शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

'सर्वोत्तमको आईपीओमा ऋण गरेर लगानी गर्नेलाई पनि नोक्सान नहुने गरी लाभांश दिन्छौँ'

सर्वोत्तमको सेयर तोकिएको मूल्यभन्दा निकै कममा दिनुपर्ने भयो भने ब्याक हुन्छौँ : अध्यक्ष विष्णु न्यौपाने
बिहीबार, १२ चैत २०७७, १४ : २५
बिहीबार, १२ चैत २०७७

अहिले बजारमा सर्वोत्तम सिमेन्टको चर्चा चुलिएको छ । पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर मूल्य संस्थागत लगानीकर्ताका लागि प्रतिसेयर ७ सय ५० भनिएको छ भने त्यसको १० प्रतिशत छुटमा सर्वसाधारणले पाउनेछन् । यद्यपि मूल्यको अन्तिम स्वीकृति भने नेपाल धितोपत्र बोर्डबाट पाउनुपर्ने हुन्छ । सर्वोत्तमले बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल तोकिसकेको छ । पछिल्लो समय चर्चामा रहेको सर्वोत्तम सिमेन्टको आईपीओ किन महँगो छ, कम मूल्यमा बिक्रीको सम्भावना छ कि छैन, कहिलेसम्म आईपीओ निष्कासन हुन्छ लगायत विषयमा केन्द्रित रहेर सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेसँग रातोपाटीका लागि एलिजा उप्रेतीले गरेको कुराकानीको अंश :

पछिल्लो समय सर्वोत्तम सिमेन्टको आईपीओ यसको मूल्यकै कारण चर्चामा छ । तपाईंहरुले ७ सय ५० रुपैयाँ मूल्य भनिरहनुभएको छ । यही मूल्य नै निश्चित भएको हो ?

बुक बिल्डिङ विधिबाट सेयर जारी गर्न ३ वर्षभन्दा बढी नाफामा गएको  नेटवर्थ पनि राम्रो भएको लगायतका सीमा छन् । सबै सीमा पुगेको कम्पनीले मात्र यस्तो प्रक्रियाबाट सेयर जारी गर्न पाउँछ । हामीले माछापुछ«े कृति      क्यापिटलबाट यसको मूल्याङ्कन गराएका छौँ । उनीहरुको मूल्याङ्कनले त सेयर मूल्य ८ सय ५० भन्दा बढी देखाउँछ । तोकिएको मूल्यमा किन्न १० जना संस्थागत लगानीकर्ता तयार हुनुहुन्छ ।  संस्थागत लगानीकर्ताले खरिद गरेको भन्दा १० प्रतिशत छुटमा सर्वसाधारणले आईपीओ पाउनेछन् । ७ सय ५० विभिन्न तरिकाबाट निकालिएको मूल्य हो । कम्तीमा १० जना संस्थागत लगानीकर्ताले बिडिङ गर्नुपर्छ । उहाँहरुले गर्नुहुन्छ भन्ने हामी विश्वस्त छौँ ।

तपाईंहरुले ७ सय ५० रुपैयाँ प्रतिसेयर मूल्य  भनिरहनुभएको छ र आम लगानीकर्ताले पनि सोहीअनुसार धारणा बनाइसके । यदि तपाईंहरुले भनेकै मूल्यमा सेयर बेच्न पाउनुभएन भने के हुन्छ ?

हामीले जारी गर्ने सेयर यही मूल्यमा बिक्छ भन्ने निश्चत भएर मात्रै बल्ल अगाडि बढएका हौँ । मूल्याङ्कनबाटै त्यति आउँछ भन्ने निश्चित जस्तै भइसकेको छ । यदि १० जना लगानीकर्ताले साढे ७ सयमा किन्छु भनेका छन्, पछि उनीहरुले किन्दैनौँ भने भने मैले सेयर जारी गर्दिनँ भन्न चाहिँ पाउँछु । आवेदन दिएपछि मूल्यसहितको हुन्छ । त्यो हालिसकेपछि हामी फिर्ता हुन पाउँदैनौँ । हामीले धेरै अध्ययन गरेर मूल्य निर्धारण गरेका छौँ । ब्याक हुने अवस्था आउँदैन ।

यही मूल्य कायम हुने आधार के छ ?

यसका तीनवटा आधार छन् । बुक बिल्डिङमा मूल्य निर्धारण गर्ने तरिका छन् । कुनै कम्पनीले हिजोका दिनमा पनि साढे चार सयमा आईपीओ निष्कासन गर्न खोजेकै थिए । केही तलमाथि भएपछि सेयर निष्कासन गरे ।

हाम्रो  सम्पत्तिको मूल्य २ हजार करोड छ । त्यसमा १० प्रतिशत पनि ऋण छैन । सेयर जारी गरेपछि तुरुन्तै ऋण तिरेर अर्को प्लान्ट लगाउँछौँ । जसले लगानी गर्छ उसले भोलिको सेयर मूल्यभन्दा पनि पाउने प्रतिफलको सुनिश्चितता गरेका छौँ । यो सेयर रोक्का हुने पनि होइन । आजको भोलि नै बिक्री गर्न सक्छौँ । तत्काल के प्रतिफल दिन सक्छ । सेयरको भाउ बढ्ला वा घट्ला त्यो पछि नै देखिने छ तर त्यसमा गरेको लगानीले प्रतिफल पाउने कि नपाउने भन्ने मुख्य कुरा हो । सर्वसाधारणबाट लिएको पैसाको प्रतिफल सर्वसाधारणले पाउँछन् ।

सेयर महँगो भयो भन्दै केहीले बहिष्कार गर्नुपर्छ भनेका छन् भने केहीले लगानी पनि जुटाउन थालेका छन् । फेरि पनि सामान्य लगानीकर्ताका लागि आईपीओ भनिरहनुहुन्छ । सामान्य लगानीकर्ताका लागि यसको मूल्य महँगो भयो भन्ने लाग्दैन ?

