसक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, -याली, भेला, जमघट, गोष्ठी सेमिनार, बैठक भिडभाड नगर्न मन्त्रालयले निर्देशन दिएको छ ।

नेपालमा संक्रमण घटे पनि जोखिम उत्तिकै रहेकाले अनिवार्य मास्क लगाउन, सामाजिक दुरी कायम र साबुन पानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोग गर्न मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आग्रह गरे ।

सीमा नाकामा एन्टिजेन परीक्षण 

फाइल तस्बिर

भारतमा कोरोना संक्रमण दर बढेपछि सुदूरपश्चिम प्रदेशमा सजगता अपनाउन थालिएको छ । स्वास्थ्य निर्देशनालयले भारतसँग खुला सीमाना भएका क्षेत्र त्रिनगर (कैलाली), झुलाघाट (बैतडी), गड्डाचौकी (कञ्चनपुर) र दार्चुलाको सीमा नाकाहरूमा एन्टिजेन परीक्षण परीक्षण गराउन निर्देशन दिएको हो ।

यता जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य मापदण्ड पालना गरेर होली खेल्न आग्रह गरेको छ । कोरोनाको जोखिम कायम रहेको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्य मापदण्ड पालना गरेर होली खेल्न आग्रह गरेका हुन् ।

कसैको इच्छाविपरीत रङ हान्ने, लोला तथा पानी छ्याप्ने, नसालु पदार्थ खाने तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, सार्वजनिक ठाउँमा होहल्ला गर्ने जस्ता गतिविधि गरेमा प्रचलित कानुन अनुसार कारबाही गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप