ad
केन्द्रीय संस्करण

कविता: ओझेल

person explore access_timeचैत १४, २०७७ chat_bubble_outline0

              -भुवन रोका “मित्रजी”

ओझेल परेको छ अचेल
हजुरआमाको काख
कचौराको दुधमाम 
“को खाई को खाई” को आवाज

ओझेल परेको छ अचेल
हजुरबाको लौरी
आमाको ढुकढुकी
बाबाको काँध 
साथीको गुच्चा 

ओझेल परेको छ अचेल
खेतसम्म धाउने कुलो
जोत्ने हलो
नार्ने हलगोरु 
रोपाई गर्ने हात
गाउने असारे भाका 
पहेलै झुल्ने धानको वाला
छिट्ने खलो
भर्ने पाथी 
भित्र्याउने भकारी 

ओझेल परेको छ अचेल
कुटिरहने ढिकीको आवाज
पिसीरहने जातोको स्वर
पेलिरहने कोल
थिचिरहने ओखल
बजिरहने लोहोरो र सिलौटो 
बुनिरहने गुन्द्रीको तान
खेलिरहने आँगन 
उक्लिरहने बुईकल
काटिरहने घाँस
बोकिरहने डोको 
फुकिरहने अगेनो
गाँसिरहने दुना-टपरा 

ओझेल परेको छ अचेल
कखरा सिकेको विद्यालय
मिठाईको दोकान 
डाडाँमाथिको चौतारी
सल्लाघारीको चिप्लिने बाटो
झ्याङ्गभरीको ऐसेलु
बडहरको अग्लो रुख 
तल्लो गाउँको कुवा 
बाकटे हान्ने खोला
रमाईलो पञ्चमी बजार 

ओझेल परेको छ अचेल
दशैंको टिका र जमरा
कमेरो र रातो माटो
तिहारको द्यौसी र भैले 
मखमली माला र सेल रोटी
होलीको रङ्गिन रङ्ग
साउनको लुतो 
माघको तरुल 
पशुपतिनाथ अनि स्वयम्भु 

हो 
ओझेल पर्दो रहेछ आफ्नै छायाँ
सुनै सुनको गुडबाट
सुन खोज्न उडेपछि 

खोटाङ, नेपाल 
हाल: टोकियो, जापान

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.