जुन मूल्यमा संस्थापक लगानीकर्ताले लिन्छन्,  त्यसमा पनि सर्वसाधारणलाई १० प्रतिशत छुट नै हुन्छ । जहाँको पनि नियामकले सर्वसाधारण नठगिउन् भन्ने हिसाबले काम गर्छ ।  हाम्रो मूल्य सेबोनले ठीक लागे मात्र अनुमति दिने हो । विगतका कामका आधारमा मूल्य कायम गरेका छौँ । यो मूल्य त अझ हामीले आशा गरेको भन्दा कम छ ।

सामान्यतः सेयरमा लगानी प्रतिफलकै आशाले गरिन्छ । सर्वोत्तमको आईपीओमा लगानी गर्नेहरुलाई प्रतिफलको ग्यारेन्टी कसरी गराउनु हुन्छ ?

हामीले जारी गर्ने आईपीओबाट पाउने प्रतिफललाई दोस्रो बजारको सेयरसँग जोड्नु हुन्न । त्यसमा त सेयर मूल्य घट्न पनि सक्छ, बढ्न पनि सक्छ । तर के कुरामा विचार गर्नुपर्यो भने कम्पनीले दिने प्रतिफल चाहिँ कति हुन्छ । हामीले दिने लाभांशको आधारमा लगानी गर्नुस् । बैङ्कबाट ऋण लिएर लगानी गर्नुभएको छ भने पनि तपाईंलाई नोक्सान हँुदैन ।

आईपीओ निष्कासन गरेको रकम केमा परिचालन गर्नुहुन्छ ?

 बजारमा यस्तो पनि हल्ला सुनियो आईपीओ निकालेको रकमले ऋण तिर्ने हो । तर २ हजार करोड लगानी भएको कम्पनीमा २ सय करोड ऋण छ भने त्यो केही होइन ।  आईपीओ जारी नगरे पनि यसै वर्षको नाफाबाट तिर्न सक्छौँ । तर चाँडै ऋण मुक्त भएर कम्पनीलाई बढी नाफामा लैजानु हाम्रो उद्देश्य हो ।

हामीले ४० प्रतिशत पनि ऋण तिर्न प्रयोग गर्दैनौँ । बाँकी नयाँ प्रोजेक्टमा लगाउँछौँ ।  न्यौपाने टावर बनाउने बेला ५ करोड लागेको थियो । आजको दिनमा यस टावरको ४० आना जग्गाको ५० करोड छ । तर त्यही बेलाको ५ करोड अहिलेसम्मको मूल्याङ्कन मूल्य हो । आजको यो भवनबाट वार्षिक अढाइ करोड भाडा मात्रै उठाउँछौँ ।

सिमेन्टको वित्तीय स्वास्थ्य  कस्तो छ ?

सिमेन्ट उद्योग दुई किसिमका हुन्छन् । नेपालमा आफूले क्लिङ्कर बाहिरबाट किन्ने र क्लिङ्कर र सिमेन्ट आफै बनाउने पनि छन् । हामी पनि क्लिङ्कर आफै बनाउँछाँै, बेच्छाँै । सिमेन्ट पनि उत्पादन गर्छौं । हामील लार्ज स्केलमा छौँ । सिमेन्ट उद्योगका लागि तीनवटा आधारभूत पक्षमा बलियो छाँै । बजार र खानीको दूरी, गुणस्तर, उत्पादनमा अब्बल छौँ । उद्योगदेखि बजारसम्म सहज अवस्थामा छौँ । त्यसकारण सिमेन्ट मूल्य पनि सस्तो छ । प्रविधिमा पनि अगाडि छौँ । प्रविधिले लागत कम गर्छ ।

लगानी संरचना कस्तो छ ?

अहिले ५१ जना सेयर होल्डर छौँ । सुरुमा हङ्कङको लगानीकर्ता थियो । अहिले विदेशी लगानीकर्ता छैनन् । सम्पूर्ण लगानी नेपालीको हो । सौरभ ग्रुपको ६२ प्रतिशत लगानी छ । कुल लगानी ४ करोड किताको ४ अर्ब हुनेछ ।

चाहेको मूल्य पाएन भने ब्याक हुन सक्ने सम्भावना त नरहला हैन ?

व्यावसायिक उत्पादन सुरु गरेदेखि नै नाफा कमाएको कम्पनी हो । गत तीन वर्षमा ३ अर्बभन्दा बढी नाफा गरेका छौँ । अन्य सिमेन्ट उद्योगभन्दा लागत कम छ । त्यसकारण प्रतिफल राम्रो दिन्छौँ । प्रतिकित्ता आम्दानी ५२ रुपैयाँभन्दा बढी । सेयर मूल्य बढी तिरे पनि बढी प्रतिफल पाउने देखिएको छ ।

कहिलेसम्म निष्कासन भइसक्ला ?

भर्खरै इस्यु म्यानेजर फाइनल भयो । एक राउन्ड सेबोनमा छलफल पनि भएको छ । नयाँ प्रक्रिया भएकाले केही ढिला भएको छ । आजको १५ दिनभित्र इस्यु मेनेजरले सेबोनमा आशय मूल्य साथ जानुहुनेछ । त्यसपछि बिडिङ हुन्छ ।  उहाँहरुले ९ सय तिर्नुभयो भने सर्वसाधारणले ८ सय १० मा पाउँछन् । उहाँहरुले कम लिनुभयो भने त्यसमा पनि १० प्रतितश छुट पाउँछन् ।

विस्तृत कुराकानी भिडियोमा :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप