मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

दुखियाको हाँसोमा ईश्वरको बास हुन्छ, छठ आउँदै गर्दा डोम समुदाय पनि खुशी

मङ्गलबार, २४ असोज २०७४, १० : ३०
मङ्गलबार, २४ असोज २०७४

सञ्जीतकुमार मण्डल 

गौशाला -भनिन्छ, दुखियाको हाँसोमा ईश्वरको बास हुन्छ र यस कुरालाई चरितार्थ गरेको छ— डालो, नाङ्लो र टालु टपरी बनाउन जुटेका महोत्तरीका विपन्न डोम समुदायले । 

सुँगुर डो¥याएर वर्षैभरि गाउँ–गाउँ चहार्ने महोत्तरीका डोम समुदायलाई अहिले तराईवासीको महान् पर्व छठ नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टालु टपरी बनाउन भ्याईनभ्याई भएको छ । 

गाँस, बास र कपासकै जोरजाममा पिँढी दर पिँढीलाई हम्मेहम्मे पर्ने गरेका डोमहरुले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो मसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त हुने महोत्तरी जिल्लाका लोहारपट्टि नगरपालिकाका ७२ वर्षीय बिसुनिया डोमले बताउनुभयो । 

गाउँ र शहरमा हुने भोजभतेरबाट जुठोसमेत ल्याएर स–परिवार खाने गरेका डोमले कात्तिकमा नानाथरिका परिकार पकाएर खाने गरेको सोही ठाउँ बस्ने ७५ वर्षीया जिबछी डोमिनले बताउनुभयो । 

डालो बुन्दै गरेकी जिल्लाको भरतपुर गाविसकी ६५ वर्षीया सखिया डोमिनले गहभरि आँसु पारेर भन्नुभयो, “मालिक १ कात्तिक लाग्ने बित्तिकै घरका बच्चादेखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालु टपरी बनाउनमा तल्लिन हुन्छौँ भने बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले हामी निकै खुशी हुन्छौँ ।” तर वर्षभरि काम नपाउनाले फेरि केही दिनपछि दुःख सुरु भइहाल्छ । 

छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाट बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सात वटा बाँसबाट बनेका भाँडाकुँडा किन्नुपर्छ । 

छठ पर्वको आगमनसँगै डोमका घर आँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको विश्वासपूर्ण कुरा बताउँदै मनरा नगरपालिकाका ४० वर्षीय शंकर डोमले आफूहरुले सोही कारण दिनरात व्रतालुका निम्ति बाँसका भाँडा बनाउने गरेको सुनाउनुभयो । 

त्यस्तै, जिल्ला सदरमुकाम जलेश्वरका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर कात्तिकभरिमा वर्षभरिकै सबै कर्जा ऋण चुक्ता गरेर आउने छ महिनाको खर्चपर्चको जोहो गर्ने जति कमाइ हुने गरेको बताउनुभयो । 

त्यसैगरी, जिल्लाको भंगहा नगरपालिकाका सुरिन्दर डोमले घरका बालकदेखि बूढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति रु १५ हजार देखि रु २० हजार र प्रत्येक परिवारले रु दुई लाखको हाराहारीमा आम्दानी गर्ने गरेको बताउनुभयो । 

अहिले जिल्लाका गाउँ गाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैले बाँस र बेतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिन्छन् । 

दिनदिनै छठ पर्व मनाउने व्यक्तिको संख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन डोम जातिलाई सकस भएको छ भने डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि नै भ्याईनभ्याई भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप